लाभांशको सिजनमा पनि शेयर कारोबारमा आउन सकेन सुधार, यसकारण बिक्रीमा चाप

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्दै धमाधम साधारण सभा बोलाउने क्रम चलिरहदा शेयर बजारको चमक भने हराउँदै गएको छ । लाभांशकै सिजनमा शेयर बजारको चमक हराएपछि कारोबारमा शिथिलता देखिन थालको छ।

हालसम्म नेप्सेमा सूचीकृत पाँच दर्जन बढी कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकका छन् । जसमध्ये धेरैजसो कम्पनीले साधारण सभा समेत आह्वान गरिसकेका छन् । तर, शेयर लगानीकर्ताहरुमा विगतका बर्षहरुका जस्तो शेयर किन्ने जागर भने देखिएको छैन्।

केहि साता यता बजारमा देखिएको तीब्र उतारचढाबले लगानीकर्तामा झन अन्योलता पैदा गरेको छ । नयाँ लगानीकर्ता बजार प्रवेश गर्ने आँट गर्न सकेका छैनन् भने पुराना लगानीकर्ताहरु लगानी बढाउने मुडमा पुगेका छैनन् । वित्तीय बजारमा लगानी योग्य रकमको अभाव हुने प्रक्षेपणहरु बाहिर आईरहदा शेयर लगानीकर्ताहरुको मनोबल कमजोर हुन पुगेको छ ।

दशैं नजिकिदै गर्दा कतिपय लगानीकर्ता दशैं खर्चको जोहो गर्न पनि शेयर बिक्रीमा लागेका छन् । यसले पनि बजारमा बिक्रीको चाप परेको लगानीकर्ताहरु नै बताउँछन् । जसले गर्दा कारोबार समेत बढ्न सकेको छैन । बजार घट्दै जाँदा मार्जिन कलको त्रास बढेको छ नै फेरि पहिलो त्रैमासको किस्ताले पनि लगानीकर्तालाई सताएको छ ।

बजारमा छोटो समयमा नाफा कमाउने लगानीकर्ता सक्रिय रहँदा बजारले केहि गति त पाएको छ । तर यस्ता गतिविधिले तीब्र उतारचढाब हुने गरेको छ । कम्पनीहरुका आधारभूत पक्ष सबल भएपनि भाषणवाजी र बजारका खबरहरुबाट अधिकांस लगानीकर्ताले लगानीको निर्णय लिने हु्ँदा पनि यस्ता गतिविधि नहुँदा बजार अस्थिर जस्तो देखिएको छ ।

कम्पनीहरुले तुलनात्मक रुपमा अपेक्षित लाभांश घोषणा गरेपनि लगानीकर्ता आर्कषित हुन नसक्नु बजारका लागि घाताक सावित भइरहेको छ । बजारका अधैर्य लगानीकर्ताको आत्मबल बलियो बनाउन सरकारले प्रत्यक्ष लाभ पाउने राहात प्याकेज दिनुपर्ने अवस्था समेत देखिन्छ ।

नेप्से सूचक मंगलबार ६.४२ अंकले घटेर ११३४.५६ विन्दुमा झरेको छ । १७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता किनबेच भएको बजारमा २१ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएका मध्ये ३ समूहका सूचक बढेका छन् अरु सबै घटेका छन् । होटेल समूह सबैभन्दा बढी १३.४८ अंकले बढेको छ । वाणिज्य बैंक समूह भने ४.१७ अंकले तल झरेको छ ।

मंगलबारको बजारमा सबैभन्दा बढी सानिमा बैंकको तीन करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। खानी खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.२७ प्रतिशतले घटेको छ ।