सर्वोत्तम ओटीसी मार्केटमा दर्ता भएपछिको नालीबेली, नियामकसँगको मिलेमतोमा फैलिएको जालो


सर्वोत्तम सिमेन्टले बुक विल्डिङ प्रणालीबाट महंगो प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्नका लागि नियामक निकायदेखि बजार सम्बद्ध व्यक्तिहरुलाई प्रभावमा पारेको घटनाक्रमले देखाएको छ ।

नोटबजारलाई प्राप्त तथ्य केलाउँदा बुकविल्डिङ्बाट शेयर खरिद गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई समेत प्रभावमा पारेको भेटिएको हो । यसका साथै सर्वोत्तमले विभिन्न प्राइभेट कम्पनीका माध्यमबाट अन्य क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई समेत प्रभावमा पार्ने योजनामा जालो फैलाएको देखिन्छ । ओटीसी मार्केटमा ३ पटकमा ४९ वटा संख्याबाट ११ लाख ७५ हजार कित्ता शेयर कारोबार भएको देखिन्छ ।

यस दौरान एक व्यक्तिले शेयर बेच्ने र तत्काल फेरि किन्ने समेत गरेको भेटिएको छ । एक आपसमा शेयरको हिस्सा मिलाउनका लागि यस किसिमको शेयर कारोबार भएको दर्तावालाहरुको लगतले देखाउँछ । सिमेन्टको संस्थापक शेयर नियामक निकायका प्रमुख, शेयर बिक्री प्रबन्धक, शेयर ब्रोकर, बजारका ठूला लगानीकर्ता र धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई साझेदारका रूपमा शुरूमै भित्र्याएर सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै शेयर बाँडिनुले शेयर बजारमा चलखेल गर्न खोजिएको प्रष्ट हुन्छ ।

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्दा न्यूनतम दश वटा योग्य संस्थागत लगानीकर्ताबाट आसयमूल्य लिनुपर्ने व्यवस्था रहेकोमा शेयर जारी गर्नुअघि नै आठ वटा योग्य संस्थागत लगानीकर्ताको रुपमा अनुमति पाएका कम्पनीमा आबद्ध प्रभावशाली व्यक्तिलाई सर्वोत्तमले पहिले नै शेयर बिक्री गर्नुले सर्वसाधारणमा महङ्गो प्रिमियम मूल्यमा शेयर बिक्री गर्ने अभिष्ट राखेको देखिन्छ ।

बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताको रुपमा अनुमति दिएको ७९ वटा कम्पनीमध्ये ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई समुन्त योजना–१, एनएलजी इन्स्योरेन्स कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल, आइएमई इन्भेष्टमेन्ट प्रा. लि., आइएमई होल्डिङ्ग प्रा. लि., एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड गरी आठवटा संस्थामा माथि उल्लेखित व्यक्तिहरुको प्रतक्ष्य वा परोक्ष लगानी रहेको छ । जसमा ढकाल समुहको सबैभन्दा धेरै प्रभुत्व छ ।

गत वर्षदेखि नै बुकविल्डिङ प्रणालीबाट सर्वसाधारणमा शेयर निष्काशन गर्ने चर्चा सँगै सर्वोत्तम सिमेन्टका सम्बन्धमा लगानीकर्ताको चासो बढेको थियो । यस दौरान ओटीसी मार्केटमा दर्ता भए पछि नियामक निकायका प्रमुखहरु, सांसद र लगानीकर्ता सहितको जालो बनाउन सर्वोत्तम सिमेन्टले ठूलो कसरत गरेको तथ्य र कागजातले देखाएको हो । शेयरको मूल्य बढाउन बिस्तार गरिएको जालोका कारण नै यो प्रकरण बाहिर आएको छ भने अर्थ मन्त्रालयले समेत अनुसन्धान अघि बढाएको छ । जसमा नियामक निकायका प्रमुखहरु पनि अनुसन्धानको दायरामा तानिएका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र नेप्से प्रमुख चन्द्र सिंह साउदले सर्वोत्तमको शेयरमा गरेको लगानीका सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन अघि बढाएको हो ।

सबै विषयलाई छानबिन गर्नका लागि धितोपत्र बोर्ड र नेप्सेसँग तालुकदार निकाय अर्थ मन्त्रालयले यस अघि तथ्यपरक विबरण माग गरेकोमा सामान्य प्रष्टीकरण मात्र प्राप्त भए पछि मन्त्रालयले दोस्रो पटक ३ दिन भित्र पूर्ण विबरण पठाउन नेप्सेलाई पत्राचार गरेको छ । मन्त्रालयले अनुसन्धानको ‘फलोअप’ तिब्र बनाएपछि धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना, सञ्चालक ढकाल र नेप्से प्रमुख साउदको पद के हुन्छ भन्ने चासो आम लगानीकर्तामा छ ।

उता धितोपत्र बोर्डका दुईवटै कर्मचारी युनियनहरुले बोर्डका अध्यक्ष ढुङ्गाना र सञ्चालक ढकाललाई तत्काल निलम्बन गरी अनुसन्धान प्रकृया चुस्त बनाएर सत्य तथ्य बाहिर ल्याउन माग गरिसकेका छन् ।

यो सन्दर्भमा नोटबजारले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा ओटीसी मार्केटमा दर्ता भएको दिनदेखि गत असार मसान्तको शेयर लगत सम्मका केही दस्तावेजहरु यहाँ प्रस्तुत गरिएको छ ।

२०७७ कात्तिक २४ गते ओटीसी मार्केटमा दर्ता

सर्वोत्तम सिमेन्टले आफुलाई २०७७ कात्तिक २४ गतेका दिन नेपाल स्टक एक्सचेञ्जको ओभर दी काउण्टर अर्थात ओटीसी मार्केटमा औपचारिक रुपमा दर्ता गरेको थियो । १ अर्ब ९८ करोड रुपैंया चुक्ता पूँजी सहित बजारमा दर्ता भएको सर्वोत्तमले तत्काल नै ओटीसी मार्केटबाट शेयर कारोबार सुरु गरेको थियो ।

नोटबजारलाई प्राप्त कागजात अनुसार २०७७ मंसिर २२ गते ओटीसी मार्केटबाट सर्वोत्तमका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, शेयरधनीहरु नेहा अग्रवाल र दुर्गा प्रसाद न्यौपानले २२२ रुपैंया प्रतिकित्ताको दरमा ५५ हजार कित्ता शेयर १० जनालाई बिक्री गरेका थिए ।

उपलब्ध कागजातका आधारमा यस पश्चात सर्वोत्तमको सञ्चालक समितिको बैठकले धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाकी छोरी रेबिका, बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाई हेमराज, नेप्से प्रमुख साउदकी पत्नी शुशीला लगातका नाममा १० लाख २० हजार कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको देखिन्छ ।

यस क्रममा नेपाली काँग्रेसका सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष एवं नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवाल, चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं व्यापारी दिपक कुमार मल्होत्रालाई पनि ठुलो संख्यामा सर्वोत्तमको शेयर बिक्री गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल, सिटी एक्सप्रेस फाइनान्सका चन्द्र टण्डन, अनलाइन सेक्युरिटिज (४९ नम्बर) का प्रबन्धक अनन्त कुमार पौडेल, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त, पूर्व बैंकर एवं एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई लगायत व्यक्तिलाई २५० रुपैंया प्रतिकित्ताको दरमा शेयर बिक्री गर्ने सम्बन्धमा कम्पनी सञ्चालक समितिले सहमति दिएको देखिन्छ ।

कम्पनी सञ्चालक समितिको निर्णय अनुसार २०७७ माघ १२ गते माथि उल्लेखित व्यक्तिका साथै अन्यलाई ३८ वटा कारोबारबाट १० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएको कागजातले देखाउँछ ।

सर्वोत्तम सिमेन्टको शेयर ओटीसी मार्केटमा कसले कसलाई बेचेका थिए ? कारोबार गर्नेको सूची यस्तो

उल्लेखित दस्तावेजका आधारमा नै नियामक निकायका प्रमुखहरुले आफ्ना परिवारका सदस्यको नाममा सर्वोत्तमको शेयर किनेको वा उपहार लिएको हो भन्ने चासो बढाएको छ । बोर्ड अध्यक्ष ढुङ्गानाले अमेरिकामा रहेकी छोरीको नाममा शेयर किनेका हुन् वा सर्वोत्तमले मूल्यमा प्रभाव पार्न उपहार स्वरुप दिएको गोल्डेन शेयर हो भन्ने विषयलाई पनि उत्तिकै चासोका साथ हेरिएको छ । यस सम्बन्धमा मन्त्रालयले अनुसन्धान गरिरहेकाले नतिजा पछि मात्र प्रष्ट हुनेछ ।

उता आफ्नो व्यवसायमा रमाईरहेका चन्द्र ढकाल पनि उद्योग वाणिज्य महासंघका तर्फबाट धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्न किन मरिहत्ते गरेका थिए भन्ने विषयलाई पनि यो प्रकरणले उजागर गरेको छ । उनले बोर्डको सञ्चालक भएपछि सर्वोत्तमको शेयर खरिद गर्नुले पनि स्वार्थका साथ बोर्डको सञ्चालक बनेको देखाउँछ । योग्य संस्थागत लगानीकर्ताहरुमा प्रभुत्व कायम गरेकाले पनि ढकाल बोर्डको सञ्चालक बनेका हुन् ।

माघ २६ गते किनेको सर्वोत्तमको २ लाख कित्ता शेयर मध्ये चन्द्रले हेमराजको नामबाट १ लाख कित्ता शेयर डेढ महिना पनि बित्न नपाउँदै हाथवे इन्भेष्टमेण्टलाई बिक्री गरेका थिए । २५० रुपैंया प्रतिकित्ताको मूल्यमा किनिएको शेयर २५० रुपैंयाको दरमा नै हाथवेलाई बिक्री गरिनु अनि हाथवे पनि ढकालको नै हुनुले ढकालको चलखेल मात्र नभई सर्वोत्तमको जालो बिस्तार योजनालाई उजागर गरेको छ । हाथवे इन्भेस्टमेन्टमा चन्द्र ढकालका भाइ हेमराज ढकालको ३० प्रतिशत शेयर स्वामित्व छ ।

मंसिर २२ गते भएको कारोबारमा २२२ रुपैंया प्रतिकित्ताको दरमा भएको कारोबार माघ २६ गते २५० रुपैंयामा कारोबार हुनु अनि पछि बेच्दा पनि २५० रुपैंया नै कायम हुनु पनि सर्वोत्तमको योजनालाई प्रष्ट बनाउँछ ।

अर्कातिर हेमराज ढकालको नाममा रहेको शेयर हाथवेमा बिक्री हुनु पहिले नै २०७७ चैत ४ गते राजधानीको एक पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गरी सर्वोत्तम सिमेन्टले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको थियो । उक्त कार्यक्रममा धितोपत्र बोर्डले औपचारिक रुपमा नै सहभागिता जनाएर बुक बिल्डिङ प्रणालीको ‘प्रोमोशनल प्रिजेन्टेशन’ दिँदा सर्वोत्तमको मूल्य माथि कायम गराउने योजनालाई मलजल पुगेको थियो ।

अर्कातिर ढकालको ग्लोबल आईएमई बैंकको भगिनी संस्था ग्लोबल आईएमई क्यापिटललाई नै सर्वोत्तमको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नुले पनि यो प्रकरणलाई थप उजागर गरेको छ ।

सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्न नियुक्त गर्यो बिक्री प्रबन्धक

ढकाल धितोपत्र बोर्डको सञ्चालक भएको २ महिना नबित्दै किनेको २ लाख कित्ता शेयर मध्ये १ लाख कित्ता शेयर उनले बोर्डको सञ्चालककै हैसियतमा चैत १० गते आफ्नै स्वामित्व रहेको हाथवे इन्भेष्टमेण्टलाई बिक्री गरेका थिए । 

चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालक भएकै बेला बेचेका थिए सर्वोत्तमको एक लाख कित्ता शेयर

यसरी ओटीसी मार्केटमा विभिन्न चरणमा शेयर कारोबार भएपछि २०७७ को असार दोस्रो सातासम्ममा आईपुग्दा कम्पनीमा कुल ५३ जना शेयरधनी कायम भएको देखिन्छ ।

कम्पनीले बुकविल्डिङ प्रणालीमा आफ्नो शेयरको आकर्षण देखाउनका लागि गत आर्थिक वर्षमा १९.११८ प्रतिशत बोनस शेयर समेत बितरण गरेको थियो । यसरी सर्वोत्तमले बोनस तथा प्रभावशाली व्यक्तिहरुलाई कम्पनीमा जोडेर शेयरको मूल्यमा प्रभाव पार्न पहल गरेको देखिएको हो ।

बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले साढे ६८ करोड लाभांश बाँड्दै

२०७८ असार ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक भएको सर्वोत्तम सिमेन्टको शेयरधनी दर्ता पुस्तिकाको बिस्तृत विबरण यस्तो छ ।