तरलता तत्काल सहज हुने संकेत देखिएन, भदौ यता १३० अर्बको रिपो जारी

0
Shares

वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या तत्काल समाधान नहुने देखिएको छ । बैंकहरुले नयाँ निक्षेप आकर्षित गर्न ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएको भएपनि त्यसले तरलता अभावको समस्यालाई सहज बनाउन नसकेको हो ।

चालु आर्थिक वर्षको दोस्रो महिना देखि बढ्न थालेको तरलता अभावको समस्या झनै जटील बन्दै गएको एक बैंकरले बताए । “निक्षेप तान्नु भन्दा पनि आफुसँग भएको निक्षेप अन्य संस्थामा सिफ्ट नहोस भनेर ब्याजदर बढाएको अवस्था हो,” ती बैंकरले भने,“आगामी दिन अझै ब्याजदर बढ्ने देखिन्छ ।”

अहिले बैंक तथा वित्तीय संस्थाबीचको अन्तर बैंक कारोबार पनि शुन्य रहेको छ । बैंक वित्तीय संस्थासंँग अन्तर बैंक गर्नका लागि पैसा नै छैन । पछिल्लो समयमा अन्तर बैंक कारोबारका लागि सबै संस्थाहरु माग्ने पक्षमा मात्र देखिन्छन । अहिले अन्तर बैंक दर पनि ५ प्रतिशतको हाराहारीमा छ । बैंकिङ प्रणालीमा रहेको तरलताको पछिल्लो तथ्याङक २२ अर्ब ६ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक वित्तीय संस्थाले अन्तर बैंक कारोबार गर्न नसकेपछि नेपाल राष्ट्र बैंकबाट दैनिक रुपमा अर्बौ रुपैयाँ ५ प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा मार्फत सापट लिने गरेका छन् । त्यो सँगै नेपाल राष्ट्र बैंकले पनि रिपो मार्फत बैंकिङ प्रणालीमा पैसा पठाइरहेको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि बैंक वित्तीय संस्थाले ५ खर्ब २२ अर्ब ३० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा लिएका छन् । त्यसैगरी केन्द्रीय बैंकले एक खर्ब रुपैयाँ बरावरको रिपो निष्कासन गरिसकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि मात्र ३० अर्ब रुपैयाँ बराबरको रिपो निष्कासनको तयारी गरेको छ । बिहीबार निष्कासन गर्ने ३० सहित चालु आर्थिक वर्षमा हालसम्म नेपाल राष्ट्र बैंकले १३० अर्ब रुपैयाँ बराबरको रिपो निष्कासन गरेको अवस्था छ ।

एक साताका लागि पाइने रिपोको दर पनि पछिल्लो समयमा ५ प्रतिशतको हाराहारीमा पुगेको छ । चालु आव सुरु भएदेखि राष्ट्र बैंकले एक सय अर्बको रिपो खरिद गर्नका लागि २ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । त्यसैगरी यो अवधिमा न्यूनतम ४.६९ र अधिकतम ४.९९ प्रतिशत रिपो दरमा रिपो खरिद आवेदन दिएका छन् । तर, राष्ट्र बैंकले बिक्री गर्दाको अधिकतम औसत रिपो दर ४.७४ देखि ४.९० प्रतिशत सम्म कायम भएको जनाएको छ ।

चालु आर्थिक वष सुरु भएदेखि बैंक वित्तीय संस्थाले ओभर नाइट रिपोको सुविधा पनि प्रयोग गरेको देखिन्छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले ६७ करोबारबाट २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ओभरनाइट रिपो चलाएका छन् ।

बैंक वित्तीय संस्थाले प्रतिस्पर्धा गर्दै ब्याजदर बढाउनु तथा नेपाल राष्ट्र बैंकबाट प्रयोग हुने मोनिटरी टुलको पनि उच्चतम प्रयोग हुनुले वित्तीय प्रणालीमा तरलताको संकट जटील देखिएको स्पष्ट हुन्छ । दशैँका लागि मात्र नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बरावरको नयाँ नोट बजारमा पठाउँदैछ । त्यसले पनि तरलताको समस्या बढ्नमा थप सहयोग गर्छ । यसले गर्दा पनि आगामी दिनमा निक्षेपको ब्याजदर बढ्ने देखिन्छ ।

कोरोनाका कारण अस्तव्यस्त भएको अर्थतन्त्रले गति लिन थालेसंगै आयात पनि उच्च हुन थालेको छ । औपचारिक मात्र नभई अनौपचारिक अर्थतन्त्र पनि उत्तिकै चलायमान भएको छ । त्यससंगै रेमिट्यान्स आप्रवाहमा पनि उल्लेख्य कमी आउन थालेको छ । सरकारले खर्च गर्न नसकेको अवस्था छ । यसले गर्दा पनि तत्काल तरलता अभावको समस्या सहज हुने वा ब्याजदर घट्ने अवस्था नरहेको बैंकरहरुले बताउँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।