पाँच सातामा एक खर्ब १७ अर्ब कर्जा विस्तार हुँदा निक्षेप ५३ अर्ब थपियो

0
Shares

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । पछिल्लो पाँच महिनाको अवधिमा बैंकहरुमा थपिएको निक्षेपको तुलनामा कर्जा प्रवाह दोब्बर बढी हो।

पछिल्लो ५ सातामा अर्थात फागुन लागेयता नै बैंकहरुले १ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरुमा ५३ अर्ब मात्र निक्षेप थपिएको छ । पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो । व्यापार व्यावसायहरुमा आएको गतिका कारण बैंकहरुमा कर्जाको माग बढेको हो ।

बैंक वित्तीय संस्थामा कर्जाको माग उच्च भएपछि बैंकहरुले लगानी गर्नका लागि स्रोत व्यवस्थापन गर्नका लागि निक्षेपको ब्याजदर बढाउनु पर्ने बाध्यता हुन्छ । पछिल्ला दिनहरुमा बैंकहरुले आन्तरिक रुपमा ब्याजदर बढाउन समेत थालिसकेको अवस्था छ । पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिन्छ । ब्याजदर सस्तो भएका कारण दिर्घकालिन योजनाका सञ्चालकहरु पनि यहि समयमा कर्जा माग बढेको छ ।

आर्थिक गतिविधिमा सुधार आएसँगै आयातको वृद्धिले आन्तरिक आर्थिक क्रियाकलाप बढेको छ । कोरोनाका कारण आयात घट्ने र निर्यात बढ्ने अवस्थामा थियो । अति आवश्यक बस्तु भन्दा अन्य बस्तु आयत गर्ने अवस्था थिएन । त्यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग व्यक्तिगत प्रकृतिमा सीमित थियो । तर, पछिल्ला दिनहरुमा आर्थिक गतिविधि पुर्ववत रुपमा सूचारु हुनु तथा विकास निर्माणका काम समेत सुरु भएकाले कर्जाको माग उच्च रहेको बैंकहरु बताउछन् ।

कोरोनाका कारण बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुँदा अधिक तरलताको समस्या देखियो। अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो । 

चैतको पहिलो सातामा मात्रै बैंकहरुले २३ अर्ब कर्जा प्रवाह गरेका छन् भने यसअवधिमा १४ अर्ब निक्षेप संकलन गरेका छन् । फागुन महिनाभरीमा बैंकहरुमा ३९ अर्ब निक्षेप थपिदा सो अवधिमा ९४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

चैत ६ गतेसम्ममा वाणिज्य बैंकहरुले ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।