अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२।३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउछन् । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रतिकिलो पर्न आउँछ ।
देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया