राष्ट्रिय उत्पादनमा लगानी विस्तार गर्ने गरी मौद्रिक नीति ल्याएका छौं: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति उत्पादन क्षेत्रमा लगानी प्रोत्साहन गर्ने गरी आएको बताएका छन् । आयात घटाउनका लागि निर्यात बढाउनु पर्ने भएकाले राष्ट्रिय उत्पादन बढाउनका लागि मौद्रिक नीतिले जोड दिएको उनको भनाई छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति विस्तृत अध्ययन गरेर आएको बताउँदै उनले अन्य क्षेत्रलाई असजिलो भएको खण्डमा निर्देशिका मार्फत सम्बोधन गरीने आश्वासन समेत दिएका छन् ।

नेपाल आर्थिक संघ तथा इन्स्टिच्यूट फर स्ट्राटविक एण्ड सोसियो इकोनोमिकको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने गरी नीति ल्याएको जानकारी दिए ।

चालु आवको मौद्रिक नीतिले कोरोना प्रभावितको अवस्था अनुसार कर्जा भुक्तानीको समयावधि तोकिएको गभर्नर अधिकारीको भनाई छ । मौद्रिक नीतिले सबै पक्षको सुझाबलाई सम्बोधन गरेको बताउँदै उनले भने,“चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना प्रभावित क्षेत्रहरुलाई राहात दिनेछ ।”

कार्यक्रममा अर्थशास्त्रि प्रा. डा. विश्वम्भर प्याकुरेलले चालु आर्थिक वर्षमा मौद्रिक नीति गत आवकोलाई केन्द्रविन्दु बनाएर ल्याइएको बताए । मौद्रिक नीतिले कोरोनाका कारण प्रभावित अर्थतन्त्र र व्यापारिक क्षेत्रलाई राहत दिने गरी आएको उनको बुझाइ रहेको छ । “यो मौद्रिक नीतिले वित्त नीतिसंगको समन्वयको कमीलाइ हल गर्ने आशा छ,” उनले भने,“केही असजिलो अवस्था आउने भएमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नु पर्छ ।”

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले वाणिज्य बैंकहरुलाई मर्जरमा प्रोत्साहन गरेको बताए । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोमा प्रबाह हुने कर्जा संस्थागत लगानीकर्ताका लागि सहज नभएको हुनाले पुनर्विचार गर्न गोल्यानले आग्रह गरे । कार्यक्रममा अर्थशास्त्रीहरुले बैंक वित्तीय संस्थाको सीडी रेसियो, शेयर कर्जा लगायतका केही विषयहरुमा अन्योलता देखिएकाले त्यसलाई निर्देशका मार्फत स्पष्ट पार्न गर्भनर अधिकारीलाई आग्रह गरेका थिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।