बाढीको जोखिममा रहेकारूको संरक्षण तथा पुनर्स्थापनामा डब्लूडब्लूएफ नेपाललाई मेटलाइफ फाउन्डेसनको सहयोग


काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा “प्रकृतिमा आधारित स्थानीय समुदायको पारिस्थितिक प्रणाली, कल्याण र वैकल्पिक जीविकोपार्जनका लागि संयुक्त प्रयास“ जीवन नामक परियोजना कार्यान्वयन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ ।

यस पहलले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्नेछ । यस क्षेत्रमा बारम्बार आउने बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण स्थानीय समुदायको जीविकोपार्जन र खाद्य सुरक्षामा निरन्तर जोखिम उत्पन्न भइरहेको छ ।

एक वर्षे यस परियोजनाले करिब १४० न्यून आय भएका घरपरिवारको जलवायु उत्थानशीलता सुदृढ गर्दै आर्थिक अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । डब्लूडब्लूएफ नेपालले बाढीको जोखिम घटाउन तथा कृषि भूमि र बस्तीलाई डुबानबाट जोगाउन जैविक तटबन्ध (बायो – डाइक), हरित पट्टी तथा खोल्सा पुनस्र्थापनालगायत प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्ने बताइएको छ ।

पारिस्थितिक प्रणालीको पुनर्स्थापनासँगै परियोजनाले दिगो र विविधीकृत जीविकोपार्जनका अवसरहरू प्रवद्र्धन गर्नेछ । यसअन्तर्गत होमस्टेमा आधारित पर्यापर्यटनलाई सुदृढ गर्ने, पशुपालन तथा कुखुरापालनजस्ता गतिविधिलाई सहयोग गर्ने र बजारसम्मको पहुँच सुधार गर्ने कार्यहरू समावेश छन् । साथै, मेटलाइफका कर्मचारीहरूले स्वयंसेवी सहभागितामार्फत विशेषगरी वित्तीय साक्षरता, बजेट व्यवस्थापन तथा साना व्यवसाय सञ्चालनसम्बन्धी तालिममा योगदान गर्ने अपेक्षा गरिएको छ । यसले समुदायको क्षमता र दीर्घकालीन उत्थानशीलता अझ सुदृढ गर्न सहयोग पु¥याउनेछ ।

घट्दो माछा स्रोतमा समुदायको निर्भरता कम गर्दै यस पहलले कर्णाली नदीको समृद्ध जैविक विविधता संरक्षणमा समेत योगदान पु¥याउनेछ । यसमा नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षण पनि समावेश रहेको विज्ञप्तिमा उल्लेख छ । यो साझेदारीले उत्थानशील समुदाय निर्माण तथा न्यून आय भएका जनसंख्यालाई थप वित्तीय सुरक्षा र समग्र कल्याण हासिल गर्न सक्षम बनाउने मेटलाइफ फाउन्डेसनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।