खराब समाचारले उकासेको शेयर बजारको वृद्धि टिकेन, लगानीकर्ता एकताको प्रभाव न्यून

0
Shares

पछिल्ला दुई दिनमा शेयर बजारमा उच्च अंकको उतार-चढाव देखा परेको छ । लगातार ओरालो लागि रहेको शेयर बजार सोमबार एकाएक उच्च अंकले बढेपनि मंगलबार पुन: ओरालो लागेको छ । 

सोमबार बजार खुलेपछि निरन्तर ओरालो लागेको शेयर बजारमा ७३ अंकसम्म गिरावट आएको थियो ।

बजार चल्दै गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओम्रिकोन नेपालमा भित्रिएको खबर सार्वजनिक भएपछि बजारमा एकाएक खरिदको क्रम बढ्दा ७३ अंकसम्म झरेको बजार बन्द हुने समयसम्म आइपुग्दा ३२ अंकले सुधारिएको थियो ।

गएका वर्षहरुमा लकडाउनको समयमा शेयर कारोबार तथा सूचक ऐतिहासिक उचाईमा पुगेको अवस्थाको आंकलन गर्दै नयाँ भेरियन्टको प्रवेशपछि फेरि पनि लकडाउन हुने र पहिलाको जस्तै अन्यत्रको लगानी शेयर बजारमा आउने र बजार बढ्ने प्रकारका हल्लाहरु सामाजिक सञ्जालमा छरप्रष्ट भएपछि सोमबारको बजार बढेको थियो । खराब समाचार र हल्लाको भरमा सोमबारको बजारले सकारात्मक लय समातेको भएपनि मंगलबारको बजार भने करेक्शनको बाटोमा पुगेको छ । बढेको मौका छोपेर लगानीकर्ताहरुले आफुसँगै भएको स्टक क्लियर गर्न थालेपछि बजार ओरालो लागेको हो ।

मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ बिन्दुमा झरेको छ। यसदिन ३ अर्ब १२ करोड ८३ लाख रूपैयाँ शेयर किनबेच भयो । मंगलबार प्राइम बैंकको सर्वाधिक १२ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसदिन व्यापार र सामूहिक लगानी कोषबाहेक सबै उपसूचक ओरालो लागेका छन्। सिटिजन्स म्युचुअल फण्ड २ र लक्ष्मी म्युचुअल फण्डको इकाई मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ। आईसीएफसी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ

शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्न शेयर लगानीकर्ताहरु एकजुट हुँदा बजारमा सकारात्मक सन्देश गएपनि शेयर बजारको गिरावट भने थामिएन । शेयर बजार जारमा देखिएको गम्भिर समस्याहरु समाधान गर्न पहल गर्ने भन्दै मंसिर २० गते लगानीकर्ताहरुले एक कार्यादल गठन गरेका थिए ।

कार्यदलले शेयर दलाल मार्फत मार्जिन ट्र्रेडिड कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सीमा हटाइनुपर्ने, लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै पूँजी बजार विकास र विस्तारका लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने, बजार सम्बन्धी नीति नियम, पूर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म सम्पूर्ण संघ संस्था र लगानीकर्ताहरु एकताबद्ध र सामूहिक ढंगले लागिरहने प्रतिबद्धता लगानीकर्ताले गरेका छन् ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।