मेरो शेयर र डिम्याट खाता नवीकरणबाटै उठ्छ ५० करोड, के मा हुन्छ खर्च ?

0
Shares

मेरो शेयर र डिम्याट खाता नवीकरणबाट मात्रै करीब ५० करोड रुपैयाँ संकलन हुने देखिएको छ । मेरो शेयरका ३६ लाख ३१ हजार ५९८ खाता र २६ लाख भन्दा बढी डिम्याट खाता नवीकरण वापत उक्त रकम संकलन हुने भएको हो ।

सिडिएससीका अनुसार हालसम्म मेरो शेयरका ३६ लाख ३१ हजार ५९८ खाता खोलिएका छन् । त्यस्तै, २६ लाख भन्दा बढी डिम्याट खाता सक्रिय छन् । खुलेका सबै खाता नवीकरण भएमा झण्डै ५० करोड रुपैयाँ संकलन हुनेछ ।

मेरो शेयरको खाता नवीकरण वापत ५० रुपैयाँ तिर्नुपर्छ भने डिम्याट खाता नवीकरण गर्दा एक सय रुपैयाँ लाग्छ । पछिल्लो चरणमा खुलेका आइपिओमा परेको आवेदनको आधारमा २० लाख बढी डिम्याट तथा मेरो शेयर खाता प्रयोगमा रहेका छन् । कतिपयको डिम्याट खाता दुई भन्दा बढी रहेकाले सबै खाता नविकरण नहुन पनि सक्छन् ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एउटा डिम्याट खाता नवीकरणबाट प्राप्त भएको शुल्कको १० प्रतिशत रकम सिडिएससीमा जाने गर्दछ भने बाँकी डिपि मै रहन्छ । यस्तै, मेरो शेयरको खाता नवीकरणबाट प्राप्त भएको शुल्कको ५० प्रतिशत अर्थात २५ रुपैयाँ सिडिएससी र बाँकी रकम डिपि मै रहन्छ।

मेरो शेयर र डिम्याट खाता नविकरणबाट उठेको शुल्क कसलाई कति ?

सिडिएससीको हालसम्मको तथ्याकंलाई आधार मानेर हेर्दा २६ लाख मेरो शेयरको खाता नवीकरण वापत १३ करोड रुपैयाँ उठ्छ भने ३६ लाख ३१ हजार ५९८ डिम्याट खाता नवीकरण वापत ३६ करोड ३५ लाख ५९ हजार ८ सय रुपैयाँ संकलन हुन्छ ।

सिडिएससीका अनुसार ७८ वटा निक्षेप सदस्य (डिपि) रहेका छन् । मेरो शेयर खाता नवीकरणबाट संकलन हुने १३ करोड रुपैयाँमध्ये ६ करोड ५० लाख रुपैयाँ सिडिएससी र ६ करोड ५० लाख रुपैयाँ ७८ वटा डिपीलाई आफ्ना ग्राहकका आधारमा जान्छ । त्यस्तै हालसम्म खुलेका सबै डिम्याट खाता नवीकरण भएमा ३६ करोड बढी रकम संकलन हुन्छ । जसको १० प्रतिशत रकम सिडिएसीले पाउनेछ भने बाँकी रकम डिपिहरुले राख्नेछन् ।

आर्थिक वर्ष सकिन लाग्दै गर्दा निक्षेप सदस्य (डिपि) हरुले डिम्याट खाता र मेरो शेयर नवीकरण गर्न आग्रह गर्दै आएका छन् । डिम्याट खाता हरेक वर्षको असार मसान्तसम्म नवीकरण गर्नुपर्छ । मेरो शेयरको खाता भने आफुले खोलेको मितिले पूरा भएको वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ ।

कसरी नवीकरण गर्ने मेरो शेयर र डिम्याट खाता ?

नेपाली पूँजीबजार पनि प्रविधिमैत्री तर्फ उन्मुख हुँदै गएको पाईन्छ । निक्षेप कार्यालय नपुगिकनै घर वा कार्यालयमा बसी लगानीकर्ताहरुलाई मेरो शेयर र डिम्याट खाता आफ्नै मोबाइल, ल्यापटप वा कम्प्यूटरबाट नवीकरण गर्न सक्ने व्यवस्था छ ।

पहिले मेरो शेयर र डिम्याट खाता निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान थियो । तर प्रविधिले मारेको फड्को सँगै मेरो शेयर र डिम्याट खातको नवीकरण वालेट पेमार्फत गर्न सकिने व्यवस्था कायम भएको छ । आजकाल डिम्याट खाता र मेरो शेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था नगई पनि वालेट पेमार्फत नवीकरण गर्न सकिन्छ ।

मेरो शेयर र डिम्याट खाता नवीकरणको पैसा कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने व्यवस्था भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।