सर्वसाधारणलाई नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह, यसरी गर्न सकिन्छ नयाँ नोटको जतन

0
Shares

दशैँ, तिहार नेपाली हिन्दुधर्मालम्वीहरुको महान पर्व हुन् । दशैंलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म(नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन अर्थात दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका, आर्शीवाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । यहि दिनदेखि नै नेपालीहरुको महान पर्व वडा दशैँको शुभारम्भ हुन्छ । विजया दशमीका दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

दशैँको शुभारम्भ भएसँगै हरेक नेपालीको घर आगँनमा नयाँ नोट भित्रिन्छन् । दशैं नजिकिएसँगै नेपालीहरुको घर/परिवारमा नयाँ नोटको खोजी हुन थाल्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन छ ।

यही प्रचलनलाई मध्यनजर गर्दै हरेक वर्ष नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट निस्काशन गर्छ । सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्दि«य बैंकले यसपालीको दशैंलाई लक्षित गर्दै नयाँ नोटको वितरण कार्य शुरु गरि सकेको छ ।

दशैंमा पूजाआजा तथा दक्षिणामा नयाँ नोट प्रयोेग गरिन्छ । नोटमा अबिर लाग्दा, पानीमा चोबलिदा नोटको आयु थोरै हुन्छ ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको जतन गर्न आग्रह गरेको छ । केन्दि«य बैंकले नयाँ नोटको जनत कसरी गर्न सकिन्छ भनेर केही तरीका समेत दिएको छ ।

नोटमा केरमेट नगर्ने, नोटलाई मैलो पार्ने कुनै कुरा नगर्न समेत बैंकले आग्रह गरेको छ । कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गर्ने, नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयु समेत घट्ने हुँदा यस्ता कार्य नगर्न राष्ट्र बैंकले सुझाएको छ ।

धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत नपार्न बैंकले आग्रह गरेको छ ।
भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरु पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्न समेत बैंकले आग्रह गरेको छ ।

यसरी गर्न सकिन्छ नयाँ नोटको जतन

१.अबिर नलगाउने
२.नोटमा केरमेट नगर्ने
३.पानीमा नभिजाउने
४.नोटलाई खुम्चन नदिने
५. दक्षिणा दिदा खाममा राखेर दिने
६.नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने
७. नोटलाई कच्याक कुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने
८.नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने
९. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने
१०. आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने
११. बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसाल्ने

राष्ट्र बैंकले हरेक वर्ष जलाउँछ अर्बोको नोट

राष्ट्र बैंकले नयाँ नोट वितरण मात्रै होइन पुराना, झुत्रा नोट पनि जलाउँछ । बैंकले प्रतिवर्ष करिब ४०/४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।

पछिल्लो समय भने राष्ट्र बैंकले झुत्रा नोटलाई जलाउनुको सट्टा ब्रिकेट बनाएर बेच्न थालेको छ । जलाउँदा वातावरण प्रदूषण हुने भएकालाई त्यसलाई कम गर्न राष्ट्र बैंकले विदेशबाट उपकरण ल्याएर पुराना नोटको ब्रिकेट बनाउन थालेको हो ।

नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको हो । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।