मुलुकको शोधनान्तर घाटा खर्ब नजिक, एक महिनामै साढे ४४ अर्ब बढ्यो

0
Shares

चालु आर्थिक वर्षको भदौ महिनासम्ममा मुलुकको शोधनान्तर स्थिति करिब एक खर्ब घाटामा पुग्न लागेको छ । रेमिट्यान्स आप्रवाहमा कमी तथा उच्च आयातका कारण शोधनान्तर घाटा क्रमिक रुपमा बढ्दै गएको हो ।

कोरोना भाइरसको खोप प्रयोग बढेसंगै आर्थिक गतिविधिमा भएको विस्तारले आयात बढाएपछि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा पुगेको थियो ।

चालु आवको दोस्रो महिना भदौमा पनि शोधनान्तर घाटा झनै बढेर ८३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्र्रो महिनासम्ममा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।

चालु आवको भदौसम्ममा चालु खाता १०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गतआवको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता चालु आवको भदौसम्ममा ९० करोड १५ लाखले घाटामा रहेको छ ।

चालु आवको भदौसम्ममा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई १ अर्ब २५ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी ,,सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड पुगेको छ । गत आवमो सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई .३१४ अर्ब ५२ करोड पुगेको छ । गत आवमा सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।