वाणिज्य बैंकहरुले चैत महिनामा मात्रै विस्तार गरे एक खर्ब ६१ अर्ब कर्जा

0
Shares

कोरोना कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । गत चैत महिना मात्र वाणिज्य बैंकहरुले एक खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेका छन् ।

चैत महिनाभरीमा एक खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरुले चैत महिनामा मात्रै निक्षेप भन्दा ४४ अर्ब बढी कर्जा विस्तार गरेको नेपाल बैंकर्स संघले जनाएको छ । पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो ।

कोरोनाका कारण अन्य क्षेत्रको कर्जा ठप्प भएको समयमा समेत घरजग्गा, ओभरड्राफ्ट तथा मार्जिक प्रकृतिका व्यक्तिगत कर्जाको माग उल्लेख्य बढेको थियो । कोरोनाका कारण आयात घट्ने र निर्यात बढ्ने अवस्थामा थियो। तर पछिल्लो चरणमा कोरोना कहरले ठप्प आर्थिक क्षेत्र चलायमान हुन थालेपछि कर्जाको माग बढ्न थालेकाले बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका हुन्।

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महिनामा साढे ९ खर्ब बराबरको आयात भएको छ । आठ महिनाको (साउनदेखि फागुन मसान्तसम्म) तथ्याङ्क अनुसार ९ खर्ब ४३ अर्ब ९९ करोड बढीको आयात भएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.१ प्रतिशतले धेरै हो ।

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प सरह भएपछि बैंकहरुमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुदाँ अधिक तरलताको समस्या देखियो । अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो । तर पछिल्लो चरणमा सरकारले पुनरकर्जाको रकम परिचालन गरेपछि बैंकहरुको निक्षेप समेत सुधार आएको छ ।

चैत ३१ गतेसम्ममा वाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४ खर्ब ५७ अर्ब निक्षेप संकलन गरेर ६ खर्ब ७० अर्ब बढी कर्जा प्रवाह गरेका छन् । ९ महिनाको अवधिमा बैंकरुले निक्षेप संकलन भन्दा २ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेका छन् ।

पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण बैंकहरुले कर्जालाई छनोट गरेर दिन थालेका छन् । बैंकहरुले केही दिन अघिसम्म आक्रामक भएर कर्जा प्रबाह गर्दा तरलतामा दबाव परेको थियो । त्यसको असरले अन्तर बैंक दरसमेत बढेर ४ प्रतिशत माथि पुगेको छ । अहिले बैंकहरुको औसत पूँजी कर्जा निक्षेप अनुपात पनि दैनिक रुपमा बढीरहेको छ । पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिन्छ । ब्याजदर सस्तो भएका कारण दीर्घकालिन योजनाका सञ्चालकहरु पनि यहि समयमा कर्जा माग बढेको छ।

पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहरको हल्लाले गर्दा आम जनमासनमा त्रास बढेको अवस्था छ । यसले गर्दा आगामी दिनमा कर्जाको मागमा कमी आउन सक्ने जोखिम भने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।