बीमा व्यवसाय औषतमा ३१% ले बढ्यो, आठ महिनामा एक खर्बमाथि

0
Shares

कोभिड-१९ संक्रमणका बीच पनि नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना अवधिमा एक खर्ब माथि बीमा व्यवसाय गरेका छन् । सञ्चालित १९ जीवनबीमा र १९ निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको व्यवसाय गरेका हुन् । राष्ट्रिय बीमा कम्पनीको भने तथ्याङ्क सार्वजनिक भएको छैन ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आव २०७८/७८ को फागुन मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीले कुल १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन तथा निर्जीवन गरी कुल ७८ अर्ब १० करोड रुपैयाँ बराबरको व्यवसाय भएको थियो । समीक्षा अवधिमा समग्र बीमा व्यवसायमा ३१.११ प्रतिशतको वृद्धि देखिएको छ ।

चालु आवको फागनु मसान्तसम्ममा अवधिमा जीवन बीमातर्फ ८२ अर्ब २० करोड र निर्जीवन बीमा व्यवसायतर्फ २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको हो । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन बीमातर्फ ६० अर्ब २२ करोड र निर्जीवन बीमा व्यवसायतर्फ १७ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको समितिको तथ्याङ्क छ ।

समीक्षा अवधिमा जीवन बीमा व्यवसायतर्फ ३६.५० प्रतिशत र निर्जीवन बीमा व्यवसायतर्फ १२.९८ प्रतिशतले व्यवसाय बढोत्तरी भएको छ ।
चालु आवको ८ महिना अवधिमा जीवनबीमाकम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँप्रथमबीमा शुल्क, ५३ अर्ब ७९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क र ३२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ८२ अर्ब २० करोड रुपैयाँ संकलन गरेका हुन् ।

गत आवको ८ महिनासँग तुलना गर्दा यस अवधिमा सबै (१९ वटै) जीवन बीमाकम्पनीहरुले बीमा शुल्क संकलन बढाएका छन् भने निर्जीवन बीमा व्यवसायतर्फ २० मध्ये १६ कम्पनीको व्यवसाय बढेको छ । हिमालयन जनरल, ओरियन्टल र नेशनल इन्स्योरेन्सको बीमा शुल्क संकलन घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क सार्वजनिक भएको छैन ।

जीवन बीमा व्यवसायतर्फ फागुनसम्म नेपाल लाइफले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड (जीवन बीमा व्यवसायको २७.५८ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । महालक्ष्मी लाइफले सबैभन्दाकम ६८ करोड (जीवन बीमा व्यवसायको ०.८३ प्रतिशत) बीमाशुल्क उठाएको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ६८ करोड (निर्जीवन बीमा व्यवसायको १३.२७ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ३९ करोड रुपैयाँ (निर्जीवन बीमा व्यवसायको १.९३ प्रतिशत) बीमाशुलल्क उठाएको छ । समीक्षा अवधिमा हिमालयन जनरलको २३, ओरिन्टल इन्स्योरेन्सको ४ र नेशनल इन्स्योरेन्सको साढे ३ प्रतिशत धेरैले बीमाशुल्क संकलन घटेको हो ।

लाइफ इन्स्योरेन्सतर्फ सानिमा लाइफको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । कम्पनीले गतआवको ८ महिनामा ४१ करोड रुपैयाँमात्रै बीमाशुल्क उठाएकोमा २०७.३२ प्रतिशतले बढाउँदै चालु आवको फागुनमसान्तसम्ममा १ अर्ब २६ करोड संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसायतर्फ अजोड इन्स्योरेन्सको व्यवसाय वृद्धि उच्च देखिएको छ । गत आवको ८ महिनामा ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क उठाएकोमा ५८.९३ प्रतिशतले बढाउँदै चालु आवको फागुन मसान्तसम्ममा ८९ करोड संकलन गरेको छ ।

 

बीमा समितका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमा व्यवसायको आकार हरेक वर्ष झै अहिले पनि बढ्दै गइरहेको बताए । कोभिड-१९ को कारण केही पछि परेपनि कोभिडको महामारी घट्दै गएपछि व्यवसाय विस्तारमा कम्पनीहरु एग्रेशिभ रुपमा अघि बढेकाले व्यवसायमा कमी नआएको उनले बताए । जीवन बीमा कम्पनीमा अभिकर्ता पुग्न थाल्नु तथा निर्जीवन बीमा कम्पनीले मार्केटिङ्गलाई टाग्रेट दिनु बीमा व्यवसाय बढ्नु अर्को कारण रहेको उनको बुझाई छ ।

बजारमा नयाँ कम्पनी आउनु, कम्पनीमा दक्ष जनशक्तिको अभाव घट्दै जानु बजार बढ्नुको कारण रहेको उनको दाबी छ । अघिल्ला वर्षहरुको तुलनामा बीमा व्यवसायको वृद्धिदर सन्तोषजनक रहेको उनको भनाई छ । आर्थिक वर्षको अन्तिम अन्तिम समयमा बीमा व्यवसाय बढ्ने समय रहेको उनले बताए । जीवन बीमा व्यवसायतर्फ व्यवसायको वृद्धिदरलाई मात्रै हेर्नु भन्दा पनि ल्याप्सको दरलाई हेर्नुपर्ने आवश्यक रहेको उनको तर्क छ ।

जीवन बीमातर्फ बीमा शुल्क वृद्धिदर उच्च देखिएको कम्पनी सानिमा लाइफले पछिल्लो समय कम्पनीमा उचित व्यवस्थापन र कर्मचारीको साथले गर्दा व्यवसाय बढेको बताएको छ । कम्पनीका मार्केटिगं प्रमुख गणेश चौलागाईले कम्पनीले प्रमुख कार्यकारी अधिकृत पाउनु, शाखा सञ्जाल विस्तार हुनुलाई व्यवसाय बढ्नुको कारण रहेको बताए ।

कम्पनीले कर्मचारीलाई गर्ने व्यवहार, अभिकर्तालाई हेर्न हेराई, अभिकर्ता लक्षित मोटिभेशन कार्यक्रमले गर्दा व्यवसाय बढाउन सफल भएको चौलागाईको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।