धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्नका लागि जान्नैपर्ने कुराहरु

0
Shares

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा कारोबार खाता खोल्नुपर्ने हुन्छ ।

कारोबार खाता खोल्नका लागि नागरिकताको फोटोकपी, १ प्रति फोटो, विद्यार्थी, कर्मचारी भए परिचयपत्रको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । तर, सामान्य व्यक्ति भएको खण्डमा नागरिकता बाहेकका थप परिचयपत्र अनिवार्य हुँदैन । अहिले नेपालमा ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

त्यसका साथै धितोपत्र दलाल कम्पनीका देशभित्रका विभिन्न शहरहरुमा रहेका ४३ वटा शाखा कार्यालय (रिमोट एसिरया वर्क स्टेशन) रहेका छन् । तसर्थ दोस्रो बजारमा लगानी गर्न चाहने व्याक्तिले धितोपत्र ब्रोकरको कार्यालय तथा उनीहरुको शाखा कार्यलयमा गएर कारोबार खाता खोल्न सक्छन् । नेपालमा कुल ९३ ठाउँमा गएर दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सकिन्छ ।

यसरी कारोबार खाता खोलीकेपछि लगानीकर्ता प्राविधिक रुपमा सचेत भएको खण्डमा अनलाईन मार्फत आफैँले खरिद बिक्री गर्न सक्छन् भने ब्रोकरलाई फोन गरेर पनि किनबेच गर्न सक्छन् । आफैँले कारोबार गर्दा आफुसँग एउटा स्मार्ट फोन वा कम्प्युटर, ल्यापटप सहित इन्टरनेट पनि हुनुपर्छ ।

लगानीकर्ता आफैँले कारोबार गर्ने हो भने ब्रोकर कम्पनीहरु मार्फत नेप्सेको अनलाइन ट्रेड म्यानेजमेन्ट सिस्टमको लगइन आइडी र पासवर्ड लिनुपर्छ । त्यसका लागि ब्रोकरकोमा एप्लिकेसन दिनुपर्छ । यसरी बुझाई सकेको टिएमएस फारमको विवरण सहि छ भने सम्बन्धित ब्रोकरद्धारा आवश्यक तथ्य प्रमाण हेरेर एक हप्ता भित्र सिस्टममा इन्ट्री भइसक्ने छ । यसरी ग्राहकको आवश्यक विवरण इन्ट्रि भइसकेपछि क्लाइन्ट कोड जेनरेटेड हुन्छ । त्यसपछि अनलाईनबाट ग्राहक आफैँले कारोबार गर्न सक्नेछन् ।

अनलाइनबाट आफैँले कारोबार गर्नका लागि लगानीकर्ताले कारोबार लिमीट लिनुपर्छ । यस्तो लिमीट शेयर बिक्री गर्नका लागि चाहिँदैन तर दोस्रो बजारको मार्केटबाट शेयर खरीद गर्नका लागि भने आफुले गर्ने कारोबार रकमको एक चौथाई बरबरको रकम ब्रोकर कम्पनीमा धरौटीको रुपमा राख्नुपर्छ । उदाहरणका लागी २५ हजारको धरौटी राखियो भने १ लाख शेयर कारोबार गर्न पाईन्छ ।

होइन म घरौटी राख्दिन भन्दा पनि आफुसँग भएको बिक्री गर्न चाँही सकिन्छ । तर खरीद गर्नका लागि भने धरौटी अनिवार्य हुन्छ । यसरी धितापत्रको दोस्रो बजारमा लगानी सुरु गरिसकेपछि बजारको उतारचढाव अनुसार कम्पनी छनोट गरी अधिकारिक सूचनाका आधारमा लगानी गर्ने लगानीकर्ताले आम्दानी गर्छ भने बजारमा आएका अपुष्ट सुचना तथा हल्लाका पछि लागेर वा अरुले कमाएको देखेर लगानी गर्ने लगानीकर्ताले गुमाउने गरेको पनि देखिन्छ ।

दोस्रो बजारमा लगानी गर्दा आफुले लगानी गर्ने कम्पनीको विश्लेषण, यसअघि दिएको लाभांश इतिहास, शेयरमूल्यको उतारचढाव, भविष्यमा गर्नसक्ने प्रगति लगायतका विविध पक्षहरुको गहन अध्ययन तथा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ । हचुवा र हल्लाको भरमा गरिने लगानीबाट नोक्सानी पनि हुनसक्ने भएकाले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा निकै चनाखो भएर लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।