भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति ८६ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विज्ञप्ति जारी गर्दै टाटाको मृत्यु पुष्टि गरेका हुन् ।
टाटाको नेतृत्वले भारतको औद्योगिक विकासलाई महत्वपूर्ण योगदान पुर्याएको थियो । राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै प्रमुख व्यक्तिहरूले टाटाको निधनमा दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति मुर्मूले एक्समा लेखेकी छन्, ‘रतन टाटाको निधनले भारतले एक यस्तो आइकन गुमायो, जसले कर्पोरेट विकासलाई देशको निर्माणसँग जोडेर अघि बढाएका थिए ।’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘रतन टाटाजी एक दूरदर्शी व्यवसायी र असाधारण व्यक्ति हुनुहुन्थ्यो, जसले भारतको एक प्रतिष्ठित उद्योग समूहलाई दीर्घकालीन नेतृत्व प्रदान गर्नुभएको थियो ।’
रतन टाटाको निधनले भारतको कर्पोरेट जगतमा गहिरो शोक छाएको छ । टाटा ग्रुपको नेतृत्व गर्दै उनले अटोमोबाइल, उड्डयन, यातायात तथा समाज विकासको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । उनको नेतृत्वमा टाटा मोटर्सले भारतको पहिलो स्वदेशी कार– इन्डिगो उत्पादन गर्यो । उनले कम बजेट पर्ने ‘नानो कार’ पनि सार्वजनिक गरे । टाटाकै नेतृत्वमा सन् २००८ मा टाटा ग्रुपले फोर्डबाट २ अर्ब ३० करोड डलरमा ज्यागुआर र ल्यान्डरोभर जस्ता प्रतिष्ठित ब्रान्ड खरिद गर्यो ।
टाटा ग्रुप अन्तर्गत टाटा मोटर्स, टाटा स्टील, टाटा पावर र आइटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेस (टिसिएस) लगायतका कम्पनीहरु पर्छन् । टाटा समूह अन्तर्गतको टाटा मोटर्स भारतको सबैभन्दा ठूलो गाडी निर्माण कम्पनी हो । साथै टाटा स्टील्स निजी क्षेत्रबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो निजी स्टील कम्पनी हो । हाल टाटा ग्रुपले सञ्चालन गरेका कम्पनीहरुमा ३ लाख ५० हजार बढी मानिसहरु कार्यरत छन् ।
भारतीय अटोमोबाइल क्षेत्रमा मात्रै नभई टाटा मोटर्सले नेपालमा पनि ठूलो बजार ओगटेको छ । नेपालमा टाटा माटर्सका कारहरु लोकप्रिय छन् ।
यस्तै रतन टाटाले उड्डयन क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेका छन् । सन् १९३२ मा टाटा समूहले भारतको पहिलो व्यवसायिक उडान सेवा सुरु गर्यो । तर दोस्रो जनयुद्धमा भारत सरकारले टाटा एयरलाइन्सलाई राष्ट्रियकरण गर्दै एयर इन्डिया नाम राख्यो । निरन्तर घाटामा गएपछि भारत सरकारले सन् २०२१ म एयर इन्डिया निजी क्षेत्रलाई सुम्पियो र टाटा ग्रुपले पुनः एयर इन्डियालाई भारत सरकारबाट खरिद गर्यो । सिंगापुर एयरलाइन्ससँगको साझेदारीमा एयर इन्डियालाई ‘भिस्तारा एयरलाइन्स’मा गाभियो ।
सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका रतन टाटा साधारण जीवनशैलीका लागि प्रसिद्ध छन् । उनले औद्योगिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासमा समेत उल्लेखनीय योगदान गरेका छन् । टाटा ट्रस्ट मार्फत उनले भारतको ग्रामीण क्षेत्रमा स्वास्थ्य तथा शिक्षा सेवा विकास गरेका छन् । उनले क्यान्सर उपचार केन्द्रका साथै पशु स्वास्थ्य केन्द्र समेत निर्माण गरेका छन् ।
आफ्नो व्यक्तिगत जीवनलाई चर्चा र विवाददेखि टाढा राखेका टाटाले नयाँ पुस्तालाई इमानदारी र करुणाभावले प्रेरित भएर काम गर्न सुझाव दिन्थे । उनले उद्यमशीलतालाई प्रवद्र्धन गर्दै ओला इलेक्ट्रिक, अपस्टोक्स, फस्र्टक्राई लगायतका कम्पनीहरुमा लगानी समेत गरेका थिए ।
उनको कार्यको सराहना गर्दै भारत सरकारले रतन टाटालाई सन् २००० मा तेस्रो उच्च नागरिक सम्मान, पद्यम भुषणले सम्मान गरेको थियो भने सन् २००८ मा दोस्रो उच्च नागरिक सम्मान, पद्यम भुषणले विभूषित गरेको थियो ।
रतन टाटाको निधनले टाटा ग्रुपका अभिभावक मात्रै गुमाएको छैन, भारतले एक कुशल उद्योगपति, दूरदर्शी नेतृत्वकर्ता र परोपकारी व्यक्तित्वलाई सदाका लागि बिदाइ गरेको छ ।










प्रतिक्रिया