बैंकहरुको नाफा वृद्धिदर घट्दो क्रममा, फागुनसम्मको खुद नाफा गतवर्षको हाराहारीमा

0
Shares

चालु आर्थिक वर्षका ८ महिनामा वाणिज्य बैंकहरुको नाफा वृद्धिदर क्रमिक रुपमा घट्दै आएको छ । भदौ महिनामा ९४ प्रतिशतले बढेको बैंकहरुको नाफा फागुन महिनामा आइपुग्दा १६ प्रतिशतमा सिमित भएको छ ।

कोरोनाका भाइरसका कारण बैंकहरुले कर्जा लगानी गर्न नपाएको अवस्थामा समेत भदौ महिनामा नाफा वृद्धिदर उच्च रहेको थियो । तर, महिनाहरुमा आर्थिक गतिविधि सुचारु भैसकेपछि पनि बैंकको नाफा वृद्धिदर भने घट्दो क्रममा देखिएको हो ।

चालु आवको सुरुका महिनामा कोरोनाका कारण लकडाउन र निषेधाज्ञाले गर्दा आर्थिक गतिविधि नै ठप्प थियो । त्यस्तो अवस्थामा पनि बैंकहरुले साउन महिनाको तुलनामा भदौमा करिब ९४ प्रतिशतले नाफा बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कोरोनाको अवधिमा बैंकहरुले अन्य क्षेत्रमा माग हुन नसकेको र निक्षेप थुप्रिन थालेपछि अधिक तरलता हुन थाल्यो । अधिक तरलता भएपछि शेयर बजार र घरजग्गामा लगानी बढाए । त्यस कारणले पनि शेयर बजार तथा जग्गामा उच्च सुधार समेत आएको थियो । घरजग्गा तथा शेयर बजारमा बैंकहरुले आफैले पनि लगानी गरेर कमाएको अवस्था थियो ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा कर्जाको माग उच्च हुँदा बैंकहरुले कर्जा छनोट गरेर प्रबाह गर्न थालेका छन् । त्यतिमात्र नभई ब्याजदर सस्तो भएपछि ठुला परियोजाहरुले समेत अहिले नै कर्जाको माग गरेको हुनाले पनि वित्तीय प्रणालीको तरलतामा दबाव पर्न थालेको थियो । केही साता अधि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको रकम बजारमा पठाएपछि तरलतामा केही सहज अवस्था देखिएको भएपनि दिर्घकालिन समाधान नभएको बैंकरहरु बताउँछन् ।

सरकारले कोरोनाका कारण आर्थिक क्षेत्रको नोक्सानी बैंकिङ क्षेत्रमा सारेको हुनाले पनि नाफा प्रभावित भएको छ । उद्योगी तथा व्यपारीलाई बैंक वित्तीय संस्थाले छुट तथा सहुलियत दिएको अवस्था त्यसले गर्दा पनि गत आर्थिक वर्षमा मासिक नाफाको तुलनामा बैंकहरुको नाफा घटेको देखिएको छ । तर, फागुन महिनामा भने गत आवको हाराहारीमा पुगेको छ ।

आर्थिक गतिविधि सहज भएपनि बैंकहरुले आक्रामक रुपमा गरेको लगानीले केही आम्दानी सुरु गरेको हुँदा गत आवको फागुन महिनाको हाराहारीमा नाफा हुन आएको देखिन्छ । यो अवधिमा बैंकहरुले ३४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । चालु आर्थिक वर्षका हरेक महिनामा एक पछि अर्को गर्दै बैंकहरुको नाफा वृद्धिदर घटेको छ । तर, कात्तिक, मंसिर र पुस महिनामा भने नाफा वृद्धिदर एकै रहेको भएपनि असोजको तुलनामा भने कम नै हो ।

सामान्यत बैंकहरुले आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा लगानी बढाउने प्रयास गरेका हुन्छन् । त्यसपछि आर्थिक वर्षको अन्त्यमा कर्जा उठाउनमा जोड दिन्छन् । आर्थिक वर्षको अन्तिम तिर बैंकहरुले कर्जा लगानी गरेको खण्डमा आम्दानी भन्दा पनि नोक्सान नै बढी हुन सक्ने भएकाले कर्जामा धेरै जोड दिदैनन् ।

चालु आवको पहिलो त्रैमासमा बैंकहरुले सोचे अनुसार लगानी गर्न नसक्दा पनि नाफा वृद्धिदर क्रमिक रुपमा घटेको हुनसक्ने बैंकहरुको अनुमान छ । “तर,आर्थिक वर्षको समयमा वित्दै जाँदा रकमका आधारमा भने नाफा बढीनै रहेको छ,”एक बैंकरुले भने,“कोरोनाका कारणले प्रभावित अर्थतन्त्रको जिम्मा बैंकिङ प्रणालीलाई दिइएको हुनाले मासिक नाफा वृद्धिदरमा उच्च उतारचढाव देखिएको हुनसक्छ ।”

चालु आवको फागुन महिनामा वाणिज्य बैंकहरुले ४१ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने करिब एक प्रतिशतले मात्र थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले फागुनसम्ममा ४२ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको माघ महिनाको तुलनामा फागुनमा भने नाफा बढेको छ । माघ महिनासम्ममा बैंकहरुको नाफा ३५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । यो नाफा फागुनसम्ममा १६.६९ प्रतिशतले बढेर करिब ४२ अर्ब रुपैयाँ पुगेको हो ।

चालु आवको फागुनसम्ममा ३ अर्ब भन्दा धेरै नाफा गर्नेमा नबिल बैंक र ग्लोवल आइएमइ बैंक रहेका छन् । त्यसैगरी २ अर्ब भन्दा धेरै नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र एनआइसी एसिया बैंक रहेका छन् । फागुनसम्ममा १३ बैंकहरुको नाफा अर्ब भन्दा माथि रहेको छ । फागुनसम्ममा अर्ब भन्दा थोरै नाफा गर्ने बैंकको संख्या ८ रहेको छ ।

फागुनसम्ममा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । त्यसैगरी सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ ।

बैंक  फागुन २०७७ नाफा माघ २०७७ नाफा  फागुन २०७६ नाफा 
NBL 1,915,460 1,584,060 1,042,020
RBB 1,850,220 1,978,580 2,278,820
NABIL 3,128,820 2,384,220 2,810,040
NIBL 2,430,640 2,120,660 2,378,750
SCBNL 965,750 821,840 1,613,520
HBL 899,820 741,540 2,047,470
NSBI 761,240 628,810 1,366,020
NBBL 809,220 867,420 604,080
EBL 1,305,140 1,138,290 2,116,740
BOK 930,890 822,180 1,198,570
NCC 952,550 720,580 1,056,510
NIC 2,782,130 1,846,800 2,740,350
MBL 1,045,980 890,390 1,080,850
Kumari 1,641,080 1,488,770 987,150
Laxmi 1,028,200 897,500 1,153,850
SBL 1,599,290 1,275,270 1,500,830
ADBNL 1,693,290 1,520,300 1,969,730
Global 3,089,520 2,703,430 2,501,670
Citizen 1,125,590 986,240 987,190
Prime 2,404,400 2,121,430 1,826,950
Sunrise 1,154,060 1,097,970 1,273,270
NMB 2,198,250 1,965,820 2,169,260
Prabhu 1,987,170 1,709,350 1,556,730
Mega 1,770,900 1,502,400 1,306,960
CBL 345,940 282,970 450,260
Century 665,530 583,070 859,350
Sanima 1,477,940 1,275,790 1,522,580
  41,959,020.00 35,955,680 42,399,520

 नोट: रकमलाई हजारमा गणना गरिएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।