क्यूआर कोड मार्फत हुने कारोबार बढ्दै, फागुनमा ३४ करोड बढीको कारोबार

0
Shares

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोड मार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्यूआर कोड मार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो ।

यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ ।

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइन मार्फत १० अर्ब बढीको कारोबार भएको छ ।

  • कनेक्ट आईपीएस मार्फत एक खर्ब दश अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र ८ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङ मार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेट मार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेट मार्फत ९ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ-कमर्शको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।