दशैँ बजार : फुटपाथका व्यापारीलाई भ्याइ नभ्याइ, सपिङ्ग मलमा छैन व्यापार

0
Shares

हिन्दुहरुको सबैभन्दा ठूला चाड बडा दशैंलाई मान्यजन तथा आफुभन्दा ठूला व्यक्तिहरुको हातबाट टिका तथा आशिर्वाद लिने पर्वका साथै मासु तथा लुगाको चाडवाडका रुपमा समेत हेरिन्छ ।

अझ दशैँमा नयाँ-नयाँ लुगा लगाएर आफन्तकहाँ टिका तथा आर्शिवाद थाप्न जाने चलन छ । जसरी दशैँमा पुराना घरलाई रातो माटो, कमेरो तथा रङहरु लगाएर नयाँ जस्तै बनाईन्छ त्यसैगरी दशैँमा नयाँ लुगा लगाएर मान्छे पनि सजिएर रङ्गी बिरङ्गी हुन्छन् । आफ्नो क्रय शक्ति अनुसार कसैले फुटपाथका कपडा मन पराउँछन् भने कसैले मलका ।

यस वर्षको दशैँ नजिकिदै गर्दा अर्थात दशैँ केहि दिन मात्र बाँकी रहँदा पनि मलमा व्यापार खासै छैन । उता फुटपाथका ब्यापारीलाई भने ग्राहकसँंग कुरा गर्न पनि भ्याइ नभ्याइ छ । करोडौं रुपैयाँको लागतमा निर्माण भएका काठमाडौंका चर्चित तथा ठूला व्यापारिक भवनहरु (मल) मा लत्ता कपडा किन्ने भन्दा सेल्फी खिच्ने तथा टिकटक बनाउने बढी छन् ।

कुनै बेला राम्रो व्यापार गर्ने व्यापारिक मलहरुमा अन्य समय त छदैँ छ महान पर्व जस्तो दशैँमा पनि मन्दी छाएको छ । कोरोनाका समयमा पसलको भाडा तिर्न नसकेर मलका धेरै सटरहरु रित्तो भए । कतिपय मलका सटरहरु अझै पनि पूर्ण रुपमा बन्द नै छन् । मलको भाडा एकदमै महँगो त छदै छ कोरोना संक्रमणका समय देखि प्रयाप्त सामान नआएका कारण पनि मलमा ग्राहक आउन छाडेको व्ययापारीहरु बताउँछन् ।

कोभिडको समय पछि धेरैमान्छेको आम्दानीको स्रोत खस्किएको छ । जसले गर्दा मान्छे मलमा भन्दा सस्तो, कामचलाउ सामानका लागि सामान्य पसलमा नै धाउन थालेको मलका व्यापारीहरु बताउँछन् । अझ कतिपय मलहरुमा शनिबार मात्र व्यापार हुने गरेको छ । नयाँ बानेश्वरको आइप्लेक्स मलमा २ वर्षदेशि कपडा तथा जुत्ता पसल संचालन गरीरहेकी पवित्रा गिरीको अनुभवले यही बताउँछ । “व्यापार खासै छैन । शनिबार ठिकै व्यापार हुन्छ अरु दिन चै ठप्प जस्तै छ । ”

पवित्रा भन्छिन्, कोभिड पछि धेरै व्यापार खस्किएको छ । चाइनाबाट आउनु पर्ने सामानहरु आइरहेको छैन । चाडवाडको समयमा पनि व्यापार मन्दि छ अझ पसल भाडामा केही छुट दिनु भएको छ ।”

त्यसैगरी देबेन्द्र कार्कीले पनि सोही मलमा कपडा पसल संचालन गर्दै आइरहेका छन् । उनले पसलको मासिक भाडा ५० हजार रुपैयाँ बुझाउँछन् । तर दशैँको समयमा पनि खासै ग्राहक नआउँदा भने हर्ष नभएको बताउँछन् ।  “दशैँ आए पनि व्यापार त्यस्तो उत्साहजनक छैन । यो व्यापारले पसलको भाडा तिर्न पुग्छ । कहिले त पुग्दैन पनि”

काठमाण्डौ मलमा टिकाराम श्रेष्ठले ९—१० वर्षदेखि कपडा पसल संचालन गर्दै आइरहेका छन् । टिकाराम भन्छन्“व्यापार खासै छैन, डामाडोल छ । व्यापार हुन्छ त्यही दिनको १५ या २० हजार सम्म ।” टिकारामको पसलमा अघिल्लो वर्ष अर्थात कोरोना माहामारी फैलिनु पूर्वका चाँडबाँडको समयमा दैनिक १ लाखको हाराहारीमा व्यापार हुने गरेको थियो ।

त्यस्तै कुनै समय थियो जुन समय काठमाण्डौ पसेका मान्छे धरहरा नजिकै रहेको सिटीसी मल घुमेरै फर्किन्थे । भुकम्प तथा कोरोना महामारीले यो मललाई सुनसान बनाइदिएको छ । मलमा फाटफुटट् मान्छेहरु देखिन्छन् । मलमा केहि अफिस तथा ब्यूटिपार्लर छन् । बाँकी सबै सटर बन्द छन् । त्यही मलको ग्राउन्ड फ्लोरमा निलम बस्नेतले चार पाँच वर्ष देखि कपडा पसल संचालन गरिरहेका छन् । तर दशैँको माहोलले उनको मलमा रहेको पसललाई पनि खासै छोएको छैन ।“लकडाउन भन्दा पहिला र अहिलेको दैनिकी भिन्न छ । चहलपहल छैन । पसल भाडा र स्टाफहरुलाई तलब भत्ता खुवाउन ठिक्क छ व्यापार के व्यापार भन्नु ”

कतिपय मलहरुमा दशैँको रौनकले छपक्कै छोएको छ । तर त्यो हर्ष र रौनक दशैँको समयमा पनि मलका कपडा व्यापारीहरुलाई छुन सकेको छैन् । बाहिरबाट नै ग्राहकलाई चङ्गा तथा बत्तिहरुले स्वागत गर्छन । विस्तारै सजिएका गेट र पिङहरुले ग्राहकलाई स्वागत गर्न थाल्छन् । मलमा राखिएका यि आकर्षक चिजहरुले ग्राहकको मन कसो नलोभ्याउला । तर त्यो आकर्षणले सेल्फी खिच्ने र तल्लो तल्लामा कफि पिउने सम्मलाई तानेको छ । अन्य मल भन्दा काठमाण्डौकै सुन्धारामा रहेको सिभिल मलमा मान्छेको चाप अलि बढी देखिन्छ । तर दशैँको व्यापार अन्य समयमा जस्तै ।

नरेन्द्र श्रेष्ठले चार वर्षदेखि सिभिल मलमा लत्ताकपडा पसल संचालन गर्दै आइरहेका छन् । “न्यूरोड तिर जति भीड देखिन्छ मलमा त्यस्तो छैन । अर्थात मलमा त्यस्तो उत्साहजनक व्यापार छैन् । न्यूरोड, असन, महावौद्धतिर देखे मैले पनि” उनले भने । श्रेष्ठले मलमा राखेको पसलको भाडा मात्र २ लाख भन्दा बढी तिर्छन । लकडाउन भन्दा अघिल्ला दशैँहरुमा दैनिक २ लाख सम्म ब्यापार हुने गरेको थियो । तर अहिले १ लाख बराबरको पनि कारोबार नहुने गरेको श्रेष्ठ बताउँछन् ।

अहिले काठमाण्डौको भित्रि बजारका रुपमा चिनीने असन, महावौद्ध, न्यूरोड, नयाँबानेश्वर, जडिबुटी, कोटेश्वर लगायतको क्षेत्रहरुमा साँझ पर्न लागेपछि ठूलो भीड जम्मा हुन्छ । फुटपाथमा राखिएका कपडाहरु बेच्ने व्यापारीको व्यस्तता बढेको छ । तर मलका व्यापारीहरु ग्राहकको पर्खाइमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ