कोभिड बढेपछि पशुपतिनाथ र मनकामना मन्दिर दर्शनार्थीका लागि बन्द

0
Shares

नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।

पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले बताए ।

अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायक लगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ ।

विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।

देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले भने, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”

माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए । बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ । “शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बारबाट मात्र पूजाआजा गर्न पाउनेछन्”, उनले भने, “मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।”

मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  १८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।