कर्मचारी सञ्चय कोषको आकार ३४ अर्बले बढ्यो, नाफा १९ करोड घट्यो

0
Shares

कर्मचारी सञ्चय कोषको आकार गत आर्थिक बर्षको अन्त्य अर्थात २०७६ असार मसान्त सम्ममा कुल ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा एघार प्रतिशत बढी हो।

कोषले सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुबाट हालसम्म उक्त रकम संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १२ अर्ब रुपैयाँ रेहेको कोषमा गएको आर्थिक बर्षमा ३४ अर्ब रुपैयाँ थपिएको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए ।

कोषमा जम्म भएको कुल रकममध्ये ३ खर्ब ३८ अर्ब ६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह भएको छ। जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, बैंक मुद्दती निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत रहेको छ। कोषले सञ्चयकर्तालाई मात्र १ खर्ब ८० अर्ब रुपैयाँ सापटी दिएको छ ।

कोषले गत आर्थिक वर्ष २०७५/०७६ मा २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको कर्मचारी सञ्चय कोषले यस अवधिमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको भन्दा गतवर्ष कोषको नाफा १९ करोड रुपैयाँले घटेको हो ।

खुद मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिने कोषले जनाएको छ। कोषमा ६ लाख सञ्चयकर्ता रहेका छन्। 

कर्मचारी सञ्चय कोषले मंगलबार नै योगदानमा आधारित पेन्सन व्यवस्थापन प्रणाली पनि औपचारिक रुपमा सुरुवात भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रणालीको उद्घाटन गरेका हुन्।