काठमाडौँ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तिजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका निम्ति मन्दिरबाहिर पाँच लाइनको व्यवस्था गरिनेछ । मन्दिर परिसरमा प्रवेश गरेपछि आठ लाइनको व्यवस्था गरिने कोषले जनाएको छ ।
तिजका दिन दर्शनमार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाइने कोषले जानकारी दिएको छ ।
तिजका दिन काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका निम्ति छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ । विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
अरू सवारीसाधनका निम्ति भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको कोषकी सदस्य संगीताकुमारी रामले जानकारी दिइन् ।





प्रतिक्रिया