भर्चुअलबाट एसियन भैँसी सम्मेलन हुने, १७ देशका विज्ञले सात विधामा १३५ बढी कार्यपत्र प्रस्तुत गर्ने

0
Shares

दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ ।

भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगिता लगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् ।

दसौँं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए । चितवन आज आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो ।

अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ ।

वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । भैँसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवं उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिए ।

सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ ।

बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पु¥याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताए ।

सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाइ दिन यो सम्मेलन सफल हुने बताए। अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भैँसीलाई कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए ।

नेपालमा दुग्ध उत्पादनमा भैँसीको करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ । सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । यसका लागि भैँसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा करिब ५२ लाख भैँसीको सङ्ख्या रहेको तथ्याङ्क छ । स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसीपालन हुँदै आएका छन् । विश्वमा भएका भैँसीमध्ये ९२ प्रतिशत भैँसी एसियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ ।

नेपालमा पछिल्लो समय आयातीत हाइब्रिड जातका भैँसीपालनसमेत बढ्दो क्रममा रहेको अध्यक्ष देवकोटाले जानकारी दिए। दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैँसीलाई बहुउपयोगी जनावर मानिन्छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ कार्तिक २०७८, शनिबार  १५ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।