शेयर बजारमा लाभांशमा आधारित लगानी र अल्पकालिन नाफाको प्रतिस्पर्धा

0
Shares

नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत बैंक वित्तीय संस्था लगायतका विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न थालेपछि शेयर बजारका अल्पकालिन र दिर्घकालिन लगानीकर्ताबीच रोचक प्रतिस्पर्धा देखिन थालेको छ ।

लाभांशमा आधारित लगानी गर्ने र कारोबारी लगानीकर्ताबीचको शेयर किनबेचको प्रतिस्पर्धाले नेप्सेमा तिब्र उतारचढाब देखापरेको छ। कम्पनीलेहरुले प्रकाशित गरेका वित्तीय विवरण, उनीहरुले दिनसक्ने लाभांश आँकलन गरेर लाभांशका लागि लगानीगर्नेहरुले खरिदको क्रम बढाएका छन् भने घटेको बजारमा शेयर किन्ने कारोबारीहरु नाफा सुरक्षित गर्ने जोडबलमा देखिन्छन् । 

बिहीबारको बजारमा सुरुवाती समयमा लाभांशका लागि लगानीगर्नेहरु हाबी हुँदा बजारमा शेयरको भाउ बढ्न पुग्यो । अघिल्लो दिन मात्र दुई वाणिज्य बैंकले लाभांश घोष्णा गरेपछि लाभांश रुचाउनेहरु अन्य बैंक तथा वित्तीय संस्थाका शेयरहरु धमाधम उठाउन थाले । लगानीगर्नेहरुले शेयर खरिदको क्रम बढाउँदै गर्दा सुरुवाती समयमा ७४ अंकसम्म बढेको बजारमा एकाएक अल्पकालिन लगानीकर्ताहरु हाबी हुन थाले । लाभांश भन्दा पनि केहि दिन अगाडि घटेको मौकामा शेयर उठाउनेहरु शेयर बेच्न सक्रिय हुँदै गर्दा बजारको अन्त्यतिर कारोबारी हाबी हुन पुगे । जसले गर्दा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से २.७० अंक बढेर बन्द भएको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत बढेको छ। यस दिन ११ उपसमूहको परिसूचक नकारात्मक रहेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढेको छ । आज नेप्से २.७० अंकले बढेर दुई हजार ८ सय १९ दशमलब ६६ विन्दुमा पुगेको हो । यस दिन २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

सबैभन्दा बढी सानिमा बैंकको कारोबार भएको छ । सानिमाको ३४ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल बैंकको २७ करोडभन्दा बढीको शेयर कारोबार किनबेच हुँदा माछापुच्छ्रे बैंकको करिब २४ करोडको शेयर किनबेच भएको छ। सानिमा र माछापुच्छ्रेले लाभाश घोषणा गरेपछि कारोबार बढेको हो ।

बिहीबारको बजारमा कारोबारमा आएका १३ उपमूहमध्ये बैंकिङ र फाइनान्स उपसमूहको परिसूचक बाहेक अन्य सबै घटेका छन् । आज बैंकिङ समूहको उपसूचक २.४७ प्रतिशत र फाइनान्स समूहको उपसूचक ०.३१ प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६.१३ प्रतिशत, नविल बैंकको शेयर मूल्य ५.५१ प्रतिशत र नेपाल बंगलादेश बैंकको शेयर मूल्य ५.३० प्रतिशतले बढेको छ ।

आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।