३५ वर्षमा ३१ प्रधानमन्त्रीः एक दशकको प्रचण्ड, ओली र देउवाको सिन्डिकेट तोड्दै मुलुकको बागडोरमा बालेन


काठमाडौँ । नेपालको पछिल्लो साढे तीन दशकको इतिहासलाई विश्लेषण गर्दा यो केवल सरकार बन्ने र ढल्ने एउटा उराठलाग्दो श्रंखला मात्र देखिन्छ । वि.सं २०४६ सालको राजनीतिक परिवर्तनपछि बितेका ३५ वर्षमा ३१ पटक प्रधानमन्त्री फेरिए, तर विडम्बना ! कसैले पनि ५ वर्षको पूर्ण कार्यकाल सरकार चलाउन सकेनन् ।

यो अवधिमा कृष्णप्रसाद भट्टराईदेखि केपी शर्मा ओलीसम्म आइपुग्दा ३० पटक सिंहदरबारको नेतृत्व फेरियो । यो अवधिमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच नै सत्ताको म्युजिकल चेयर चलिरह्यो । तर आज त्यो निरन्तरतामा ब्रेक लाग्दा नेपालको इतिहासमा एउटा प्रधानमन्त्रीको नाम थपिएको छ । बहुदलपछिको ३१ औँ प्रधानमन्त्रीको रुपमा बालेन्द्र साह (बालेन) ले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

विगतमा राजनीतिक दलहरूको आपसी खिचातानी र सत्ताको लुछाचुँडीले स्थिर सरकार बन्न सकेन । जनताले स्पष्ट बहुमत दिएर पठाउँदा समेत संसद् विघटन हुने र मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

यो साढे तिन दशकको अवधिमा कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक, मनमोहन अधिकारी एकपटक, शेरबहादुर देउवा पाँचपटक, लोकेन्द्रबहादुर चन्द दुईपटक, सुर्यबहादुर थापा दुईपटक, पुष्पकमल दाहाल प्रचण्ड तिनपटक, माधव नेपाल एकपटक, झलनाथ खनाल एकपटक, बाबुराम भट्टराई एकपटक, खिलराज रेग्मी एकपटक, सुशील कोइराला एकपटक, केपी ओली चारपटक र सुशीला कार्की एकपटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् ।

यो समयमा प्रधानमन्त्री बनेका खिलराजरेग्मी र सुशीला कार्की चुवानी प्रयोजनका लागि प्रधानमन्त्री न्युक्त भएका हुन् । तत्कालीन प्रधान्याधीश रेग्मी दास्रो संविधान सभाको निर्वाचन गराउन अन्तिरिम सरकारको प्रमुख भएका थिए । सुशीला कार्की जेनजी आन्दोलनपछि मुलुकमा चुनाव गराउन प्रधानमन्त्री बनेकी हुन् । बाँकी सबै प्रधानमन्त्री संसदबाट निर्वाचित भएका थिए ।

देउवा, ओली र प्रचण्डको सिन्डिकेट तोडियो

नेपालको संविधान २०७२ जारी भएपछिको इतिहास झनै संकुचित छ । २०७२ साल असोज २३ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि केपी ओली प्रधानमन्त्री बनेका थिए । त्यसपछि दश वर्षको अवधिमा नेपालको संसदले ८ पटक सरकार गठन र प्रधानमन्त्री नियुक्त गर्यो। यो अवधिमा प्रचण्ड, देउवा र ओली नै प्रधानमन्त्रीको कुर्सीमा आलोपालो गरिरहेका थिए । संसदले यी तिन जना नेताको विकल्प दिन सकेको थिएन । एउटै अनुहार र पुरानै कार्यशैलीले आजित भएका नेपाली जनताका लागि आज बालेन साह प्रधानमन्त्रीका रूपमा उदय हुनु केवल एक व्यक्तिको विजय मात्र होइन, बरु ३५ वर्षदेखिको अस्थिरता विरुद्धको एउटा ठूलो जनविद्रोह पनि हो ।

३१ औँ प्रधानमन्त्रीः आशाको नयाँ किरण गुर्नपर्ने काम र सामना गर्नुपर्ने चुनौती

यो ३५ वर्षको अवधिमा ३० औँ नम्बरसम्म पुरानै दलका नेताहरूको वर्चस्व देखिए पनि अब ३१ औँ नम्बरमा बालेन साहको प्रवेशले आम जनमानसमा आशाको सञ्चार गरेको छ । ३५ वर्षमा ३० पटक प्रधानमन्त्री फेरिँदा पनि मुलुकले नपाएको स्थिरता र विकास अबको नयाँ नेतृत्वबाट सम्भव होला भन्ने आशा बढेको छ । काठमाडौँ महानगरको मेयर हुँदै सिधै देशको कार्यकारी प्रमुख बन्न सफल बालेन साहका अगाडि पुराना प्रधानमन्त्रीहरूले दिन नसकेको राजनीतिक स्थिरता कायम गर्ने मुख्य चुनौती रहेको छ ।

बालेन सरकारले गर्नुपर्ने कामहरू

जेन–जी आन्दोलन सूचना प्रविधि, सामाजिक सञ्जाल, सुशासन र डेलिभरीको मागमा आधारित थियो । पुराना दलहरूले त्याग र बलिदानको माला जपेर बस्दा जेन–जी पुस्ताले सुशासन, नतिजा र अवसर खोज्यो । बालेन साह यही पुस्ताको आइकन बनेर उदाए । उनले काठमाडौँ महानगरमा देखाएको हिम्मत र रास्वपाले बोकेको जान्नेलाई छान्ने नाराले युवा मानसपटलमा गहिरो छाप पार्यो, जसले अन्ततः पुराना किल्लाहरू भत्काएर रास्वपालाई एकल बहुमतको स्थितिमा पुर्यायो । बालेन सरकारको प्रमुख जिम्मेवारी भ्रष्टाचारको जरो काट्न प्रविधिको प्रयोग नै हुनुपर्छ ।

खाडीमा पसिना बगाउन बाध्य युवाहरूलाई स्वदेशमै रोक्न आर्थिक नीति ल्याउनु बालेनको प्राथमिकता हुनुपर्छ । आर्टिफिसियल इन्टेलिजेन्स सूचना प्रविधि र नवीकरणीय ऊर्जामा आधारित उद्योगहरूलाई प्रोत्साहन दिनु उनको मुख्य काम हुनुपर्ने छ ।

डिग्री मात्र दिने तर सीप नदिने वर्तमान शिक्षा प्रणालीलाई ध्वस्त पारेर व्यावहारीक जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बालेनले लागू गर्नुपर्नेछ ।

बालेनका अगाडि रहेका गम्भीर चुनौतीहरू

विगतका ३० पटक फेरिएका प्रधानमन्त्रीहरूले सधैँ गठबन्धनको बाध्यतालाई आफ्नो असफलताको कवच बनाएका थिए । तर बालेनका लागि अब त्यो सुविधा छैन । रास्वपाको एकल बहुमतको सरकारलाई नीति, निर्माण र कानुन परिवर्तनमा अब कुनै बार्गेनिङ चल्ने छैन । बालेनले अब नेपाललाई डिजिटल युगमा लैजाने र अर्थतन्त्रलाई सुधार गर्नुपर्नेछ ।

जेन–जी पुस्ता निकै हतारोमा छ । उनीहरूलाई तुरुन्तै नतिजा चाहिन्छ । यदि बालेनले पहिलो १०० दिनमा देखिने गरी परिवर्तनको संकेत दिन सकेनन् भने, उनलाई सत्तामा पु¥याउने यही पुस्ता नै सबैभन्दा ठूलो आलोचक बन्ने छ ।

नेपालको कर्मचारीतन्त्र निकै रुढिवादी र ढिलो छ । स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा पुरानै दलहरूको सिन्डिकेट रहेको छ । पुराना दलका भातृ संगठनले बालेन सरकारलाई प्रशासनिक काममा अवरोध सिर्जना गर्न सक्छ ।
जेन–जी पुस्ताले बोलनलाई केवल भोट दिएको छैन, एउटा आशाको दीप पनि सुम्पेको छ ।

यदि बालेनले यो ५ वर्षमा स्थिरता र समृद्धिको जग बसाल्न सके भने, ३५ वर्षको अँध्यारो इतिहास सदाका लागि अन्त्य हुनेछ । अन्यथा, यो आन्दोलनको रापले नयाँ नेतृत्वलाई पनि पोल्न बेर लगाउने छैन । बालेनका लागि अबको बाटो सजिलो छैन, तर उनले बोकेको जनमत र जेन–जीको साथले उनलाई इतिहासकै सफल प्रधानमन्त्री बन्ने स्वर्ण अवसर दिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।