सर्वोत्तमको सञ्चालक समितिले नै गरेको थियो नियामक प्रमुखलाई शेयर बेच्ने निर्णय (माइन्युट सहित)


नियामक निकायका प्रमुखहरुले सूचीकृत हुन लागेको सर्वोत्तम सिमेन्टको शेयर ओभर दी काउण्टर (ओटीसी) बजारबाट खरिद गरेको दस्तावेज फेला परेको छ । नियामक निकायका प्रमुखका आफन्तलाई ओटीसी मार्केटबाट शेयर बिक्री गर्ने सम्बन्धमा सर्वोत्तम सिमेण्टको सञ्चालक समितिले निर्णय गरेको कागजात नोटबजारले फेला पारेको छ ।

सर्वोत्तम सिमेण्टका अध्यक्ष विष्णु न्यौपानले नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सदस्य चन्द्रप्रसाद ढकाल र नेप्से प्रमुख चन्द्रसिंह साउदलाई शेयर बिक्री भएको जानकारी आफुलाई नभएको प्रतिकृया नोटबजारलाई दिएका थिए । तर उनी अध्यक्ष रहेको कम्पनी सर्वोत्तम सिमेण्टको सञ्चालक समितिको बैठकले नै अलग अलग शेयरधनीबाट नियामक निकायका प्रमुखहरुका आफन्तलाई शेयर बिक्री गर्ने निर्णय भएको देखिएको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ३५ वटा कारोबार ओटीसी मार्केटबाट गर्दै शेयर स्वामित्व विभिन्न व्यक्तिको नाममा हस्तान्तरण भएको छ । उक्त निर्णयका आधारमा सर्वोत्तमले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लागत कायम गराएको हो ।

जस अनुसार कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले ४ जनालाई बेचेर एक जनाबाट फेरी शेयर खरिद गरेका छन् । यस दौरान उनले धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालका भाई हेमराज ढकालको नाममा २ लाख कित्ता शेयर बिक्री गरेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले न्यौपानेबाट २ लाख कित्ता शेयर खरिद गरेको र सो विषयलाई सञ्चालक समितिले अनुमोदन गरेको छ ।

त्यसै गरी बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानालाई १० हजार, नेप्से प्रमुख चन्द्रसिंह साउदकी श्रीमति शुशीला कुमारी बोहोरालाई १० हजार, विष्णु न्यौपानेलाई १० हजार कित्ता शेयर शिखा अग्रवालले बिक्री गर्ने सम्बन्धमा पनि कम्पनी सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णय गरेको दस्तावेजले देखाउँछ ।

यस सम्बन्धमा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले नियामक निकायका व्यक्तिलाई शेयर बिक्री गर्दा भविष्यमा समस्या हुन सक्ने भन्ने सम्बन्धमा सञ्चालक समितिमा सामान्य किसिमले विषय प्रवेश भएको नोटबजारलाई बताएका थिए । उनले दिएका २ अभिव्यक्तिहरु आफुलाई नियामक निकायका व्यक्तिको नाममा शिखा अग्रवालले शेयर बेचेको थाहा नभएको र सञ्चालक समितिमा नियामक निकायका व्यक्तिलाई शेयर बिक्री गर्न नहुने विषय प्रवेश गरेको कुरा बाझिए पछि शेयर कारोबारका दौरान गलत नियत राखेर काम भएको अनुमान गर्न सकिन्छ ।

सञ्चालक समितिको कुनै एउटा बैठकमा भएको यो माइन्युटमा हेमराज ढकालले २ लाख कित्ता शेयर खरिद गरेको, भिष्मराजकी छोरी रेबिका र साउद श्रीमती बोहोराको नाममा दश दश हजार कित्ता शेयर मात्र बिक्री भएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको शेयर लागतमा बोनस पछि शेयर संख्या बढेको देखिन्छ । जस अनुसार आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि साउदकी श्रीमती सुशीला कुमारी बोहरा र ढुंगानाको अमेरिका बस्ने छोरी रेबिकाको नाममा रहेको शेयर संख्या समान ११ हजार ९१२ पुगेको छ ।

ढकालको नाममा शेयर दर्ता पुस्तिकामा १ लाख १९ हजार कित्ता शेयर कायम भएको देखिन्छ ।

अझ बजारलाई प्रभावित बनाउन सक्ने सबै जसो व्यक्तिहरुका नाममा पटक पटक शेयर नामसारी हुनुले कम्पनीले शेयरको मूल्य निर्धारण गर्ने गराउने क्रममा स्वार्थ लिन पहल गरेको सञ्चालक समितिको बैठकको निर्णयमा उल्लेखित नयाँ शेयरधनीको सूची हेर्दा प्रष्ट हुन्छ ।

उक्त सूचीमा नेपाल उद्योग वाणिज्य महासंघको पूजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले विष्णु न्यौपाने, दुर्गा प्रसाद न्यौपाने र तेन्जिङ लाक्देन तामाङबाट गरी १ लाख ५० हजार कित्ता शेयर खरिद गरेको देखिन्छ ।

त्यसै गरी सिटि एक्सप्रेस फाइनान्सका चन्द्र टण्डनलाई १ लाख कित्ता, दिपक मल्होत्रालाई ७५ हजार कित्ता, कमलेश कुमार अग्रवाललाई २० हजार कित्ता, अनन्त पौडेललाई १ लाख कित्ता, अनलराज भट्टराईलाई १० हजार कित्ता शेयर खरिद गर्न स्वीकृति दिने निर्णय पनि उक्त सञ्चालक समितिको बैठकले गरेको थियो ।

कसले कसलाई कति कित्ता शेयर बिक्री गर्न सञ्चालक समितिले दिएको थियो स्वीकृति ? बिस्तृत विबरण यस्तो छ ।

यो सूचीलाई हेर्दा कम्पनीका शेयरधनीहरुले मिलेर बजार सम्बद्ध व्यक्तिहरुलाई सस्तो मूल्यमा शेयर बिक्री गर्ने गराउने र त्यसको प्रभावमा सार्वजनिक निष्काशनका बेला शेयरको मूल्य धेरै कायम गराउने खेल भएको बुझ्न सकिन्छ ।
उल्लेखित विबरणहरुमा शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम गराउन पठाउने मात्र उल्लेख भएको देखिन्छ । तर नियामक निकायका प्रमुखहरुलाई शेयर बेचिएको हो वा प्रभावमा पार्नका लागि गोल्डेन शेयरका रुपमा नामसारीको निर्णय मात्र गरिएको हो भन्ने तथ्य भने कारोबारका दौरान एकको बैंक खाताबाट अर्कोको बैंक खातामा रकमान्तर भएको कागजातका आधारमा मात्र निक्र्यौल गर्न सकिन्छ । यस सम्बन्धमा अनुसन्धान हुनु पर्नेमा तालुकदार निकाय अर्थ मन्त्रालयले सुक्ष्म अनुसन्धान गर्नु पर्ने हुन्छ ।

गोल्डेन शेयर दिएको हुन सक्ने आशंका धेरैले गरिरहेको सन्दर्भमा यस किसिमको अनुसन्धान नहुने हो भने यस अघि पनि धितोपत्र बोर्डमा शेयर निष्काशनको स्वीकृतिका क्रममा हुने गरेको चरम आर्थिक अनियमितताको विषयका सम्बन्धमा ठोस धारण बन्न सक्ने छैन । जसले आगामी दिनमा बोर्डप्रतिको धारणा सँधै नकरात्मक बनिरहिरहने छ ।
मन्त्रालयले बोर्डका अध्यक्ष ढुंगाना र नेप्से प्रमुख साउदलाई ३ दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिए पनि उक्त निर्देशन अनुसार जवाफ मात्र पठाउने र अनुसन्धान नहुने हो भने पनि त्यसले अर्को प्रश्न उब्जाउने अवस्था रहन्छ ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेले सबै क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह नै गरेर आफुले शेयर बिक्री गरेको र नियामक निकायका प्रतिनिधिले भने आफैंले बिचार गरेर शेयर खरिद गरेको बताए । नियामक निकायका व्यक्तिलाई शेयर किन्न आफुहरुले अफर नगरेको उनको दाबी थियो । साथै नियामक निकायका व्यक्तिलाई शेयर बेचेर कम्पनीले कुनै फाइदा लिन नसक्ने बताएका उनले अरु क्षेत्रको सहभागिताले कुनै न कुनै रुपमा कम्पनीलाई सकरात्मक असर पार्ने बताएका थिए ।

संस्थागत लगानीकर्ताहरुको बहुमत संख्या आफ्नो पक्षमा पार्ने र शेयरको प्रिमियम मूल्य ७५० रुपैंया हाराहारीमा नै कायम गराउने पक्षमा सर्वोत्तम सिमेन्ट रहेको छ । यस दौरान केही संस्थागत लगानीकर्ताहरुले आफ्नो आवाजलाई दबाउनका लागि बहुमत संख्यामा संस्थागत लगानीकर्ताहरुलाई आफ्नो पक्षमा लिएको र आफुहरु लगानी गर्ने कि नगर्ने भन्ने अवस्थामा पुगेको केही संस्थागत लगानीकर्ताहरुले नोटबजारलाई बताएका छन् ।

यस्तो अवस्थामा नियामक निकाय, बजार सम्बद्ध व्यक्तिहरुको ठुलो जमातलाई पहिले नै २५० रुपैंयाको दरमा शेयर किनाएर कम्पनीको पक्षमा लबिङ गराउने अस्त्रका रुपमा कारोबार गराइएको हुन सक्ने ती संस्थागत लगानीकर्ताहरुको बुझाई छ ।

विभिन्न सूचीकृत कम्पनीहरुमा अध्यक्षदेखि सञ्चालक तथा मुख्य लगानीकर्ताका रुपमा रहेका चन्द्र प्रसाद ढकालले दोहोरो भूमिकामा बस्न नमिल्ने सम्बन्धमा पनि बहस सुरु भएको छ । यस क्रममा उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक बनेका उनले आफ्ना भाईको नाममा सर्वोत्तमको शेयरमा करोडौं रुपैंया लगानी गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

र यो पनि …

वरिष्ठ अधिवक्ता गान्धी पण्डित भन्छन् ‘धितोपत्र बोर्डका अध्यक्ष र सदस्यलाई ऐन अनुसार सजाय हुन सक्छ’

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणः अर्थमन्त्रालयले नेप्सेलाई पनि सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डलाई सर्वोत्तमको शेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डका अध्यक्ष र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै शेयरको भित्री कारोबारमा संलग्न

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।