दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ? कसरी आयो दक्षिणाको प्रचलन ?

0
Shares

नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने बित्तिकै राम्रो नाना, मीठो खाना,मान्यजनबाट आर्शिबाद र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो ।

नयाँ बेहुला–बेहुली,केटाकेटी,महिला र उमेर पाका भएकाहरुले दशैँमा दक्षिणा स्वरुप बढी पैसा आर्जन गर्दछन् । दशैंको दक्षिणा खर्च गर्न अनेक बाहानाहरु हुन्छन तर तपाईहरु मध्ये सबैको मन खर्चै गर्ने खालको नहुन पनि सक्छ । कतिपय अवस्थामा थोरै पैसाको सदुपयोग गरेर कसरी राम्रो ठाउँमा लगानी गर्ने भन्ने ज्ञान नहुँदा स्वत खर्च भएर त्यो रकम सकिन्छ ।

थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ । चाहना भएमा दशैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराको अनभिज्ञता तोड्न जरुरी छ ।

सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । जहाँ तपाईको दक्षिणाकोे सही सदुपयोग हुनसक्छ । दशैंमा जम्मा भएको दक्षिणा बैंक खाता सञ्चालन गरेर जम्मा गर्न पनि सकिन्छ । भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो ।

सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबनेपनि बिस्तारै जम्मा गर्दे गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ ।

त्यस्तै दशैंमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने पनि छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ । त्यसैले दशैंपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैंमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

यसका साथै दशैंमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ । यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रोसँग बुझ्न र अध्ययन गर्न भने जरुरी छ । सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सक्नुहुनेछ ।

दशैंपछि धेरै कम्पनीका आइपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैँको दक्षिणालाई त्यसैमा लगानी गर्नपनि सक्नुहुनेछ । शेयरमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैंमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ । त्यसैले फजुल खर्च घटाएर ससानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् ।

कसरी आयो दक्षिणाको प्रचलन ?

भारतवर्षको गुरुकुलमा विद्यार्थी जब पढ्न जान्थे त्यतिबेला उसको परिवारको सेवा गर्दथे अथवा यदि सम्पन्न परिवारका भए केही शुल्क दिएर विद्या प्राप्त गर्दथे । प्रायः दिनेवाला कम संख्यामा हुन्थे र अधिकांश सेवासुश्रूणबाटै विद्या प्राप्त गर्दथे । यस्ता विद्यार्थी आफ्नो शिक्षा समाप्त गरेर जब घर जाने समय आउँथ्यो तब गुरुको सम्मान र श्रद्धास्वरुप केही भेटी अर्पित गर्दथे जसलाई दक्षिणा भनिन्थ्यो । पछि पछि गुरुदक्षिणाको नजिर नै बन्यो र अत्यन्त गरिब विद्यार्थीपनि केही न केही दक्षिणा दिन थाले । दक्षिणालाई विद्यानमा आवश्यक रुपबाट वैद्य मानिएको छ । पढ्ने विद्यार्थीले स्वेच्छाले दिने द्रव्य, फल, पुष्प र मिष्ठान्न र दक्षिणासहित गुरुको पुजा गर्ने गर्दछन् । कालिदासले पनि कैत्सका गुरु वरतंतुलाई दक्षिणा दिएको कथा हामीले पढेका छौँ जुन कुरा रघुवंश, पण्चम्, २०–३० पेजमा छ ।

यो सँगै अर्को जान्नैपर्ने कुरा, दक्षिणा धार्मिक क्रियाकलापको सम्बन्धसँगपनि जोडिन्छ । यज्ञ बिना दक्षिणाको पूर्ण नहुने र उसका कुनै फल हुँदैन । यज्ञ पूर्ण भएपछि ब्राम्हण र पुरोहितलाई तुरुन्त दक्षिणा दिइन्छ र उसलाई कुनैपनि अवस्थामा बाँकी राखिँदैन । बाँकी राख्यो भने समयको अनुपातबाट बढ्दै जान्छ । दक्षिणा नदिने ब्रह्मस्वापहारी, अशुचि, दरिद्र, पातकी, व्याधियुक्त तथा अन्य अनेक कष्टबाट ग्रस्त हुन्छ । उसको लक्ष्मी हराउँछिन्, अधोगति मिल्नेछ भनेर ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा चर्चा गरिएको पाइन्छ ।

यज्ञको दक्षिणा नदिने राजा हरिश्चन्द्रलाई विश्वामित्रले दण्डित गरे, यो कथा पुराणमा, मार्क अध्यायको पाना ७–८ मा चर्चा गरिएको छ । यसैकारण आजपनि हाम्रो समाजमा धार्मिक कार्य, यज्ञ र सांस्करिक अवसरमा मुख्य पक्षको रुपमा राखिएको छ । दक्षिणा स्वर्ण, रजत, सिक्का, अन्न, वस्त्र आदिको रुपमा दिने गरिन्छ । यजमानको श्रद्धा तथा वित्तीय स्थितिनुसार थोर–बढी हुनसक्छ । दक्षिणाको सम्बन्ध धार्मिक भाव उत्पन्न गर्ने सिलसिलामा दक्षिणाको यज्ञ पुरुषबाट स्त्रीको रुप हुँदै देवकथाको विकासक्रम भएको ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा उल्लेख गरिएको छ ।

दक्षिणालाई पछिल्लो समय वस्तुवादी बनाइएपनि परम्परालाई निरन्तरता दिइरहनु पनि चाडको आफ्नै मौलिकता बाँकी रहनु भएको जानकारहरु बताउँछन् ।

दक्षिणाको उपयोग यसरी गरौँ !

चाडवाडमा दक्षिणा अब हाम्रो परम्परा नै भइसक्यो, न टार्न सक्छौँ न बिर्सन नै । यसकारण मान्यजन, ठूलावडाको आशिर्वादसँगै प्राप्त गरिने दक्षिणाको सहि उपयोगमा लगाउनु नै वुद्धिमानी हुने अभिभावकहरु बताउँछन् । तर, वर्तमान पुस्ताको सोच अलि उत्तरआधुनिक भएको हुनाले पनि दक्षिणाको बेप्रयोग बढेको उनीहरुको तर्क छ । बालबालिका तथा युवालाई कुरा बुझाउन सकेको खण्डमा सानो दक्षिणाले पनि भविश्यमा बचत बानीसँगै जुगाड गर्ने बानी बसाउन सकिने जानकारहरू बताउँछन् ।

हो पनि तपाईं रक्सी खाएर, तास–जुवा खेलेर दक्षिणाको बेप्रयोग गर्दैहुनुहुन्छ भने त्यो गलत छ । यसको उपयोगमा कुनै बैँकमा बचत, बीमा वा कुनै कम्पनीका शेयरमा सो रकम थपथाप गर्न सक्नुहुन्छ । पैसाको बचत बैँकमा, जीवनको बीमा जस्ता पछिल्लो समयमा अपरिहार्य बन्दै गएको क्षेत्रमा लगानी गर्न सकिन्छ । किनकी यी क्षेत्र भनेको तपाइँको पैसा वचतसँगै जुगाड गर्ने स्थानहरू हुन्, जहाँबाट दुःखको बेला साथी प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईंले मोजमस्त्तीमा मात्र रकम खर्च गर्दै हुनुहुन्छ भने त्यो गलत छ । बुद्दिमान बनी समयममै बचतको सोच जगाउनु पर्दछ । नत्र पछि पछुतो हुनेछ । तसर्थ, दक्षिणाको उपयोग फजुल खर्चमा भन्दापनि बचत गर्ने सोच राखेर मनाउन सके भोलीको जीवन सरल बन्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।