बढ्दो बजारमा कसरी गर्ने जोखिम व्यवस्थापन र सुरक्षित लगानी ?

0
Shares

 
शेयर बजार मापक परिसूचक नेप्सेमा सूचक, कारोबार, शेयर संख्या, अनलाइन कारोबार प्रतिशत सबैमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आइरहेकोमा लगानीकर्ताले आफ्नो लगानीबाट नाफा सुरक्षित गर्न पनि चुक्नुहुँदैन ।
 
शेयर बजारमा निरन्तर बढिरहँदैन । एउटा निश्चित प्रतिशत नाफा आएपछि गरिएको लगानीबाट नाफा सुरक्षित गर्न सकेमा मात्र शेयर बजारबाट कमाउन सकिन्छ । हामीले तपाइलाई कस्ता कम्पनीमा लगानी गर्ने भनेर केहि लगानी टिप्स दिएका छौं । यसले शेयर बजारमा लगानीकर्तालाई लगानी निर्णयमा केही सहयोग पुग्ने अपेक्षा गरेका छौं ।
 
१. लाभांश क्षमतामा आधारित लगानी मात्र गर्ने
 
शेयर बजारमा लगानी गर्दा सम्बन्धीत कम्पनीले दिनसक्ने प्रतिफलका आधारमा मात्र लगानी गर्नुपर्छ । लाभांश क्षमतामा आधारित भएर गरिएको लगानीले मात्र लगानीकर्तालाई शेयर बजार घटेर सम्बन्धीत कम्पनीके शेयरमूल्य घटेको खण्डमा पनि सो कम्पनीले वितरण गर्ने लाभांशले नै उचित प्रतिफल दिलाउन सक्छ ।
 
विगत पाँच वर्षको लाभांश अध्ययन गरी राम्रो, स्थीर र धेरै लाभांश वितरण गरेका कम्पनीको शेयर लगानीका लागि छनौट गर्नुपर्छ ।
 
शेयर बजारमा सकेसम्म आफ्नै पैसा लगानी गर्नुपर्छ। ऋणबाट गरिने लगानीमा एकातिर चर्को ऋणको सावाँ ब्याज तिर्नुपर्ने र अर्कोतिर शेयर बजारबाट पनि घाटा सहनुपर्ने अवस्था आएको खण्डमा कतिपयले आत्महत्याको बाटोसम्म पुगेको नजिर हाम्रै अआँखा वरिपरि नै छन् । महंगो ब्याजमा ऋण काढेर ल्याएको पैसा खराब कम्पनीहरुमा लगानी भयो भने त्यसले लगानीकर्तालाई मानसिक तनावको अवस्थासम्म पुर्याउनसक्छ ।
 
२. संस्थागत सुशासन राम्रो भएका कम्पनी
 
लगानी गर्दा सधै संस्थागत सुशासन भएका कम्पनीको शेयरमात्र लगानी गर्नुपर्छ । यस्ता कम्पनीको शेयरमा गरिएको लगानी सधै सुरक्षित हुन्छ ।
 
शेयर बजारमा लगानी गर्नेहरुले जहिले पनि राम्रो संस्थागत सुशासन भएको कम्पनीको शेयर खरीद गर्ने गर्नुपर्छ । यसो गरे त सुरक्षित लगानी हुन्छ । शेयर बजारमा राम्रो छबी बनाएका सञ्चालकहरुद्धारा सञ्चालित कम्पनीको शेयरको लगानी अन्य कम्पनीको तुलनामा सुरक्षित लगानी मानिन्छ ।
 
संस्थागत सुशासन अत्यन्तै दयनीय रहेका कम्पनीहरुमा गर्दा पैसा डुब्ने सम्भभावना धेरै हुन्छ । नियामक निकायहरुकोे कारबाहीमा पर्ने, तोकिएको समयमा साधारणसभा सम्पन्न नगर्ने, केही सीमित ब्यक्तिको हातमा मात्र शेयर रहेका, शंकाष्पद कारोबार भएका र मूल्य अति महंगो भएका कम्पनीको शेयरमा गरिने लगानी पनि बढी जोखिमपूर्ण हुन्छ ।
 
३. प्रतिशेयर आम्दानी  धेरै भएका कम्पनी
 
शेयर बजारमा लगानी गर्नुपुर्व हेर्नुपर्ने अर्को महत्वपूर्ण कुरा हो सम्बन्धीत कम्पनीको प्रतिशेयर आम्दानी । लगानी गर्दा सधै क्रमश प्रतिशेयर आम्दानी बढाउँदै लगेका कम्पनीमा लगानी गर्नुपर्छ । वृद्धि नै नभएपनि धेरै तलमाथि नभएका कम्पनीको शेयरमा लगानी बढी सुरक्षित हुन्छ ।
 
कम्पनीको नाफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्ने हुन्छ।
 
कुनै समय नियमित आम्दानीभन्दा बाहेक गैर व्यवसायीक बाटोबाट ह्वात्तै आम्दानी बढाएका कम्पनीको शेयर केही समय बढेपछि पछि नियमित आम्दानी घट्नासाथ घट्ने हुँदा यस्तो कम्पनीको छनौट लगानीकर्ताका लागि घातक सिद्ध हुनसक्छ ।
 
४. मूल्य आम्दानी अनुपात (पिई रेसियो)
 
शेयर बजारमा लगानीपुर्व ख्याल गर्नुपर्ने अर्को कुरा हो मूल्य आम्दानी अनुपात ९पिई रेसियो० । पिई रेसियोले कम्पनीको एक कित्ता शेयरले गरेको आम्दानीभन्दा सो कम्पनीको शेयर कति महङ्गो छ भन्ने जानकारी दिन्छ ।
 
साधारणतया १५ देखि २५ गुणा बढीसम्म पिई रेसियो भएका कम्पनी लगानीका लागि उचित मानिने गरिन्छ । यद्यपी धेरै पिई रेसियो हुने कम्पनीको शेयरप्रति लगानीकर्ताको विश्वास भने धेरै हुन्छ तर लगानी र प्रतिफलका हिसाबले भने मध्यम पिई रेसियो भएका कम्पनीहरु नै उचित हुने विश्लेषकहरु बताउँछन् ।
 
५. हल्लाको भरमा लगानी नगर्ने
 
शेयर बजारमा लगानी गर्दा कहिले पनि हल्लाको पछाडि लागेर लगानी गर्नु उचित हुँदैछ । आफुले दुःखले आर्जन गरेको सम्पत्ति सहि कम्पनीमा लगानी भएन भने लामो समयसम्म सो लगानी फस्ने वा घाटा ब्यहोनर्सपर्ने हुनसक्छ ।
 
केही सीमित स्वार्थ समुहले केही समयका लागि हल्ला चलाएर आफुले सस्तोमा किनेको शेयर माथिल्लो मुल्यमा पुर्याएर बाहिरिने गर्दछन् । बजारमा किनै चतुर व्यक्तिको रुपमा चिनिने त्यस्ता व्यक्तिले थोरै थोरै खरीद गरी माथिल्लो बिन्दुमा मूल्य पुर्याएपछि आफ्नो भएभरको शेयर बिक्री गरी बाहिरिन्छन् । यस्तो बेला नयाँ तथा बजारमा अनुभव कम भएका लगानीको फस्ने सम्भावना ज्यादै धेरै हुन्छ ।
 
त्यसैले लगानी गर्दा आफँैले सम्बन्धीत कम्पनीहरुले प्रकाशन गर्ने वित्तीय विवरण अध्ययन विश्लेषण र निर्णय गरेर मात्र लगानी गर्नुपर्छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न प्लाटफर्म मार्फत अनेक खालका स्वार्थकेन्द्रित ब्यक्ति र समूहहरुले सीमित शेयर भएका कम्पनीको भाउ निकै माथि पुर्याइरहेका छन् । यस्ता कम्पनीमा गरिने लगानीमा धेरै जोखिम हुन्छ भन्ने कुरालाई बिर्सनुहुँदैन ।
 
६.उच्च प्रतिशेयर नेटवर्थ भएका कम्पनीहरु
 
कुनैपनि कम्पनीको शेयर खरीद गर्दा धेरै प्रतिशेयर नेटवर्थ भएका कम्पनीहरु छनौट गर्नुपर्छ । प्रतिशेयर नेटवर्थभन्दा धेरै मूल्य भएका कम्पनीहरुमा गरिने लगानीभन्दा प्रतिशेयर नेटवर्थभन्दा कम मूल्य भएका कम्पनी लगानीका लागि छनौट गर्नुपर्छ ।
 
शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने नेगेटिभ ९ऋणात्मक० नेटवर्थ भएका कम्पनीहरुबाट लामो समय प्रतिफल प्राप्त हुन नसक्ने भएकाले बजार बढेको छ भन्दैमा अन्धाधुन्ध रुपमा शेयर बजारमा लगानी गर्नुहुँदैन ।
 
७. जोखिम क्षमताको आधारमा मात्र लगानी
 
शेयर बजारमा लगानी गर्दा सधै आफ्नो जोखिमबहन क्षमता हेरेर मात्र लगानी गर्नुपर्छ । आफुले गर्ने लगानीम कति जोखिम छ र त्यो जोखिम लिन म तयार छु कि छैन भनेर सोचविचार गरेर मात्र लगानी गर्नुपर्छ ।
 
आफ्नो क्षमताभन्दा धेरै लगानी गर्दा त्यसले संकट नित्याउन सक्छ । त्यसैले आपफुले लगानी गर्दा सबै रकम एकैपटक लगानी गर्नुहुँदैन। लगानी गर्दा एउटै समुहका शेयरमा भन्दा फरक फरक समुहका राम्रा कम्पनी छनौट गरी लगानी गर्दा एउटा समुहको शेयरमा घाटा लाग्दा पनि अन्य समुहका कम्पनीबाट लाभा पाइने हुँदा लगानीका लागि समुहगत लगानी विविधिकरण अर्को महत्वपूर्ण शर्त हो ।
 
खेलाडी लागेकै शेयरमा गरिने लगानी थप जोखिपुर्ण हन्छ किनभने उनीहरुले चाहेको बिन्दसम्म मूल्य उचाल्दै लगेर माथि पुर्याई बेचेर बाहिर ननिस्किदासम्म शेयरमूल्य नराम्रोसँग घट्नसक्छ । यस्तो बेला साधारण व्यक्तिले उक्त शेयर धारण गरिरहेको हुन्छ भने खेलाडिहरु नाफा सुरक्षित गरेर बाहिरिसकेका हुन्छन् ।
 
८. हकप्रद र एफपिओको पछाडि लाग्नु अनुचित
 
पछिल्लो समय लगानीकर्ताहरु कुनैपनि कम्पनीले हकप्रद वा एफपिओ ल्याउने भन्नेवित्तकै जति बढेको मूल्यमा पनि शेयर खरीद गर्न तयार भएको अवस्था देख्न सकिन्छ ।
 
हकप्रद वा एफपिओ बिक्री गर्दैमा कम्पनीको आम्दानीको स्रोत बढ्ने हैन, हकप्रद भनेको कम्पनीले थप पूँजीको आवश्यकता भएकाले शेयरधनीलाई शेयर बिक्री गर्ने हो। माया गरेर सस्तोमा शेयर दिने हैन, उसलाई शेयर बेच्न लागेको हो भनी बुझ्नुपर्छ। आफ्नो कमाइबाट बोनस दिन नसक्ने कम्पनीहरुले नै धेरै हकप्रद जारी गर्ने गर्दछन् । धेरै प्रतिशत हकप्रद बिक्रीमा ल्याउने घोषणा गर्ने वित्तीकै महंगो मूल्यमा शेयर खरीद गर्दा भन्दा निरन्तर व्ष्यवसाय वृद्धि गर्दै आएको र बोनस दिने कम्पनीको शेयरमा गरिने लगानी धेरै सुरक्षित हुन्छ ।
 
बैंकहरुले धितो राखेर कर्जा दिने र नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा प्रवाह गर्न सूचीबद्ध गरेका कम्पनीहरुको शेयरमा मात्र लगानी गर्नुपर्छ । यसले आफुलाई शेयर बजार घटेको बेला सोही शेयर धितोे राखेर मूल्य सस्तो भएको बेला शेयर खरीद गर्दा आफ्नो लागत मूल्य कम हुने गर्दछ ।
 
हकप्रद किन्दा एकातिर लगानीकर्ताले थप लगानी गर्नुपर्छ भने अर्कोतिर हकप्रद बिक्रीपछि शेयरको संख्या थपिने हुँदा प्रतिशेयर आम्दानी र लाभांश दर पनि घट्छ । कतिपय कम्पनीको हकप्रदपछि मूल्य समायोजन पछि शेयरको संख्या बढ्न गई आपूर्ति धेरै र माग कम हुँदा पहिले किनेको शेयरको तुलनामा उल्लेखनीय रुपमा मूल्य घट्नसक्छ र डुब्न सकिन्छ ।
 
थप नयाँ साधारण शेयर (एफपीओ) को निश्काशनपछि पनि साधारण शेयर संख्या बढ्छ । एफपिओ आउने नाममा शेयर दोस्रो बजारबाट महंगोमा किनेको शेयरमा आउने प्रतिफलभन्दा अन्य थोरै शेयरमूल्यमा गरिने लगानीबाट आउने प्रतिफल धेरै हुनसक्छ । यसमा विचार पुर्याउन आवश्यक हुन्छ ।
 
९. जसरी कमाइन्छ त्यसरी नै गुम्नसक्छ
 
शेयर बजारमा गरिने लगानीबाट जसरी सजिलै पैसा कमाउन सकिन्छ त्यसरी नै गुमाउन पनि सकिन्छ भन्ने बारेमा जानकार हुन आवश्यक हुन्छ । शेयर बजार माग र आपुर्तिको नियम अनुसार चल्ने गर्दछ । अहिले कोरोना महामारीका कारण लगानीको अन्य क्षेत्र संकुचित भएको र बैंक ब्याजदर न्यून बिन्दुमा आएकाले लगानी शेयर बजारतर्फै केन्द्रीत भएको हो । अन्य क्षेत्रमा लगानी अवसर आउनसाथ बजारबाट लगानी झिक्ने क्रम बढ्ने हुँदा नाफा आएको शेयरबाट आफ्नो नाफा सुरक्षित गर्न चुक्नुहुँदैन । नेप्से सूचक र होहल्लाको पछाछि हैन कम्पनीको अबस्था र आफ्नो जोखिमबहन क्षमतामा लगानी गर्दा सुरक्षित भइन्छ ।
 
१०. कमजोर शेयर बेचौं, राम्रोलाई राखौं
 
शेयर बजार बढेको बेला आफ्नो लगानीका कमजोर कम्पनीको शेयरको मूल्य भविष्यमा झनै घट्न सक्ने हुँदा त्यस्ता शेयर बिक्री गरेर पछि शेयर बजार घटेको बेला राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ । यो नै खराब कम्पनीहरु बिक्री गर्ने सहि समय हो ।
 
आफ्नो विचारमा जुन शेयरले खराब प्रदर्शन गरिरहेको छ, त्यसलाई बेलैमा बिक्री गर्नु नै उचित हुन्छ ।  धेरै लगानीकर्ताहरुले राम्रो कम्पनीको शेयर केही नाफा हुने बित्तिकै बिक्री गर्ने हतारो देखाउँछन् तर खराब कम्पनीहरु राख्ने गर्दछन् । जुन यो गलत प्रवृति हो । राम्रो कम्पनीको शेयरबाट लामो समयसम्म होल्ड गर्दा पनि त्यसबाट ठूलै रिटर्न प्राप्त हुन्छ । राम्रो कम्पनीको थोरै शेयर किनेर लामो समयसम्म होल्ड हुन सकेमा मात्र शेयर बजारको असली विजेता बन्न सकिन्छ ।
 
११. लगानीका लागि आफ्नै मौलिक सिद्धान्त बनाउनुहोस्
 
शेयर बजारका लगानीकर्ताहरुको शेयरको छनौट र लगानीको निर्णय शैली फरक फरक हुन्छन् । सफल बन्ने धेरै शैलीहरु छन् र एउटै शैली मात्र यसका लागि काफी वा ध्रुवसत्य भन्ने हुँदैन ।
 
त्यसकारण सेयर लगानीको क्रममा आफ्नो शैली पत्ता लगाउनुहोस् र त्यसमा आफूूलाई प्रतिबद्ध राख्ने प्रयास गर्नुहोस् । देखासिकी भन्दा पनि यथार्थपरक भएर यस्तो बेलामा सेयरको छनौट र लगानीको निर्णय लिनु श्रेयष्कर हुन्छ ।
 
१२. सेन्टीमेन्टलाई नियन्त्रण गर्नुहोस्
 
नेपाली पुँजी बजारमा अस्वभाविक उतावचढाव आउनुको एक महत्वपुर्ण कारण भनेको लगानीकर्ताको कमजोर मनोविज्ञान देखिएको छ ।
 
बजारमा आउने सामान्य हल्ला र सुचनाले भारी उतावचढाव आउने गरेको छ । यसबाट समग्र पुँजी बजार नै अस्थिर हुने गरेको छ । कुनै स्पष्ट कारण विना नै ठुलो अन्तरले बढ्ने र घट्ने प्रवृत्ति देखिएको छ । यसर्थ पुँजी बजारमा छिरेपछि चाहिनेभन्दा बढी उत्साहीत र हतोत्साहीत हुने प्रवृत्तिलाई त्याग्नुपर्छ ।
 
बजार घट्न लाग्यो भन्दैमा अत्ताल्लिँदै लाखाँै नोक्सानी खाएर सेयर नबेच्नुस् । किनकी बजार सँधै घटिरहँदैन । तपाईँले निश्चित समय शेयर होल्ड गरेर बजार बढेपछि बेच्नुहोस् र शेयर किनेपछि एउटा निश्चित रकम बढेपछि बेच्नुहोस् । यदि तपाईँले बढेको समयमा सेयर नबेची अझै बढ्ने आशामा बस्नुभयो भने त्यो शेयर घटेर फेरि तपाईँलाई नोक्सान हुने स्थिति पनि आउन सक्छ ।
 
यसरी शेयर बजारमा लगानी गर्दा दैनिक कारोबार हुने, बिक्री चाप नहुने, उच्च ईपीएस भएका , बोनस शेयरलाई प्राथामिकता दिने, बलियो नेटवर्थ भएको, सञ्चालन खर्च कम भएको, संस्थागत सुशासन (सञ्चालक र व्यवस्थापन पक्ष), निरन्तर नाफामा रहेको, वित्तीय कारोबारहरू पारदर्शी भएका, कम्पनी छान्नुपर्ने हुन्छ।
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।