धितोपत्र बोर्डको अध्यक्ष पदका दाबेदार १२ पुगे, कसले मार्ला बाजी ?

0
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि एक महिला सहित १२ जनाले आवेदन दिएका छन् ।

बोर्डका अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बिहीबार कार्यालय समयसम्म १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसअघि बोर्डको कार्यकारी अध्यक्ष बन्नका लागि ८ जनाले दाबी प्रस्तुत गरेकोमा यो पटक एक दर्जन पुगेको हो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सीईओ, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि लगानीकर्ता सहित कुल १२ जनाको आवेदन परेको हो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, शेयर लगानीकर्ता तथा विश्लेषक डा. केशव प्रसाद श्रेष्ठ, लगानीकर्ता तथा विश्लेषक हेमन्त बस्याल, गैह्र आवासीय नेपाली रमेश हमाल, धितोेपत्र बोर्डको पूर्व कर्मचारी जीवन अमगाई र प्रभु बैंकको पूर्व सञ्चालक श्रीमति अम्बिका शर्मा लामिछानेको आवेदन परेको हो ।

यस्ता छन् अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारको नामावली:-

१. बोर्डका कार्यकारी निर्देशक निरज गिरि
२. बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी
३. कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य
४. नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट
५.नेप्सेको पूर्व सीईओ सिताराम थपलिया
६. बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई
७. शेयर लगानीकर्ता तथा विश्लेषक डा. केशव प्रसाद श्रेष्ठ
८. अनिल पौडेल
९. गैह्र आवासीय नेपाली रमेश हमाल
१०. धितोपत्र बोर्डको पूर्व कर्मचारी डा. जीवन अमगाई
११.प्रभु बैंकको पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने
१२.शेयर विश्लेषक तथा लगानीकर्ता हेमन्त बस्याल

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको थियो । धितोपत्र बोर्डको अध्यक्षका लागि नियुक्तिको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो ।

गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । समितिले अध्यक्ष नियुक्तिका लागि आवेदन दिएकामध्येबाट योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डको अध्यक्षका लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको कार्याअनुभव भएको लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने ब्यवस्था ऐनमा छ । अध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ तर तत्कालीन अध्यक्ष ढुंगानाले दुई वर्ष बोर्डअध्यक्षका रुपमा बिताइसकेकाले नयाँ बन्ने अध्यक्षको कार्यकाल करिब दुई वर्ष मात्र हुनेछ ।

कसले मार्ला बाजी ?

खुला प्रतिस्पर्धा मार्फत नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न दर्जन आवेदकले आवेदन दिएपछि अब नियुक्ति प्रक्रियामा निकै रस्साकस्सी हुने देखिएको छ । बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएसँगै यसका आकांक्षिहरु सत्ता सञ्चालक नेपाली कांग्रेस तथा साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का नेताका निकट व्यक्तिहरु परिचालन गरी लागिपरेका छन् ।

अध्यक्ष बन्न यसअघि सर्ट लिष्टमा परेर अध्यक्ष बन्न नसकेका गिरी र श्रेष्ठ देखि लिएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष निकट अनिल पौडल तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भट्टसम्मले उम्मेदवारी दिएका छन् । आवेदन दिएकामध्ये चार जनाले डाक्टर उपाधि हासिल गरेका छन् ।

मन्त्रालयले मागेर यो पटक बोर्ड अध्यक्षको लागि आवेदन दिएका बोर्डका कायममुकायम अध्यक्ष तथा कार्यकारी निर्देशक नीरज गिरी यस अघि अन्तिम तीन जनामा पुगेर बाहिरिएका थिए । उनलाई निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले पाखा लगाएका थिए। धितोपत्र बजारसँग जोडिएर दुई दशक बढी समय काम गरेको अनुभव बटुलेका उनीसँगै बोर्डमै उच्च तहमा कार्य गरेकालेपनि उनलाई अध्यक्षको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । बोर्डका कार्यकारी निर्देशक रहेका गिरी नेपाली कांग्रेसलाई रिझाएर अध्यक्ष बन्ने दाउमा रहेको स्रोत बताउँछ । उनलाई अध्यक्ष बनाउनका लागि कांग्रेसका केही नेताहरु लागेको बुझिएको छ ।

बोर्डमै उप कार्यकारी निर्देशक रहेका अर्का आकांक्षी डा. नवराज अधिकारी यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएर अन्तिम तीनमा पुग्नु अघि नै फालिएका थिए । यस पटक बोर्ड अध्यक्ष बन्ने दौडमा उनी कस्सिएर लागेका छन् । बोर्डमा लामो समय काम गरेको अनुभव बोकेका अधिकारीसँग राम्रो शैक्षिक योग्यता समेत छ । डा. अधिकारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ निकट छन् । बोर्ड सञ्चालक समितिको सचिव समेत रहेका डा. अधिकारी पार्टी अध्यक्ष पुष्पकमल दाहालको सहयोगमा बोर्ड अध्यक्ष बन्ने दाउमा रहेको बुझिएको छ ।

यसैगरी अध्यक्षका अर्का प्रतिस्पर्धी कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य नेकपा (एस) को कोटामा अध्यक्ष बन्ने दौडमा छन् । आचार्य नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री स्व. भरतमोहन अधिकारीका ज्वाँई हुन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का निवर्तमान अध्यक्ष हुन् ।

अध्यक्षका अर्का आकांक्षी हुन्, नेपाल राष्ट्र बैंकमा पूर्व कार्यकारी निर्देशक पदमा रहेर सेवा निवृत्त भएका गोपाल भट्ट । विगत ३० वर्षदेखि शिक्षण पेशामा आबद्ध उनले पूँजी बजारमै विद्यावारिधि समेत गरेका छन् ।

यसअघि बीमा समितिको अध्यक्ष भइसकेका नेकपा माओवादी केन्द्र निकट चिरञ्जीवी चापागाईं पनि बोर्ड अध्यक्षको दौडधुपमा रहेका छन् । चापागाईं माओवादी नेता कृष्णबहादुर महरा निकट मानिन्छन् । बीमा समिति आउनुअघि उनी नेपाल राष्ट्र बैंकमा कार्यरत थिए ।

नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीतारामा थपलिया पनि बोर्ड अध्यक्षको दौडमा उत्रिएका छन् । अघि पनि अध्यक्षको दौडमा उत्रिएपनि उनी सफल भएका थिएनन् । स्टक एक्सचेन्ज काम गरिसकेको अनुभव भएका कारण पूँजी बजारप्रति राम्रो ज्ञान भएका कारण पनि बोर्ड हाँक्ने क्षमता भएकाले यो पटक बोर्ड अध्यक्षको दौडमा लागेका हुन् । यस पटक भने उनले राम्रै तयारी गरिएको बुझिएको छ । उनीले आफूलाई प्रबल दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।

यस्तै यसअघि अन्तिम तीन जनामा पुगेर बाहिरिएका डा. केशव प्रसाद श्रेष्ठले अध्यक्षका बन्ने तयारीका साथ दोस्रो पटक आवेदन दिएका छन् । शेयर लगानीकर्ता तथा विश्लेषक उनीसँग पनि पूँजीबजार बारे राम्रो ज्ञान रहेको छ ।

बोर्ड अध्यक्षका प्रवल दाबेदारमा नयाँ अनुहारहरू पनि उत्तिकै आएका छन् । अध्यक्षका उम्मेदवारी दिएकामध्ये बलियो उम्मेद्वार मानिएका छन् अनिल पौडेल पनि । विदेशबाट पढेर आएका चितवन निवासी पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको आग्रहमा नै उम्मेदवारी दिएको बुझिएको छ । डा. पौडेल धितोपत्र बोर्डको अध्यक्षका लागि नियुक्तिको लागि अर्थ मन्त्रालयबाट गठित छनौट तथा सिफारिस समितिका तीन सदस्यमध्येका एक हुन् । छनौट समितिकान व्यक्ति निकट भएकाले चार्टड एकाउन्टेन्ट पौडेलालई पहुँचका आधारमा पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

यस्तै नयाँ अनुहारका गैह्र आवासीय नेपाली रमेश हमाल, धितोपत्र बोर्डको पूर्व कर्मचारी डा. जीवन अमगाई, प्रभु बैंककी पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने र शेयर विश्लेषक तथा लगानीकर्ता हेमन्त बस्यालले पनि आ आफ्नो तर्फबाट अध्यक्ष पदका लागि कम्मर कसेर लागेका छन् ।

शैक्षिक योग्यता र आर्थिक क्षेत्रको अनुभवका हिसाबले नयाँ उम्मेदवारहरु सबैभन्दा बलियो उम्मेद्वार मानिएका छन् । तर अध्यक्ष पदमा राजनीतिक नियुक्ति हुने भएकाले सरकारले विश्वास गरेको व्यक्ति नियुक्त हुने निश्चित छ । यसपटक गठबन्धनमा सरकार निमार्ण भएकोले बोर्ड अध्यक्ष बन्न योग्यता र क्षमता मात्र भएर नपुग्ने देखिएको छ । बोर्ड अध्यक्षको पद पनि राजनैतिक भागबण्डाका आधारमा निर्धारण हुने हुँदा कुन राजनीतिक पार्टीको कोटामा पर्ने भन्ने विषयले पनि अध्यक्ष नियुक्ति विषय टुङ्गो लाग्नेछ ।

यसका साथै विगतदेखि नै अध्यक्ष बन्नका लागि ठूलै आर्थिक चलखेल हुने गरेको समेत बताइन्छ । आर्थिक रुपमा मोटो रकम बुझाउनसक्ने व्यक्ति मात्र बोर्डको अध्यक्ष बन्ने नभई राजनैतिक पहुँच, योग्यताका साथै धितोपत्र बजारको ज्ञान पनि त्यस अनुसार नै हुन आवश्यक हुन्छ ।

सरकारको नेतृत्व कांग्रेसले गरिरहेकाले बोर्ड अध्यक्ष पनि सो पार्टी निकट व्यक्तिले नै पाउने सम्भावना ज्यादा देखिन्छ । यसअनुसार प्रधानमन्त्रीको जोडबलमा नै बाँकी कार्यकालका लागि अध्यक्ष नियुक्त हुने अवस्था देखिएको छ । गठबन्धन सरकार रहेकाले बालुवाटारको आशिर्वाद प्राप्त व्यक्ति अध्यक्ष बन्न नसके माओवादी केन्द्र पार्टीबाट अर्थमन्त्री जनार्दन शर्मा रहेकाले माकेले अध्यक्ष पाउनेछ । माकेले बोर्ड अध्यक्ष पाएको खण्डमा सो निकटका उम्मेदवारले बोर्ड अध्यक्ष पाउनेछ । त्यताबाट अध्यक्ष चयन हुने कुरामा सहमति हुन नसके वा भागबण्डा नमिले नेकपा (एकीकृत समाजवादी) पक्षधरले पाउनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।