धनुषा । लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेसका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यपारी उत्साहित देखिएका छन् ।
छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दा प्रयोग गरिने बाँसका ढाकी, सुप, नाङ्लो र कोनियालगायत सामग्रीको विशेष महत्त्व छ । पूजाका सामग्री, फलफूल, नरिवल, उखु र ठेकुवालगायत प्रसाद राख्न प्रयोग गरिने यस्ता सामग्रीको किनमेल पर्व नजिकिएसँगै बढ्न थालेको हो ।
परम्परादेखि छठ पूजामा बाँसका सामग्री प्रयोग हुँदै आएकाले आधुनिक सामग्रीको प्रयोग बढे पनि ग्रामीण क्षेत्रका अधिकांश परिवारले परम्परागत सामग्रीलाई प्राथमिकता दिने गरेका छन् । त्यसले स्थानीय हस्तकला र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपको संरक्षणमा सहयोग पुर्याउँदै आएको छ । छठको तयारीसँगै विभिन्न गाउँबस्तीमा सामाजिक सहयोगका गतिविधि बढिरहेको पाइएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरी केही व्यक्ति तथा समाजसेवीले छठ पूजा गर्न आवश्यक सुप, नाङ्लो र दाउरा वितरण गरिरहेका पाइएको छ । त्यस्ता सहयोगले विपन्न परिवारलाई पर्व मनाउन सहज बनाएको स्थानीयवासी बताउँछन् ।
छठ पर्वमा व्रतालुले कठोर नियम पालना गर्दै श्रद्धापूर्वक सूर्यदेव र छठीमाताको पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामनासँगै यस पर्वले सामाजिक सद्भाव, आपसी सहयोग र एकताको सन्देश दिने विश्वास गरिन्छ ।
पर्व नजिकिएसँगै घरआँगनको सरसफाइ तथा नदी, पोखरी र जलाशयका घाट व्यवस्थापनको तयारी पनि तीव्र हुने गरेको छ । छठको मुख्य दिन नजिकिँदै जाँदा पूजाका सामग्रीको किनमेल, घाट सरसफाइ र व्यवस्थापनका कामले थप गति लिने अपेक्षा गरिएको छ ।
मिथिला क्षेत्रमा विशेष उत्साहका साथ मनाइने छठले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिदैँ स्थानीय बजारको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने गरेको छ । बजारमा बढ्दो चहलपहल र गाउँबस्तीमा सुरु भएका तयारीले छठको रौनक क्रमशः बढ्दै गएको अनुमान गरिएको छ ।








