फलामे छड उत्पादकले ब्याज तिर्दिन भनेपछि बैंकर्स संघले अध्ययन गर्दै

0
Shares

नेपाल बैंकर्स संघले छड तथा डण्डी उद्योगको बास्तविकता बाहिर ल्याउनका लागि अध्ययन सुरु गरेको छ । बिलेट आयातमा बढेको अन्तःशुल्कका कारण स्टील उद्योग सञ्चालन गर्ने अवस्था नरहेको भन्दै व्यवसायीले ब्याज नतिर्ने भनेपछि संघले अध्ययन अघि बढाएको हो ।

सरकारले प्रतिस्थापन विधेयक मार्फत पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउने कच्चा पदार्थ (स्पञ्ज आइरन) आयात गर्दा शुन्य प्रतिशत भन्सार र शुन्य प्रतिशत अन्तःशुल्कको व्यवस्था गरेको छ । तर, सोझै विलेट्स आयात गर्दा ४.७५ प्रतिशत भन्सार र प्रति मेट्रिक टनमा एक हजार ६५० रुपैयाँ बाट बृद्धि गरी दुई हजार पाँच सय अन्तःशुल्क कायम गरेको छ । सरकारको यो व्यवस्थाले स्टील व्यवसायीहरु पनि विभाजित भएका छन् ।

सरकारले बढाएको अन्तःशुल्कका कारण बिलेट आयात गरी उद्योग सञ्चालन गरेर उत्पादन तथा वितरण गर्न सम्भव नभएको भन्दै रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण साखःले आगामी दिनमा बैंकको ब्याज र्तीन सक्ने अवस्था नरहेको बताए । “नेपाल बैकर्स संघका अध्यक्षलाई फोन गरेर बिलेट्स आयात गर्ने स्टील उद्योगले आगामी दिन बैंकको ब्याज तीर्न सक्दैन भनेर जानकारी गराइसकेका छौ,” साखःले भने,“सरकारले एकै प्रकृतिका उद्योगलाई पनि फरक व्यवाहार गर्दा करिब एक खर्ब लगानी रहेको यो क्षेत्र जोखिममा परेको हो ।”

सरकारले बजेट मार्फत ल्याएको कर नीतिले रोलिङ मिल एशोसिएशनका उपाध्यक्षले व्याज तिर्न नसक्ने भन्दै फोन गर्नु भएको बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “व्यवसायीले ब्याज तीर्न सक्दिन भनेपछि वास्तवीकता बुझ्नका लागि अध्ययन सुरु गरेको हो,” अध्यक्ष दाहालले भने,“स्टील व्यवसायमा बैंकहरुको लगानी, अन्तःशुल्कमा भएको वृद्धिले कम्पनीहरुको नाफामा पार्ने असर तथा ब्याज तीर्न सक्ने अवस्था नभएको हो वा होईन भन्ने विषयमा अध्ययन हुन्छ ।”

उद्योगीको समस्या बुझ्नका लागि पनि अध्ययन आवश्यक रहेको दाहालले बताए । सरकारको नीतिले स्टील व्यवसायीहरु दुई भागमा विभाजित भएको अवस्था छ । कसैको समर्थन र विरोध भन्दा पनि वास्तविकता थाहा पाउनका लागि अध्ययन सुरु गरिएको दाहालको भनाई छ । संघले गरेको अध्ययनले हतारमा प्रतिवेदन तयार गर्ने भन्दा पनि प्रयाप्त अध्ययन गरेर आएको प्रतिवेदनका आधारमा मात्र बास्तविकताको बारेमा बोल्न सकिने दाहालको तर्क छ ।

“सरकारले ल्याएको नीतिका कारण उद्योगीहरुले ब्याज तीर्न सक्दिन भन्दै गर्दा सत्य हो होइन भन्ने स्पष्ट हुन पनि अध्ययन आवश्यक देखिकाले त्यसको प्रक्रिया अघि बढाएको दाहालको भनाई छ । “नेपाल बैंकर्स संघको जोखिम समितिले त्यो अध्ययनको कार्य अघि बढाएको छ,” उनले भने,“अन्य देशको सन्दर्भमा पनि दुई कच्चा पदार्थमा आयातमा करको सन्दर्भमा फरक व्यवाहार गरेको पाइएको छ, नेपालको सन्दर्भमा अध्ययन गरेपछि मात्र भन्न सकिएला ।” सरकारले स्टील व्यवसायीबीच नै विभेदकारी नीति अबलम्बन गरेको भन्दै उनीहरुले विरोध स्वरुप बैंकको ब्याज नतिर्ने बताउदै आएका छन् । बिलेट्स आयतमा अन्तःशुल्क बढाएपछि दुई दर्जन उद्योगहरु बन्द हुने स्थितिमा पुगेको व्यवसायीहरुको दावी छ ।

सरकारको उक्त व्यवस्थाले रोलिङ मिल एशोसिएशनमा आवद्ध व्यवसायीहरु समेत विभाजित भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी फलामे डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु सरकारको नीतिको पक्षमा छन् भने बिलेट्सलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने व्यवसायीहरु सरकारको नीतिको विपक्षमा छन् । सरकारले सीमित उद्योगहरुलाई हेरेर अन्य २४ उद्योगलाई बन्द गराउन लागि परेको बिलेट्स आयात गरेर डण्डी उत्पादन गर्ने कम्पनीहरुको आरोप छ । सरकारको विभेदकारी नीतिले डेढ खर्ब बढी लगानी रहेको छड तथा फलाम उद्योगहरु धरासायी हुने अवस्था आएको उनीहरुको भनाई छ ।

हाल देशमा साना ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरु मध्ये अम्बे स्टील, अशोक स्टील, जगदम्बा स्टील, जागशक्ती स्टिल, लक्ष्मी स्टील, नारायणी स्टील, पशुपति स्टील, सर्वाेत्तम स्टीलले मात्र पत्रु पगाली डण्डी उत्पादन गदै आएका छन् । जय अम्बे, श्री स्टील र विजयस्टीलले आफ्नो उत्पादन सुरु गर्ने प्रक्रियामा रहेका छन् । अन्य उद्योगहरुले भने विदेशबाट बिलेट आयात गरेर छड तथा फलाम उत्पादन गर्दै आएका छन् । सरकारको नयाँ नीतिले आरती, वागेश्वरी, इभरोल, गोदावरी, गोयन्का, हामा, हिमाल, हुलास, काठमाडौ, पञ्चकन्या, पाथिभारा, प्रिमियर, एसआर स्टील, शाखः, समृद्धि, सालिमार टीएमटी स्टीललाई पनि समस्या परेको छ ।

छड तथा डन्डी उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने बिलेट आयातमा अन्तःशुल्क खारेज गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि औपचारिक रुपमा सरकारलाई आग्रह गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।