शेयर बजारमा गलत अभ्यास हाबी हुँदा नेप्सेको वृद्धि विश्वभरकै उच्च, मुकदर्शक धितोपत्र बोर्ड

0
Shares

कोरोना महामारीले आर्थिक गतिविधि ठप्प भएपनि धितोपत्र बजार सूचक भने १५५ प्रतिशतसम्मले बढेर एतिहासिक उचाईमा पुग्यो । धितोपत्र बोर्डको कमजोरीका कारण सट्टेबाजी, भित्री कारोबार, सर्ट सेल, कर्नरिङ लगायत कानुन विपरितका गतिविधि हाबी हुँदा नेपालको शेयर बजार सूचक विश्वकै उच्च सुधार हुनेमा परेको हो ।

कोरोना भाइरसका कारण अन्य आर्थिक क्षेत्र ठप्प भएपछि सबैको नजर शेयर बजारमा पर्यो । अर्थतन्त्रका अधिकांस क्षेत्रको लगानी शेयर बजारमा भित्रिएसंगै धितोपत्र बोर्डको कमजोरीले गर्दा गलत अभ्यासहरु पनि हाबी हुँदै गए । त्यसको नतिजामा नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५५.५९ प्रतिशतले बढ्न पुग्यो।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते देखि लकडाउनको घोषण गरेसंगै शेयर बजार पनि बन्द भयो । २०७६ चैत १० गते नेप्से सूचक १२५१.४५ अंकमा रहेको थियो । त्यसपछि २०७७ बैंशाख ३० र ३१ गते खुलेको शेयर बजार सूचक करिब ५० अंकले घटेर १२०१.५७ अंकमा झरेको थियो । बैंशाख महिनामा २ दिन कारोबार भएसंगै शेयर कारोबार पुनः बन्द भएको थियो । त्यसपछि २०७७ असार १५ गते खुलेको शेयर बजारमा नेप्से सूचक करिब १३ अंकले घटेर ११८८.७० सम्म झरेको थियो ।

२०७७ असार १५ गते नेप्से सूचकमा गिरावट आएपछि त्यसपछि निरन्तर सुधारको गतिमा रह्यो । नेप्सेको सुधारको क्रमले एकपछि अर्को गर्दै नयाँ उचाई बनाउदै गयो । कोरोना महामारी विरुद्धको खोप प्रयोगमा आउन थालेसंगै नेप्से सूचक २०७८ भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८.६ अंकमा पुग्यो ।

यो अवधिमा धितोपत्र बजारमा अनेक हल्ला, सट्टेवाजी, कर्नरिङ, सर्टसेल, कृत्रिम कारोबार लगायतका विभिन्न गलत अभ्यासहरु हाबी भए । बजारको स्थायित्वमा असर गर्ने तथा कानुन विपरितका कामहरु हुदाँ पनि धितोपत्र बोर्डले नदेखे जस्तो मात्र गरेन । उल्टै धितोपत्रको मूल्यमा असर गर्ने विज्ञप्तिबाजी समेत गर्यो । तर, अन्तराष्ट्रिय बजारका नियामकहरुको भुमिका हेर्दा धितोपत्र बोर्ड आफै त्यस्ता गतिविधिलाई प्रोत्साहन गरेको देखिन्छ ।

कोरोना महामारी विश्वभरका शेयर बजार सूचकहरुले नयाँ उचाई बनाएका छन् । अन्तराष्ट्रिय बजार नियामकले बजारको आकार तथा अवस्था अनुसार नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाएको देखिन्छ । त्यती मात्र नभई धितोपत्र बजार प्रति लगानीकर्ताको विश्वास कमजोर हुन नदिने गरी नीति निर्माण तथा कार्यन्वयन गरेको देखिन्छ । महामारीको अवधिमा विश्वका सबै जसो शेयर बजारले नयाँ उचाई बनाउदै गर्दा सम्बन्धित देशका नियामकहरुले पनि सोही अनुसार बजारमा हुन सक्ने गलत अभ्यासलाई नियन्त्रण गर्ने प्रयास पनि गरेको देखिन्छ । तर, नेपालको सन्दर्भमा धितोपत्र बजार सूचक एकोहोरो बढी रह्यो । यस्तो अवस्थामा पनि धितोपत्र बोर्डले बजारमा भएका र हुन सक्ने गलत अभ्यासलाई नियन्त्रण गर्नु पर्नेमा बोर्डका उच्च अधिकारी नै सहभागी भएर कानुन विपरितका गतिविधिमा सहभागी भएको अवस्था छ ।

अन्तराष्ट्रिय धितोपत्र बजारका नियामकले लगानीकर्ताको विश्वास कमजोर हुन नदिनका लागि बजारमा आएका हल्लाहरुको समेत सत्यता जाँच गर्ने गरेको एक विश्लेषकले बताए । “कोरोनाको अवधिमा भारत तथा अमेरिकाका धितोपत्र बजारमा पनि गलत अभ्यासको प्रयास नभएका होइनन,” ती विश्लेषकले भने,“कोरोना महामारीको अवधिमा शेयर बजारका नियामकले बजारमा हुने कर्नरीङ, भित्री कारोबार, सुचिकृत कम्पनीको डिस्क्लोजर लगायतका विषयमा अनुसन्धान गरी कारबाही गरेको अवस्था छ ।” नेपालको सन्दर्भमा कुरा गर्दा धितोपत्र बोर्डका उच्च अधिकारीले नै शेयर मुल्य प्रभावित हुने गरी विज्ञप्तिबाँजी गरेको उनको गुनासो छ । बजारको अवस्था अनुसार नियामकले नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा बजारमा भएका गलत अभ्यासलाई देखेर पनि नदेखे जस्तो गर्नुले लगानीकर्ताको अभिभावकको रुपमा धितोपत्र बोर्ड नदेखिएको उनको आरोप छ ।

कोरोनाको अवधिमा उद्योगी, ब्यापारी, कर्मचारी, गृहणी तथा विद्यार्थी सबै घर भित्रै सिमित हुँदा सबैले शेयर बजारमा चासो देखाएर लगानी गरेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । “कोरोनाका कारण धितोपत्र बजार प्रविधिमैत्री पनि भयो” उनले भने,“प्रविधिको कारणले सबै घरभित्र भएपनि शेयर बजारमा कारोबार गर्न सकिने भएपछि बजार बढेको हो ।” त्यो अवधिमा शेयर लगानीकर्ताले सहज रुपमा कर्जा पाएपछि त्यो पैसा शेयर बजारमा लगानी भएकाले पनि बजार बढ्नमा मद्दत पुगेको उनको बुझाई छ । सरकारले शेयर बजारबाट अर्बौ कर असुल गरेको गर्दै आएको भएपनि नियामक निकायले गर्नु पर्ने काम सुन्य सरह नै रहेको ढकालको भनाई छ ।

धितोपत्र बोर्डका उच्च अधिकारी आफै गलत अभ्यासको कारोबारका संलग्न भएको अरोपमा बराखास्तीमा परेका बताउँदै ढकालले भने,“शेयर बजारमा हुने इन्साइडर कारोबार, कर्नरिङ, कृत्रिम कारोबार, गलत सुचना फैलाएर शेयर मूल्यलाई प्रभावित बनाउने जस्ता गलत अभ्यासमा कसले कारबाही गर्ने ?” बजारका गलत अभ्यासमा धितोपत्र बोर्ड आफै संलग्न भएपछि लगानीकर्ताले नियामकबाट गर्ने आशा केही नहुने उनले बताए । धितोपत्र बोर्डले ५१ कम्पनीको सुची सार्वजनिक गरेर शेयर मूुल्यमा अनावश्यक उतारचढाव गराउने काम भयो । नियामक निकायले गरेको यस्तो अभ्यासले शेयर लगानीकर्ताको मनोबल उच्च हुने अवस्था नै नरहेको उनको अनुभव छ । नियामक निकायले लगानीकर्ताको हितका लागि काम गर्नु पर्नेमा त्यस्तो गरेको नदेखिएको उनले बताए ।

कोरोना अवधिमा नेपालका मात्र नभै विश्वभरका शेयर बजारले नयाँ उचाई बनाएको अवस्था छ । तर, यो अवधिमा बजारमा हुने गरेका गलत अभ्यासलाइ नियन्त्रण गरी लगानीकर्ताको मनोवल बढाउनमा भारतको सेबी, अमेरिकाको सेक्यूरिटिज एक्सचेन्ज कमिसन, चीनको चाइना सेक्यूरिटिज रेगुलेटरी कमिसन, बंगलादेशको बंगलादेश सेक्यूरिटिज एण्ड एक्सचेन्ज कमिसन लगायतले बजारका गतल अभ्यासलाई नियन्त्रण गर्न विभिन्न कदमहरु चालेको देखिन्छ । विश्व अधिकासं शेयर बजारका नियामक निकायले बजारमा हुने गलत अभ्यासलाई नियन्त्रण गर्न आवश्यक काम कारबाही गरेको देखिन्छ । ती नियामहरुले त बजारका हल्लाहरुलाइ समेत सत्य हो होइन भनी पुष्टि गरी लगानीकर्तालाई सचेत समेत गराएको देखिन्छ ।

कोरोना महामारीको अवधिमा विश्वका अधिकासं शेयर बजार सूचकले नयाँ उचाई बनाएका छन् । विश्वका केही मूख्य धितोपत्र बजार सूचकहरु सन २०२० को मार्च महिनापछिको सुधारमा बनेको उच्च र सोही महिनाको सुरुवातमा कायम रहेको सूचकको तुलना गरिएको छ । यसका आधारमा अमेरिकाको डाउजोन्स ८८.१७, अमेरिकाकै एनवाइएसी कम्पोजिट ८८.७८, चीनको एसएसइ इण्डेक्स ३४.८७ प्रतिशतले बढेका छन् । त्यसैगरी भारतको विएसइ सेनसेक्स १३५, भारतकै एनएइ निफ्टी १२६ तथा जापानको निक्कि ८४ प्रतिशत सम्मले बढेका छन् । कोरोना अवधिमा बनाएको उच्च अंकका आधारमा बंगलादेशको डिएसइएस इण्डेक्स ८६, पाकिस्तानको केएसइ ७८ र नेपालको नेप्से परिसूचक १५५ प्रतिशतले बढेको छ । यसरी हेर्दा पनि नेप्से सूचक अन्य देशकको तुलनामा उच्च दरमा बढेको देखिन्छ । तर, अन्य देशको तुलनमा बजारको स्थायीत्व तथा नियामकको सक्रियता नभएको हुँदा लगानीकर्ताले प्रयाप्त अध्ययन तथा विश्लोषण गरेर लगानी गर्नुपर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।