चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म, चाडपर्वअघि बजारमा अभावको चिन्ता


काठमाडौँ । नेपाली बजारमा चिनीको मूल्य निरन्तर बढ्दै प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । चाडपर्व नजिकिँदै जाँदा चिनीको माग बढिरहेको समयमा बजारमा पर्याप्त आपूर्ति हुन नसक्दा मूल्यसँगै अभावसमेत देखिन थालेको हो ।

दैनिक उपभोग्य वस्तुमध्ये महत्वपूर्ण मानिने चिनीको मूल्य पछिल्लो समय लगातार बढेपछि उपभोक्ता थप मारमा परेका छन् । बजारमा चिनी सहज रूपमा नपाउने र पाए पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको उपभोक्ताको गुनासो छ ।

विशेषगरी दशैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्व नजिकिँदै जाँदा चिनीको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले अहिले देखिएको अभावले आगामी दिनमा थप समस्या निम्त्याउने चिन्ता बढेको छ ।

हाल बजारका कतिपय पसलमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको व्यवसायीहरू बताउँछन् । मूल्य बढ्नुका साथै आपूर्ति अनियमित भएपछि बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने आशंकासमेत गरिएको छ ।

शान्तिनगर बसोबार गर्दै आएकी गृहिणी प्रमिला खड्काले चिनीको मूल्य दुई सातामा नै ३० रुपैयाँसम्म बढेको बताइन् ।

‘१५ दिन अगाडी १ केजी चिनी १२० रुपैयाँमा ल्याएको थिएँ ।’ उनले भनिन्, ‘अहिले त १५० रुपैयाँ पुगिसकेछ ।’ त्यो पनि पसलले चिनी नै छैन भनेर टार्न खोजेको उनले सुनाइन् ।

उनका अनुसार, अहिले त १ केजी चिनीले १५/२० दिन पुग्छ । तर अब मुख्य चाँडपर्व आएको छ । चिनी धेरै चाहिन्छ, पसलेले भने १ केजी दिन पनि आनाकानी गर्छ । पछि त झन के पाइएला र खोई ? उनले भनिन् ।

प्रमिला मात्र होइन हरेक गृहिणीको चिनी नपाइएको गुनासो रहेको छ । सोही स्थानमा बसोबास गर्दै आएकी दोलखाकी कुशुम पनि चिनी नपाएर चिन्तित छिन् ।

‘अहिले त आफु चिनी नखाएर नै बस्न सकिन्छ, तर चाँडपर्वमा त चिनी चाहिन्छ ।’ उनले भनिन्, ‘अबको केही दिनमा दशैँका लागि घर जानुपर्छ, हरेक वर्ष घर जाँदा चिनी किनेर लैजाने गरेको थिएँ तर यसपाली त पाइदैन जस्तो छ ।’

उनका अनुसार, ‘दशैँका लागि भन्दा पनि तिहारका लागि धेरै चिनी आवश्यक पर्छ । तिहारमा विभिन्न परिकारका रोटी तथा मिठाईहरु तयार गर्नुपर्ने हुन्छ तर चिनी बिना त के बनाउनु’ उनले भनिन् ।

पछिल्लो समय चिनीको सहज आपूर्ति नभएको व्यापारीहरूले बताएका छन् । शान्तिनगर स्थित भगवती किराना स्टोरका सञ्चालक किशोरले होलसेलले नै चिनी नआएको भन्दै टार्ने गरेको सुनाए ।

‘हामीले होलसेलमा गएर माग्दा चिनी नै छैन भन्छन्, बल्लतल्ल एक–दुई बोरा दिन्छन्, त्यो पनि अत्याधिक महँगो भाउमा,’ उनले भने, ‘होलसेलमै हामीलाई प्रतिकिलो १३० देखि १३५ रुपैयाँसम्म पर्छ, ढुवानी खर्च जोड्दा र अलिकति नाफा राखेर बेच्दा १५० पुगेको हो ।’

उनका अनुसार, अहिले नै चिनीको मूल्य अत्याधिक बढ्नुका साथै आपूर्ती नै असहज हुन थालिसक्यो । अब त झन् चाडपर्वको सिजन सुरु भयो भयो, चाँडपर्वमा अन्य समयको तुलनामा दोब्बर बढी माग हुन्छ । यसरी त चाँडपर्वमा चिनीको अभाव हुने देखिएको उनले बताए ।

चिनीको मूल्य अधिक बढेपछि सरकारले बजारमा आपूर्ति बढाउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यी दुई सरकारी कम्पनीलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न स्वीकृति दिएको हो ।

सो निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट जिटुजी प्रक्रियामार्फत २ हजार ५०० मेट्रिकटन चिनी आयात गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी जानकारी दिए ।

कम्पनीले यसअघि नै १ हजार क्विन्टल चिनी आयात गरिसकेको र थप १ हजार ५०० क्विन्टल ल्याउने तयारी गरेको उनले बताए ।
उनका अनुसार, बाढीपहिरोका कारण सडक तथा पुलमा भएको क्षतिले चिनी काठमाडौंसम्म ढुवानी गर्न समस्या हुने देखिएको छ । कम्पनीका बिक्री केन्द्र तथा गोदाममा अहिले करिब १५ हजार क्विन्टल चिनी मौज्दात रहेको उनको भनाई छ । तर सीमित बिक्री केन्द्र र बजारको तुलनामा न्यून मौज्दातका कारण सरकारी चिनीको आपूर्तिले समग्र बजारको माग धान्न सकेको छैन ।

यता साल्ट ट्रेडिङले स्वदेशी चिनी उद्योगबाट १५ हजार मेट्रिकटन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले स्वदेशी उद्योगबाट चिनी खरिद गर्ने नीतिअनुसार उक्त परिमाणमध्ये १२ हजार मेट्रिक टन साल्ट ट्रेडिङले र ३ हजार मेट्रिक टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने व्यवस्था गरिएको साल्ट ट्रेडिङका प्रवक्ताकुमार राजभण्डारीले जानकारी दिए । साल्ट ट्रेडिङले करिब १ हजार ८०० मेट्रिकटन चिनी खरिद गरिसकेको जनाएको छ ।

चिनीको मूल्य बढ्नुमा स्वदेशी उत्पादन तथा मौज्दातमा कमी, आयातमा देखिएको समस्या, बाढीपहिरोका कारण ढुवानी तथा वितरण प्रणालीमा आएको अवरोध र चाडपर्वका कारण बढ्न थालेको मागलाई मुख्य कारण मानिएको छ ।

चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि तथा कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । विशेषगरी चाडपर्वको मुखमा व्यवसायीले मौज्दात लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र त्यसपछि मूल्य बढाउने सम्भावना रहने भएकाले सरकारी निकायले गोदामदेखि खुद्रा पसलसम्म अनुगमन गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।