धितोपत्र बोर्डले मर्जर प्रकृयामा रहेको लघुवित्तलाई चलखेलको सूचीमा राखेपछि …


पछिल्लो समय दोस्रो बजारमा विभिन्न कम्पनीहरुको शेयरमा कर्नरिङ, सर्कुलर ट्रेडिङ जस्ता चलखेलका उपकरण प्रयोग भएको भन्दै त्यस्ता कम्पनीको सूची सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक गरेको सूचीमा पछिल्ला केही दिन यता अस्वभाविक शेयर मूल्य बढाइएको केही कम्पनीहरु छुट भएका छन् भने मर्जर प्रकृयामा रहेका कम्पनीलाई उक्त सूचीमा राख्दा बोर्डको अध्ययन फितलो देखिएको छ ।

बोर्डले सार्वजनिक गरेको सूचीमा २०७३ साल साउन १२ गतेको शेयर मूल्य, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थलाई आधार मानि २०७७ साल बैशाख ३० र २०७८ साल जेठ ३१ गतेको विबरणसँग तुलना गरिएको छ ।

यस दौरान कतिपय कम्पनी पहिलो पटक सूचीकरण नै भएका थिएनन् भने २०७८ जेठ ३१ गतेको विबरणमा मात्र सबै कम्पनी सूचीकृत भई शेयर कारोबार भईरहेको बोर्डको तथ्यांकमा उल्लेख छ । यस क्रममा बोर्डले झण्डै ८ महिना पहिलेदेखि मर्जरको प्रकृयामा रहेको घोडीघोडा लघुवित्तलाई पनि अहिले चलखेल भईरहेका कम्पनीको सूचीमा राखेको छ ।

बोर्डले मंगलबार जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, फाइनान्स, होटल लगायतका ५१ कम्पनीको शेयरमा कर्नरिङ र सर्कुलर ट्रोडिङ भईरहेको निष्कर्ष निकाल्दै सूची सार्वजनिक गरेको छ । उक्त सूचीको ३६ औं स्थानमा रहेको घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ कात्तिक तेस्रो सातादेखि मर्जरका कारण स्थगित गरिएको छ ।

युनिक नेपाल लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले २०७७ कात्तिक २३ गतेदेखि लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो । लघुवित्तले २०७६ असार पहिलो साता सर्वसाधारणमा शेयर निष्काशन गरी असार अन्तिम साता शेयर बाँडफाँड गरेको थियो ।

बोर्डले सार्वजनिक गरेका एकाध बाहेकका सबै कम्पनीको शेयर मूल्यमा अस्वभाविक उतारचढाव देखिँदा पछिल्ला दिनमा ‘इन्साइडर ट्रेडिङ, कर्नरिङ, सर्कुलर ट्रेडिङ’ जस्ता विषयमा चौतर्फी आवाज उठेको थियो ।

केही दिन अघि मात्र बोर्डले अनलाइन कारोबार प्रणालीमा रहेको ‘एओएन’ अर्थात ‘अल अर नन्’ फिचरमा चलखेल भएको चर्चा चुलिए पछि उक्त फिचर बन्द गराएको थियो । यसबाट बजारमा कृतिम खरिद आदेशको समस्या हट्ने विश्वास गरिएको छ ।

मंगलबार बोर्डले सार्वजनिक गरेको सूचीमा भने चलखेल गराइएको केही कम्पनी छुट्नु र लामो समयदेखि मर्जरमा रहेका कम्पनी सूचीमा राखिनुले लगानीकर्तामा द्धिविधा उत्पन्न भएको छ । बजार सुधारका लागि आक्रामक देखिँदै गर्दा बोर्डले शेयर मूल्यमा चलखेल भएका केही कम्पनीलाई सूचीमा समावेश नगराउनु अनि मर्जरमा रहेकालाई सूचीमा राख्नुले बोर्डले अध्ययनमा पनि प्रश्न उठाएको छ ।

समग्रमा बोर्डले सार्वजनिक गरेको सूची सही हुँदा हुँदै पनि एकाध कम्पनीका सम्बन्धमा हुन नसकेका अध्ययनले प्रश्न चिन्ह उठाएको हो ।

५१ कम्पनीको शेयरमा चलखेल भएको धितोपत्र बोर्डको निष्कर्ष, कम्पनीको सूची हेर्नुहोस्

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।