हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशका हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उनले बताए ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्नेछ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ । रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोंचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।