बैंक खातामा बढ्दो विद्युतीय ठगी

0
Shares

१. पृष्ठभूमी :

नेपालमा विद्युत्तीय कारोबारको प्रयोग बढ्दो छ । केही समय अगि नेपाल राष्ट्र बैंकका गर्भनर तथा अधिकारीहरु चोक चोक तथा तरकारी पसल लगायतमा गई विद्युतीय कारोबारको उद्घाटन गरी सबै नेपाली नागरिकलाई बैंक खाता मार्फत आफ्नो ब्यापारिक कारोबार गर्न उत्पेरणा गरेका थिए ।

विद्युतीय कारोबारको प्रयोगले जनमानसको दैनिकी सहज हुन पुगेको छ ।

प्रत्येक प्रयोगकर्ताले आफ्नो बैंक खाता खोल्ने, रकम जम्मा गर्ने, भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायतका सम्पूर्ण बैंकिङ्ग कारोबार आफ्नो हातमा रहेको मोबाईलबाट गर्न सक्ने विद्युतीय सुविधा तिब्र प्रयोगमा आईरहेको छ ।

कोरोना भाईरस कोभिड-१९ को महामारीमा त झन् यसको प्रयोग अत्यधिक हुँदै आएको छ ।

नेपाल राष्ट्र बैकले आ.व. २०७८/७९ को मौद्रिक नीति प्रकाशीत गरी विद्युतीय कारोबारलाई प्रद्र्धधन वर्षको रुपमा मनाउन र आवश्यक पुर्वाधार तथा चेतनाको अभिवृद्धिमा जोड दिई विद्युतीय कारोबारलाई आगामी वर्षमा मुख्य भुक्तानीको माध्यमको रुपमा स्थापित गर्ने आफ्नो उद्धेश्य प्रष्ट पारेको छ । यतिसम्मकी अब नेपालमा विद्युतीय मुद्राको सम्भाव्यता समेतको अध्ययन गरी भविष्यमा यसको प्रयोग गर्न तर्फ नेपाल राष्ट्र बैंक अगाडि बढेको देखिन्छ ।

राज्यले लिने नीति तथा सो को कार्यान्वयनको विचमा समाञ्जस्यता भएन भने जस्तो सुकै उत्कृष्ठ नीतिहरु असफल हुन्छन । सन्दर्भ, यही डिजिटल भुक्तानीको हो । प्रत्येक बैंक खातावालको हात हातमा मोबाईल छन् र मोबाईलबाट रकमान्तर तथा भुक्तानीको सुविधा उपलब्ध छन् तर त्यसको सही प्रयोग गर्न नजान्दा र क्षणिक लोभ लालसामा परी आफ्नो गोप्य सूचनाहरु अन्य व्यक्तिलाई दिँदा स्वयमं बैंक खातावाला लगायतका व्यक्तिहरु समस्यामा परेका छन् ।

विद्युतीय कारोबारको वृद्धिसँगै यसको दुरुपयोग गरी देश भित्रबाट वा विदेशबाट ठगी गर्ने ठूलो गिरोह सक्रिय रहेको कुरा हालै बैंक खातावालहरुले आफ्नो खातामा रहेको रकम हराएको वा आफ्नो खातामा थाहा नभएको रकम जम्मा भएको भनी बैंक तथा वित्तीय संस्थाहरुमा गरेको गुनासो वृद्धि हुन थालेको तथ्यबाट स्पष्ट छ ।

खातावालको समाजिक सञ्जालमा तपाईलाई ठूलो रकम चिट्ठा वा भुक्तानी पाउनु भएको छ उक्त रकम भुक्तानी पाउन बैंक खाता उपलब्ध गराउनु होला भनी एसएमएस वा फोन आउने गरेको र खाता नम्बर उपलब्ध गराएपछि अनलाई बैंकिङको युजरनेम र पासवर्ड माग्ने अनि खातावालको मोबाईलमा आउने ओटिपी (वान टाईम पासवर्ड) माग गरी सम्पूर्ण खाताको विद्युतीय साँचोहरु आफ्नो हातमा पारी खातावालको रकम अर्को खातामा रकमान्तर गर्ने र कसै कसैको खातामा सोही प्रक्रियाबाट रकम जम्मा हुने गरेको देखिएको छ । यसरी खातामा रकम हराएपछि वा खातामा रकम जम्मा हुन आएपछि आत्तिएर बैंकले मेरो पैसा खाई दियो भनी गुनासो समेत गर्ने गरेको अवस्था विद्यमान छ ।

यसरी बढ्दो प्रविधिको प्रयोग र सुविधासँग संगै निर्दोष व्यक्तिको दुःखले जम्मा गरेको रकम ठगहरुले खाईदिने सम्भावनाका बीचमा राज्य, सम्बन्धित बैंक, स्वयमं प्रयोगकर्ता खातावाल, कानून कार्यान्वयन गर्ने निकायहरुले यस्तो आपराधिक कार्यलाई रोक्न तथा कसुरदारहरुलाई कडा भन्दा कडा सजायको व्यवस्था गरी विद्युतीय ठगीलाई निरुत्साही गराउन वर्तमान समयको प्रवल आवश्यकता रहेको छ ।

२. पर्याप्त तथा कठोर कानून निर्माणको आवश्यकता :

नेपालमा यस्ता प्रकृतिका अपराधहरुलाई अपराधिकरण गरी सजायको व्यवस्था गर्ने कानून हरु नभएका चाँही होइनन् । विद्युतीय (इलेक्ट्रोनिक) कारोकार ऐन, २०६३ को दफा ४५ ले अनधिकृत रुपमा तथ्यांकमा पहुँच गर्ने लाई दुई लाख रुपैसासम्म जरिवाना वा तीन वर्ष सम्म कैद वा दुबै सजायको व्यवस्था गरेको छ र त्यस्तै दफा ५२ मा जालसाजी गरी लाभ लिएमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २९८ मा पनि यस्ता कार्यलाई अपराधिकरण गरी २ वर्ष सम्म कैद वा बीस हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरेको पाईन्छ । सोही सम्बन्धमा बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ समेतले विद्युतिय माध्यमको दुरुपयोग गरी रकम लिन दिन हुँदैन भनी भनेको छ । तर, उल्लेखित सबै कानूनी व्यवस्थाको गहिरिएर अध्ययन गर्ने हो भने माथि खाताको रकम तथा खातावाललाई झुक्याई जालसाजीपूर्ण तवरले प्राप्त गरी खाताको रकम रकमान्तर गर्ने हालै विकसित अपराधलाई अपराधिकरण गर्ने स्पष्ट कानूनको अभावको स्थिति छ ।

संविधानको धारा २० को उपधारा (४) ले प्रत्येक व्यक्तिलाई प्रचलित कानुनले अपराधिकरण नगरेको कार्यवापत सजाय नगरिने मौलिक हकको ग्यारेन्टी गरिएको छ । फौजदारी कानूनले अपराधिकरण गर्दा स्पष्ट रुपमा कार्य तथा मनसाय उल्लेख गरी के गर्दा अपराध घट्दछ सो कुरा सर्वसाधारण व्यक्तिले बुझ्न सक्ने गरी व्यवस्था गरिनु पर्दछ अनि मात्र त्यस्ता कानूनले समाजमा अपराध नियन्त्रण गर्न सहयोग गर्दछ ।

हाम्रो विद्युतीय कसुर सम्बन्धी कानूनलाई कि त कानून व्यवसायी, न्यायाधिश, अनुसन्धान गर्ने प्रहरी वा अभियोजनमा संलग्न सरकारी वकिल बाहेकले सो कानूनको बारेमा सरसर्ती पढ्दा बुझन सक्ने अवस्थाका छैनन् । त्यसैले यस्ता कानूनले अपराध नियन्त्रण हुन सक्ने अवस्था विद्यमान छैन । तसर्थ यस सम्बन्धमा स्पष्ट कानूनको आवश्यकता तड्कारो रहेको देखिन्छ ।

३. सम्बन्धित पक्षहरुको भूमिका तथा अपराधको रोकथाम :-

(क) राज्यको भूमिका :

(१) खातामा रहेको रकम विद्युतीय गठी गरी रकमान्तर गर्ने, अनधिकृत रुपमा खाताको गोप्य युजर नेम, पासर्वड, ओटीपि प्राप्त गरी अरुको खातामा विद्युतीय खातामा प्रवेश गरी रकमान्तर गर्ने, भुक्तानी लिने कार्यलाई अपराधिकरण गरी बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्नुपर्ने ।

(२) राज्यले जनतालाई यस्ता डिजिटल ठगीबाट बच्न बचाउनेको लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।

(३) विद्युतीय ठगी गरी रकमान्तर गरेको रकम बैंकले थाहा पाउने वित्तीकै जुन सुकै अवस्थामा भएपनि रोक्का गर्न सक्ने र त्यसलाई फिर्ता गरी सम्बन्धित व्यक्तिलाई भुक्तानी दिन सक्ने गरी बैंकहरु बीच हुने समझदारी तथा सहयोगलाई कानूनी मान्यता दिनु पर्ने ।

(ख) बैंकको भुमिका :

(१) आफ्नो ग्राहकहरुलाई खाता खोल्दा वा विद्युतीय सेवा लिँदाको अवस्थामा ग्राहक वित्तीय साक्षरता कार्याक्रम अन्तरगत ग्राहकहरुलाई सचेतता कार्यक्रम सञ्चालन गर्ने ।

(२) विद्युतीय ठगी भई आएको रकम पार्किङ गरी राख्ने खाताको जानकारी आएमा तत्काल नियमनकारी निकायमा जानकारी गराई त्यस्ता खाता रोक्का गर्ने ।

(३) ग्राहकलाई ओटीपि प्रदान गर्दा यस्तो ओटिपी अन्यलाई प्रदान नगर्न अनुरोध गर्ने ।

(४) ग्राहकको खातामा अन्य व्यक्तिले विद्युतीय माध्यमबाट रकमान्तर तथा रकम जम्मा गरेमा सम्बन्धित ग्राहकको मञ्जुरी भएमा मात्र गर्न सक्ने गरी व्यवस्थापन गर्ने ।

(ग) खातावाल/ग्राहकको भूमिका :

(१) बैंक खातामा रहेको आफ्नो विद्युतीय जानकारी, युजरनेम, खाता नम्बर, पासवर्ड जस्ता गोप्य कुुराहरु अन्य व्यक्तिलाई प्रदान नगर्नु नै बैंक खातामा हुने विद्युतीय ठगीको रोक थामको उत्तम उपाय हो ।  तपाईको खातामा रहेको रकमको साँचो अन्यलाई दिनु हुन्छ भने त्यस्तो साँचोको दुरुपयोग गरी रकम लिएर कसैले जान्छ भने त्यसको जिम्मेवार तपाई नै हो । त्यसैले ग्राहकले आफ्नो गोप्य सूचनाहरु कहिले पनि कुनै लोभ लालचमा परी दिनु हुँदैन ।

(२) कसैले तपाईको खातामा अनधिकृत प्रवेशको प्रयास गरेको वा खातामा तपाईको जानकारी बेगर रकम जम्मा हुने वा झिक्ने गरिएको थाहा पाउने बित्तीकै आफ्नो खाता भएको बैंकमा सम्पर्क गरी सो बारेमा जानकारी लिने दिने गर्नुपर्दछ ।

(३) कसैले तपाईलाई चिट्ठा पर्यो वा रकम भुक्तानी गर्छु वा उपहार दिन्छु भनी इमेल, एसएमएस वा सामाजिक संजालबाट प्रस्ताव राख्दछ भने त्यस्ता इमेल, एसएमएस वा समाजिक सञ्जाललाई विश्वास गर्नु हुँदैन र त्यस्ता असम्बन्धित कुराहरुमा ध्यान नदिई बस्नु राम्रो हुन्छ । नत्र तपाईलाई त्यस्ता इमेल, एसएमएस ले फसाउन सक्छ भन्ने ध्यानमा राख्नुपर्ने हुन्छ ।

(४) आफु कुनै विद्युतीय ठगीमा परेको वा पर्ने आशंका भएमा तत्काल आफ्नो बैंक र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सोको जानकारी गराउनुपर्ने हुुन्छ ।

(घ) अनुसन्धान अधिकारीको भूमिका :

(१) नेपालमा बढ्दो विद्युतीय ठगीको घटनाले गर्दा विद्युतीय अपराधसंग सम्बन्धित अनुसन्धान अधिकारीको क्षमता अभिवृद्धि तथा आवश्यक उपकरणहरुको उपलब्धता आवश्यक रहेको छ ।

(२) विद्युतीय ठगीको घटना जो केहीबाट आउने वित्तीकै तत्काल एक्सनमा आउने गरी छुट्टै र्यापिड फोर्सको आवश्यकता रहेको छ ।

(३) सम्पूर्ण कानूनी अनुसन्धान तथा अदालती कारवाही समाप्त भई पीडितले आफ्नो ठगीएको रकम भुक्तानी पाउन लामो समय कुर्नु पर्ने अवस्थालाई अन्त्य गरी खातावालको स्वीकृतिमा रकम भरिभराउ सम्मको अख्तियारी अनुसन्धान अधिकारीलाई हुनु पर्ने देखिन्छ ।

“आफ्नो गोप्य बैंकिङ्ग सूचना अरुलाई नबाडौ, दुःखले आर्जेको सम्पत्ति सुरक्षित राखौं”

(लेखक श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडका लेगल हेड हुन् । )

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।