बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा


काठमाडाैँ । देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने कतिपय खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्था जानकारी गराएको हो।

कोशी प्रदेशको सङ्खुवासभामा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ। मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे पहिरो गएपछि अवरुद्ध भएको सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेष व्यवस्था लागू गरिएको छ।

उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गर्ने र बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मको अवस्थाअनुसार १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

रसुवाका मुख्य सडकखण्ड पनि बाढीका कारण प्रभावित भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि सडक अवरुद्ध भएको छ।

धादिङ भएर जाने पृथ्वीराजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा गएको पहिरो तथा शीतलबजारमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडकखण्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग तथा प्रहरी टोली परिचालन भइरहेका छन्। बाढी, पहिरो र थप वर्षाका कारण सडकको अवस्था परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।