शेयर कारोबारमा अल्पकालिन लगानीकर्ता नै हाबी, नाफा बुकिङ्गले करेक्शन

0
Shares

अनलाइनका कारण शेयर कारोबार सहज भएपछि बजारमा दीर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताहरु हाबी हुँदै आएका छन् । धितोपत्र कारोबारको राफसाफ अवधि छोटिएपछि छिटो-छिटो नाफा बुकिङ्ग गर्नेक्रम पनि बढ्दो छ ।

शेयर कारोबारमा ‘टि प्लस टू’ लागू भएपछि कारोबारीहरुले जतिसक्दो छोटो समयमै किनबेच गर्ने गरेको देखिन्छ । उच्च विन्दु २६४० अंकबाट घटेर २३९० मा झरेको बजारमा लगानीगर्नेहरुले पछिल्लो चार दिनमै राम्रो नाफा कमाएका कारण पाँचौ दिनमा बिक्री चाप पर्दा बजार करेक्शनतर्फ गएको हो । पछिल्लो चार कारोबार दिनमै नेप्से झण्डै १५० अंकले उकालो लागेको थियो ।

लगातार चार दिन बजार बढ्दा दीर्घकालिन लगानीकर्ता भन्दा अल्पकालिन कारोबारी बजारमा सक्रिय हुँदा बजारमा बिक्री चाप देखियो ।

बजार घटेको मौकामा भने दीर्घकालीन लगानी गर्नेहरु सक्रिय भएका थिए । बजार बढ्न थालेपछि अल्पकालिन लगानीकर्ताहरु हाबी हुन पुगे ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से २४.०८ अंकले घटेर २५१४.३९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेर ४४८.८० विन्दुमा झरेको छ । सोमबार २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ५ अर्ब ३५ करोड ५३ हजार ६२५ रुपैयाँ बराबरमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५६ करोड कम हो । आइतबार हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँको करोबार भएको थियो ।

यस दिन कारोबारमा आएका होटल तथा पर्यटन र जलविद्युत समुहका सूचक बाहेक सबै ओरालो लागेका छन्। यसदिन दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोशी र चन्द्रागिरीहिल्सको शेयरमूल्य दश प्रतिशतका दरले बढेको हो । अरुण भ्याली हाइड्रोपावर वोमी लघुवित्त लगायतको शेयर मूल्य बढेको छ । यसदिन प्रुडेन्सियल इन्स्योरेन्स तथा समता माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा उच्चदरले घट्यो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।