भुक्तानी सम्बन्धी संस्थाले असहज परिस्थितीमा पनि सेवा जारी राख्नु पर्ने

0
Shares

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले विभिन्न कारण देखाउदै सेवा अबरुद्ध गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने संस्थालाई हुन सक्ने जोखिम ब्यवस्थापन गरेर जस्तोसुकै परिस्थितीमा पनि सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाले कारोबारमा निहित जोखिम पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिर्पोटिङका लागि जोखिम व्यवस्थापन नीति, प्रक्रिया तथा संरचना तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था गरेको हो । संस्थाले विभिन्न जोखिमहरुको प्रभावकारी व्यवस्थापन तथा जोखिम सम्बन्धी नीति नियमहरुको तर्जुमा गर्न एक छुट्टै जोखिम व्यवस्थापन इकाईको समेत व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले एक जना अधिकृत कर्मचारीलाई जोखिम व्यवस्थापन अधिकृत नियुक्त गरी जिम्मेबारी दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । जोखिम व्यवस्थापन इकाइले सञ्चालक समितिको बैंठकमा आवधिक रुपमा जोखिम सम्बन्धी विषयमा रिपोर्टिङ समेत गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। संस्थाको समग्र जोखिम व्यवस्थापनका लागि सञ्चालकलाई उत्तरदायी हुन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

संस्थाले जोखिमहरुलाई सञ्चालन, तरलता र व्यवसायी जोखिम गरेर वर्गिकरण गर्नु पर्नेछ । संस्थाहरुले आन्तरिक र बाह्य क्षेत्रबाट हुन सक्ने सञ्चालन जोखिमको पहिचान गरी त्यसको न्यूनिकरण गर्न आवश्यक नीति नियम तथा प्रक्रियाहरुको अबलम्बन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । त्यसैगरी राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्यका लागि कुनै अवरोध विना निरन्तर सञ्चालन हुन सक्ने विश्वसनीय प्रणालीको अबलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

संस्थाले आफ्नो कारोबारसंग सम्बन्धित सञ्चालन जोखिमलाई व्यवस्थापन गर्न प्रभावकारी आन्तरिक नियन्त्रण तथा सूचना प्रणालीको विकास गर्नुपर्छ । कुनै कर्मचारीप्रति अधिक निर्भरता, एउटै कर्मचारी लामो समय एकै स्थानमाा रहेर कार्य गर्ने तथा कर्मचारीबीच मिलेमोतोका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि पदस्थापन एवम् सरुवा लगायतका कार्य गर्न समेत केन्द्र्ीय बैंकले निर्देशन दिएको छ ।

संस्था अर्को मूख्य जोखिमको रुपमा रहेको तरलता नियन्त्रण गर्नका लागि मापन, अनुगमन र व्यस्थापन गर्न समेत केन्द्रीय बैंकले सुझाएको छ । केन्द्रीय बैंकले निर्देशन मार्फत संस्थाले कोषको प्रबाह र सेटलमेन्ट खातामा भएको मौज्दात रकमको प्रभावकारी अनुगमन गर्नु व्यवस्था गरेको छ । त्यसैगरी ग्राहकका बालेटमा रहेको विद्युतीय रकमको दायित्व भुक्तानी गर्न पर्याप्त रकम सेटलमेन्ट खातामा राख्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

संस्थाले व्यवसाय जोखिमहरु पहिचान गरी त्यसबाट पर्न सक्ने असरको आँकलन गर्नुपर्छ । संस्थाले असहज परिस्थितीमा पनि नियमित रुपमा सेवा प्रबाह गर्न बिजनेस कन्टिन्यूटी प्लान तयार गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । साथै संस्थाले रेपुटेशन रिस्क, रणनीतिक जोखिम लगायतको समेत पहिचान गरी प्रयाप्त नीति तथा कार्यविधि तर्जुमा गरी कार्यन्वयन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।