कालीमाटीमा तरकारीको खुद्रा ब्यापार बन्द, थोक कारोबार प्याकेजिङ्ग मार्फत मात्र गर्नुपर्ने

0
Shares


कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबारदेखि खुद्रा कारोबार बन्द भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहरको महामारी दिनप्रतिदिन तीव्र बन्दै जान थालेपछि दैनिक छाक टार्नुपर्ने अत्यावश्यक वस्तु तरकारी बिक्रीमा पनि कडाई गरिएको हो ।

बैशाख २८ गते मंगलबारदेखि लागू हुने गरी कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेको कृषक बजार पूर्ण रुपमा बन्द गरिएको छ ।
यसैगरी थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार २९ गते बुधबारदेखि तथाा खुद्रा बजार बैशाख ३० गते बिहीबारदेखि बन्द हुने भएका छन् ।

समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले उच्च जोखिम बढ्दै गएपछि कालिमाटी तरकारी बजारका थोक बजारमा प्याकेजिंग गरेर मात्रै बिक्री वितरण गर्ने गराउने तयारी भइरहेको बताए ।

यसैगरी एउटा थोक पसलमा अधिकतम २ जना मात्रै बसी सामाजिक दूरी र सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै कारोबार गर्न समितिले निर्देशन दिएको छ ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ भने ठूला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड/होल्डिङ यार्डमा अक्सन कारोबार गर्नसक्ने निर्देशक विनोद कुमार भट्टराईले बताए ।

वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।