कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च, विदेशी स्वामित्वका सुस्त

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ मा निक्षेप संकलन र कर्जा विस्तारको अवस्था केलाउँदा कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च देखिएको छ । यस्तै समीक्षा अवधिमा विदेशी स्वामित्व रहेका बैंकहरुको प्रगति सुस्त देखिएको छ भने कतिपय बैंकको निक्षेप संकलन त अघिल्लो आवको भन्दा घटेको समेत अवस्था छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याकं अनुसार निक्षेप संकलन तथा कर्जा विस्तारको स्थितिमा सिभिल बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया, एनसीसी बैंकको निक्षेप तथा कर्जा लगानीको विस्तारदर धेरै देखिएको छ ।

विसं २०७७ असार मसान्तदेखि २०७८ असार मसान्तसम्मको अवधिमा सिटिजन्स बैंकको निक्षेप वृदिदर सबैभन्दा धेरै देखिएको छ भने कर्जा लगानीमा सिभिल बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी गत आवको चौथोे त्रैमासिक अवधिमा विदेशी स्वामित्वमा सञ्चालित बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तार सुस्ताएको छ ।

समीक्षा अवधिमा नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप अघिल्लो आवभन्दा गत आवमा घटेको छ भने कर्जा लगानी पनि नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकको वृद्धिदर न्यून रहेको छ ।

सिटिजन्स बैंक निक्षेपमा अगाडि रहँदा सिभिलको कर्जा लगानी वृद्धि धेरै

यस अवधिमा सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा धेरै ५५.१० प्रतिशतले निक्षेप बढाएको छ । गत आवमा तिनाउ विकास बैंक र सिर्जना फाइनान्सलाई गाभेर एकीकृत कारोबार गरेकाले बैंकको निक्षेप र कर्जा विस्तारमा उच्च बढोत्तरी देखिएको हो ।

निक्षेप संकलनमा सिटिजन्स बैंकपछि सिभिल, एनआईसी एशिया, एनसीसी र सेञ्चुरी बैंक रहेका छन् । यी बैंकले अघिल्लो आवको तुलनामा ३८ देखि ५० प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् ।

सिभिल बैंकले कर्जा लगानी विस्तार दरमा अन्य वाणिज्य बैंकलाई उछिनेको छ । वाणिज्य बैंकहरुबीच प्रतिस्पर्धामा कमजोर भनिने सिभिल बैंकले गत आवमा अघिल्लो आवको तुलनामा ५४.२६ प्रतिशतले कर्जा लगानी बढाएको हो ।

सिभिल बैंकपछि कर्जा लगानीमा एनआईसी एशिया, सिटिजन्स, एनसीसी, र प्रभु बैंक अगाडि देखिएका छन् । एक वर्षको अवधिमा यी बैंकहरुको ३८ देखि ५२ प्रतिशतले कर्जा लगानी बढेको छ ।

एक वर्ष अवधिको सिटिजन्स बैंकको निक्षेप ५५.१० प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि ५२.१७ प्रतिशत ले बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ५०.८० अर्ब तथा कर्जा ९१.१० अर्बले बढेको छ ।

यसअवधिमा सबैभन्दा कमजोर मानिएको सिभिल बैंकको प्रगति उत्साहजनक देखिएको छ । सिभिलले पछिल्लो वर्षमा ५४.२६ प्रतिशतले कर्जा लगानी बढाउँदा निक्षेप ५०.२२ प्रतिशतले सुधार गरेको छ । बैंकले यसअवधिमा ३०.२० अर्ब निक्षेप थपेर ९०.३४ अर्ब पुर्याएको छ भने २९.२१ अर्बले कर्जा प्रवाह बढाएर कुल ८३.०४ अर्ब कर्जा लगानी गरेको छ । कर्जा लगानीमा सबैभन्दा धेरै वृद्धि गरेको बैंक निक्षेप संकलनमा दोस्रो स्थानमा छ ।

गत आवमा सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, ग्लोबल र प्रभु बैंक धेरै प्रतिशतले निक्षेप संकलन बढाउने शीर्ष दश बैंकमा परेका छन् । यी बैंकको निक्षेप २४ देखि २७ प्रतिशतले बढेको छ । निक्षेप बढाउनेमा मध्यमस्तरका मानिएका बैंक अग्रपक्तिमा देखिएका छन् ।

यस्तै कर्जा प्रवाहतर्फ नेपाल बैंक, नबिल बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक र सिद्धार्थ बैंक शीर्ष दशमा परेका छन् । यी बैंकको कर्जा लगानी वृद्धिको प्रतिशत ३० देखि साढे ३४ प्रतिशतको बीचमा रहेको छ ।

नेपाल इन्भेष्टमेन्टको निक्षेप पनि ४.४२ प्रतिशतको सामान्य वृद्धि भएको छ । यस अवधिमा इन्भेष्टमेन्ट बैंकले १ खर्ब ७६ अर्ब कर्जा लगानी गरेको छ । अन्य बैंंकको निक्षेप वृद्धिदर १० प्रतिशतभन्दा बढी छ ।

विदेशी स्वामित्वका एसबिआई र चार्टडको निक्षेप घट्यो, अन्यको पनि सामान्य वृद्धि

गत आर्थिक वर्षको अवधिमा विदेशी स्वामित्वका २ वटा वाणिज्यहरु नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको निक्षेप घटेको छ ।

विसं २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्त आईपुग्दा सबैभन्दा धेरै एसबिआई बैंकको निक्षेप ३.७९ प्रतिशतले घटेको हो । त्यस्तै स्ट्यार्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि २.९५ प्रतिशतले घटेको छ ।

विसं २०७८ असार मसान्तमा नेपाल एसबिआई बैंकको निक्षेप संकलन १ खर्ब १० अर्ब रहेकोमा घटेर १ खर्ब ६ अर्बमा खुम्चिएको छ । यसैगरी चार्टर्डको ९९.११ अर्बबाट घटेर ९६.१९ अर्बमा संकुचित बनेको छ ।

गत आर्थिक वर्षमा विदेशी स्वामित्वको अधिकांश बैंकहरुको प्रगति खस्किएको देखिएको छ । कोभिड संक्रमण रोक्न सरकारले लगाएको निषेधाज्ञाले आर्थिक क्रियाकलापमा आएको मन्दीले विदेशी स्वामित्वको बैंकहरु बढी प्रभावित भएका हुन् ।

खासगरी यी बैंकहरुको शाखा सञ्जाल सीमित शाखाबाट मात्र हुने गरेको तथा तोकिएको क्षेत्रमा मात्र लगानी गर्ने रणनीतिक कारोबारले बैंकको व्यवसाय विस्तारलाई असर गरेको हो । यसले ती बैंकको निक्षेप संकलन र कर्जा विस्तार दुबैमा अपेक्षित वृद्धि हुन सकेको छैन । 

विदेशी स्वामित्वको लगानी रहेका एभरेष्ट बैंक, हिमालयन बैंक र नेपाल बंगलादेश बैंकको पनि निक्षेप संकलन तथा कर्जा लगानी खासैै उत्साहजनक देखिएको छैन ।

कर्जा विस्तारमा कमजोर बैंक

विसं २०७७ असार मसान्तदेखि २०७८ असार मसान्तको तथ्यांक हेर्दा सबैभन्दा कम कर्जा लगानी गर्ने बैंकमा पनि नेपाल एसबिआई बैंक अग्रस्थानमा रहेको छ । बैंकको कर्जा लगानी ७.७१ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । २०७७ असारमा बैंकको कर्जा लगानी ९४.३१ अर्ब रहेको थियो ।

यसैगरी एभरेष्ट बैंकको १३.६८ प्रतिशत, नेपाल बंगलादेश बैंक १५.९७, हिमालयन बैंक २३.१४, र स्ट्याण्डर्ड चार्टडको कर्जा लगानी २५.२६ प्रतिशतले बढेको छ ।

विसं २०७८ असार मसान्तसम्ममा एभरेष्ट बैंकले १ खर्ब ३४ अर्ब, नेपाल बंगलादेश बैंकले ७१.१७ अर्ब, हिमालयन बैंकले १ खर्ब ३२ अर्ब र स्ट्याण्डर्ड चार्टडले ७२.०५ अर्ब कर्जा लगानी गरेको छ ।

पछिल्लो एक वर्ष अवधिमा २७ वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ खर्ब ११ अर्बले बढ्दा कर्जा लगानी ८ खर्ब १५ अर्बले बढेको छ । यसअवधिमा समग्रमा निक्षेप २०.३८ प्रतिशतले र कर्जा लगानी वृद्धिदर २८.०७ प्रतिशत छ ।

चार बैंकको निक्षेप र तीन बैंकको कर्जा लगानी दुई खर्ब माथि

गत आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चार बैंकको निक्षेप संकलन र तीन बैंकको कर्जा लगानी रकम दुई खर्बभन्दा बढी देखिएको छ ।

विसं २०७८ असार मसान्तसम्ममा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ३ खर्ब बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ६४ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । अघिल्लो असारको तुलनामा २०७८ असार मसान्तसम्ममा बैंकले निक्षेप ८९.४१ अर्ब र कर्जा लगानी ९१.१० अर्बले बढाएको हो । बैंकको निक्षेप वृद्धि नेपाल बंगलादेश बैंकको कुल निक्षेप बराबर र कर्जा लगानी वृद्धिदर नेपाल बंगलादेश बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सेञ्चुरी र सिभिल बैंकको कुल कर्जा लगानीभन्दा धेरै हो ।

यसैगरी ग्लोबल आइएमई बैंकको निक्षेप २ खर्ब ८३ अर्ब, सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २ खर्ब ६४ अर्ब र नबिल बैंकको २ खर्ब २८ अर्ब रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ बैंकको निक्षेप एक खर्बभन्दा बढी २ खर्बभन्दा कम रहेको छ भने चार बैंकको एक खर्बभन्दा कम छ ।

कर्जा लगानीतर्फ एनआईसी एशिया बैंकपछि बढी कर्जा संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ खर्ब ४२ अर्ब लगानी गरेको छ । तेस्रो नम्बरमा रहेको नबिल बैंकले २ खर्ब ५ अर्ब कर्जा लगानी गरेको छ ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा १८ बैंकको कर्जा लगानी एक खर्बभन्दा बढी २ खर्बभन्दा कम रहेको छ भने ६ बैंकको एक खर्बभन्दा कम छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।