नेपालका जीवन बीमा कम्पनीको पहिलो रोजाईमा ‘हान ओभर रि’

0
Shares

जर्मनीमा मुख्य कार्यालय रहेको पुनर्बीमक कम्पनी ‘हान ओभर रि’ नेपालका धेरै जीवन बीमा कम्पनीको पहिलो रोजाइमा परेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीको रोजाईमा हान ओभर रि परेको हो ।

नेपालका प्राइम, एशियन, नेपाल, ज्योति, रिलायबल र प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसायकोे पुनर्बीमाका लागि उक्त कम्पनी छनौट गरेका हुन् ।  जीवन बीमा सम्बन्धी पुनर्बीमा निर्देशिका, २०६५ बमोजिम कम्पनीहरुले आफ्नो व्यवसायको पुनर्बीमा उक्त कम्पनीमा गरेका हुन् ।

हान ओभर रि विश्वको ठूलो पुनर्बीमा कम्पनी हो । सन् १९६६ मा स्थापना भएको कम्पनीलाई अन्तर्राष्ट्रिय रुपमा पुनर्बीमकको स्तर निर्धारण गर्ने मान्यता प्राप्त विभिन्न एजेन्सीले ए प्लस, एए, एए माइनस लगायतका रेटिङ प्रदान गरेका छन् । २१ अर्ब पाउण्ड पूँजी रहेको कम्पनीको विश्वका विभिन्न २५ स्थानमा यस कम्पनीको शाखा सञ्जाल विस्तारित छन् ।

जीवन बीमा व्यवसाय गर्ने कम्पनीका लागि बीमा समितिले जीवन बीमा सम्बन्धी पुनर्बीमा निर्देशिका, २०६५ जारी गरी पुनर्बीमा सम्बन्धी व्यवस्था गरेको छ । कम्पनीले बहन गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको अनिवार्य रुपमा पुनर्बीमा गर्नुपर्ने प्रावधान छ ।
उक्त निर्देशिकामा अन्तर्राष्ट्रिय रुपमा पुनर्बीमकको स्तर निर्धारण गर्ने मान्यताप्राप्त निकायबाट त्रिपल बी स्तरभन्दा कम स्तर भएको पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न नपाउने व्यवस्था छ ।

उक्त निर्देशिका बमोजिम कम्पनीले विदेशी वा स्वदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा सम्झौता गर्न सक्नेछन् । कम्पनीहरुले पुनर्बीमकको छनौट गर्दा ब्रोकरमार्फत समेत छनौट गर्नसक्ने व्यवस्था छ । विदेशमा दर्ता भएका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउँदा त्यस्तो कम्पनीको पूँजी, ख्याती, क्षमता र अनुभव समेतलाई कम्पनीले मध्यनजर गर्नुपर्ने छ ।

जीवन बीमा सम्बन्धी पुनर्बीमा निर्देशिकामा पुनर्बीमा सम्बन्धी व्यवस्था गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । कम्पनीहरुले आफ्नो जोखिमाङ्कन नीति, नेटवर्थ, तथा आफ्नो जोखिम अनुरुप उपयुक्त नीति निमार्ण गर्नुपर्ने व्यवस्था रहेको उनले बताए । ‘ एजेन्सी कम्पनीहरुले प्रदान गरेको त्रिपल बी रेटिङ प्राप्त कम्पनीहरुमा पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ, सोही व्यवस्था बमोजिम नै सबै कम्पनीले पुनर्बीमा गरेका छन् ’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा मान्यता प्राप्त कम्पनी भएकाले कम्पनीहरुको रोजाईमा हान ओभर रि नै परेको जीवन बीमक कम्पनीहरुको भनाई छ । बीमा समितिले तोकेको निर्देशिका बमोजिम पुनर्बीमा कम्पनीसँग सहकार्य गर्दा अन्तर्राष्ट्रिय बजारमा चलेको कम्पनी रोज्नु उपयुक्त हुने प्राइम लाइफका डेपुटी सिईओ चिरायु भण्डारी बताउँछन् । हान ओभर रि विश्वको टप ५ मा पर्ने कम्पनी भएकाले कम्पनीहरुको रोजाईमा परेको उनको भनाई छ ।

कुन जीवन बीमा कम्पनीको रोजाईमा कुन पुनर्बीमक ?

हान ओभर रि ७ कम्पनीको रोजाईमा

नेशनल लाइफ, प्राइम, एशियन, नेपाल लाइफ, ज्योति, रिलायबल र प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसायकोे पुनर्बीमा हान ओभर रि मा पुनर्बीमा गरेका छन् ।

नेपाल लाइफ र रिलायबल लाइफले हान ओभर रि इन्स्योरेन्स जर्मनीसँग पुनर्बीमा गरेका छन् । ज्योति र प्रभु लाइफले हान ओभर मलेसियासँग पुनर्बीमा गरेका छन् । भने एशियन लाइफले भने हान ओभर रुक, हान ओभर जर्मनीसँग पुनर्बीमा गरेको छ ।

नेपाल पुनर्बीमा ७ कम्पनीको रोजाईमा

सञ्चालनमा रहेकामध्ये ७ जीवन बीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान, एलआईसी नेपाल, आइएमई लाइफ, रिलायन्स लाइफ, गुँरास लाइफ, सूर्या लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने नेपाल पूनर्बीमा कम्पनी मार्फत शतप्रतिशत पूनर्बीमा गरेका छन् ।

विदेशी पूनर्बीमा कम्पनीमा पूनर्बीमा गर्दा प्रक्रियागत झन्झट तथा प्रिमियम महङ्गो हुने भएपछि स्वदेशी कम्पनीमै शतप्रतिशत पूनर्बीमा गर्ने कम्पनीहरुले बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानले सन् २०१८ पछिको सम्पूर्ण व्यवसायको शतप्रतिशत पुनर्बीमा नेपाल पूनर्बीमा कम्पनीमा गरेको हो । सन् २०१५ मा जारी भएका नयाँ पोलिसीको समेत शतप्रतिशत पूनर्बीमा नेपालमा नै गरिएको संस्थानका प्रशासक कवि पाठकले नोटबजारलाई जानकारी दिए ।

विदेशी पूनर्बीमा कम्पनीको भन्दा प्रिमियम सस्तो भएका कारण नेपाल कै कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गरेको पाठकले बताए । “बाहिरको भन्दा प्रिमियम सस्तो छ । सरकारी संस्थान भईसकेपछि किन विदेशी कम्पनीतर्फ जानु भनेर नेपाल मै भएको पूनर्बीमा कम्पनीलाई रोजेका हौँ” उनले भने ।

अन्यको कहाँ ?

यसैगरी सञ्चालनमा आएको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले जर्मनीमा मुख्य कार्यालय रहेको म्युनिक रि नामक पुनर्बीमकसँग पुनर्बीमा गरेको छ । म्युनिक रि विश्वका उत्कृष्ट पुनर्बीमा कम्पनीको सूचीमा पर्ने पहिलो कम्पनी हो । म्युनिक रि ले पुनर्बीमकको स्तर निर्धारण गर्ने विभिन्न एजेन्सीबाट ए प्लस, एए, एए म्याईनस रेटिङ पाएको छ ।

युनियन लाइफले ट्रष्ट रि नामक पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गरेको छ । ट्रस्ट अन्तर्राष्ट्रिय बीमा र पुनर्बीमा कम्पनी बी.एस.सी.को संयुक्त लगानीमा बहराइनमा स्थापित पुनर्बीमा कम्पनी हो ट्रस्ट रि । सन् १९८१ जुलाईमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५०० मिलियन युएस डलर, तथा जारी तथा चुक्ता पूँजी २५० मिलियन युएस डलर रहेको छ । जसलाई बहराइनको केन्द्रीय बैंकद्वारा नियमन गरिएको छ ।  भारतमा समेत सम्पर्क कार्यालय स्थापना गरेको ट्रष्ट रि कम्पनीले मध्य पूर्व, अफ्रीका, एशिया, सीईई, एसईई, रसिया र सीआईएस देशहरूमा व्यवसाय गर्दै आएको छ । कम्पनीले जीवन र स्वास्थ्य पुनर्बीमाका साथै तेल, उर्जा, वैकल्पिक ऊर्जा, सम्पत्ति, र उर्जा निर्माणको क्षेत्रमा समेत पुनर्बीमा सुरक्षा प्रदान गर्दछ ।

सिटिजन लाइफले बीएमआई कम्पनीसँग पुनर्बीमा गरेको छ । बीएमआई कम्पनीले एएमबेस्ट रेटिङ एजेन्सीबाट ए माइनस रेटिङ पाएको छ । सन् १८९१ मे मा जर्मनीमा स्थापित कम्पनी जर्मनहरूको एक समूहद्वारा शुरू गरिएको थियो जसले आफ्ना छिमेकीहरूको लागि आर्थिक सुरक्षा र सम्पत्तीको सुरक्षा प्रदान गर्ने महत्त्वलाई बुझेका थिए । सो बेला यस कम्पनीलाई द फार्मर्स म्युचुअल इन्स्योरेन्स कम्पनी अफ बिलिङ्ग कम्पनी भनिन्थ्यो ।

मेट लाइफ इन्स्योरेन्सले भने मेट्रो पोलिटियन टावर लाइफ इन्स्योरेन्स कम्पनी –मेट टावर) कम्पनीमा पुनर्बीमा गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।