अमेरिकी राष्ट्रपति वाइडेन किन ‘स्टक बाइब्याक’ बन्द गर्न चाहन्छन् ?

0
Shares

सामान्य भाषामा स्टक बाइब्याक भन्नाले कुनै पनि कम्पनीले आफ्नै सेयर किन्ने भन्ने बुझिन्छ । यसै सन्दर्भमा सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको आर्थिक वर्ष २०२२/२३ को बजेट भाषणमा उनले स्टक बाइब्याक बन्द गर्ने योजना अघि सारेका छन् । अमेरिकाको आर्थिक वर्ष २०२२/२३ को कुल बजेट ५० खर्ब ८० अर्ब डलर रहेको छ ।

अमेरिकामा कर्पोरेट क्षेत्रको कुल ९० प्रतिशत सेयर १० प्रतिशत धनाढ्य व्यक्तिहरुको नियन्त्रणमा रहेको छ । यसै प्रवृत्तिलाई रोक्न बाइडेनले स्टक बाइब्याक बन्द गर्ने योजना बनाएका छन् । धनाढ्य व्यक्तिहरुले आफुलाई मनलाग्दो रुपमा कम्पनीको सेयर किनेर होल्ड गर्ने र बेच्ने हुँदा कर्पोरेट क्षेत्रबाट आउने फाइदा अर्थतन्त्रमा नगई धनाढ्य व्यक्तिहरुको गोजीमा तथा कम्पनीमा जाने भएकाले, उक्त प्रक्रिया रोक्न बाइडेनले यो योजना प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ।

गत वर्ष एसएन्डपी ५०० सेयर सूचांकले ८ खर्ब अमेरिकी डलर बराबरको कम्पनीहरुले सेयर बाइब्याक गरेको तथ्यांक निकालेको थियो । यो तथ्यांक बढ्दो क्रममा रहेको छ । गोल्डम्यान स्याचले प्रकाशन गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२२ मा स्टक बाइब्याकको आकार १० खर्ब अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ ।

बाइडेनले अघि सारेको प्रस्तावित योजना अनुसार कम्पनीका व्यवस्थापन प्रमुखहरुले केही वर्षको लागि स्टक होल्ड गरेर राख्नुपर्ने र केही वर्षपछि बाइब्याकलाई योजनाबद्ध रुपमा सञ्चालन गर्नपर्ने उल्लेख गरिएको छ । ह्वाइट हाउसले कति वर्षसम्म होल्ड गर्नुपर्ने बारेमा केही पनि बताएको छैन । यसका साथै बाइडेनले कर्पोरेट बाइब्याकमा एक प्रतिशत कर लगाउने नीति ल्याएका छन्।

बाइडनको यो नीतिको चर्को आलोचनाका साथै सराहना पनि भइरहेको छ । आलोचकहरुले बाइब्याक बन्द गर्दा कम्पनीहरुको सेयरको तरलता नहुने तथा सेयर मूल्यमा कमी आउने बताएका छन् । कम्पनीका व्यवस्थापकहरुले पहिला स्टक बिक्री गर्ने र बाइब्याक घोषणा भएपछि धनाढ्य व्यक्तिहरुले सेयर किन्ने र होल्ड गर्दा कम्पनीबाट आउने नाफा ती धनाढ्यमा केन्द्रित भएको बाइडेनको प्रशासनले जानकारी दिएको छ ।

स्टक बाइब्याकले स्टकको मूल्यमा चलखेल गर्ने र कम्पनीको विकास तथा प्रवद्र्धनमा समेत उतारचढाव आउने हुनाले यो प्रस्ताव अघि सारेको बताइएको छ । बाइब्याक प्रवृत्ति बन्द गर्दा स्टकको मूल्यमा चलखेल नहुने र कम्पनी व्यवस्थापक तथा सेयरधनी, कर्मचारी र समग्र देशको अर्थतन्त्रमै दीर्घकालीन हितमा काम हुने ह्वाइट हाउसले जनाएको छ ।

कर्पोरेट बाइब्याक सेयर बजार संरचनाको महत्वपूर्ण अङ्ग रहेको र बजारमा तरलता विकासको अत्यावश्यक पाटो रहेको अमेरिकी टे«ड तथा एसेट व्यवस्थापन कम्पनी डीडब्लुएसका प्रमुख जोर्ज क्याटरमबोनले बताएका छन् । उनले बाइव्याकले कम्पनीको सेयर अरुले नियन्त्रण नगरी आफ्नै सेयर सदस्यहरुले नियन्त्रण गर्न र कार्यकारी प्रमुखले सेयर अन्डर भ्यालु भएको जस्तो अनुभव गरेको बेला सेयरको भ्यालु बढाउन सहयोग गर्ने पनि बताएका छन् ।

यसै सम्बन्धमा एक्याडेमिक इन्डस्ट्रि रिसर्च नेटवर्कका अध्यक्षले बाइव्याक योजना लागु भएपनि यसले बाइव्याक गर्नु पछाडिको कारण समाधान नगर्ने बताएका छन् । हेज फन्डका कार्यकर्ताले कम्पनी प्रमुखहरुमा दबाव सिर्जना हुँदा बाइव्याकको सङ्ख्या बढ्दै गरेको म्यासाचुसेट्स विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गराइरहेका प्रध्यापक लाजोनिकले बताएका छन् । कार्ल इकान, डेनियल लोएभ, पल सिङगर, वारेन बफेट जस्ता धनाढ्यहरुलाई कम्पनीको खासै मतलब नभएको तर उनीहरुले कम्पनीको सेयर होल्ड गरेर बसिदिनाले कम्पनीहरुमा बाइब्याकको दवाब सिर्जना गरेको र यसैकारण उनीहरुले सेयरहोल्ड गरेर नै उनीहरुले उल्लेख्य रुपमा पैसा कमाइरहेको लाजोनिकले बताएका छन् ।

मार्च महिनामा अमेजनले १० अर्ब डलर बराबरको बाइव्याक घोषणा गरेको थियो । उक्त घोषणा अमेजनले डेनियल लोएभको प्रभावमा आएर गरेको अनुमान गरिएको छ । सन् २०२१ को अन्त्य सम्म डेनियलले अमेजनमा ७० करोड ८४ लाख डलर बराबरको सेयर होल्ड गरेका थिए ।

यसैगरी सन् २०१४ मा एप्पलको ०.९ प्रतिशत अर्थात ५ अर्ब ३० करोड डलर बराबरको सेयर होल्ड गरेका कार्ल इकान कै दवाबमा कम्पनीले बाइव्याक गरेको थियो । लाजोनिकले कम्पनीका सीइओहरु लगानीकर्ताको दबावमा रहने गरेको बताएका छन् । वर्तमान परिप्रेक्षमा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च रहेको छ । यस अवस्थामा कम्पनीहरुले बाइव्याक गरेर लगानीकर्ताहरुलाई सेयर फिर्ता दिँदा समस्या आउन सक्ने उनको भनाइ रहेको छ । बाइव्याक गर्ने कम्पनीहरुमा एप्पल, ओराकल, माइक्रोसफ्ट, एक्जनमोविल रहेका छन् ।

अहिले रुस–युक्रेन युद्धले गर्दा अन्तराष्ट्रिय बजारमा कच्चा तेल तथा प्राकृतिक ग्यासको मूल्य बढेको छ । रुसी तेललाई पश्चिमा देशहरुमा बहिस्कार गर्दा अमेरिकी ग्यास कम्पनी एक्जोनमोबिलले सात वर्ष यताकै उच्च नाफा कमाउन सफल भएको छ । नाफा घोषणा गरको अर्को दिनमा नै कम्पनीले सेयर बाइव्याक गरेको छ। रेमन्ड जेम्सका विश्लेषकले आजभोलि तेल तथा ग्यास उत्पादक कम्पनीहरुले इन्धन तथा ग्यासको उत्खन्न गर्न छाडेका छन् । उनीहरु ड्रिल बेबी ड्रिलको अवधारणा नअपनाई सेयर बाइव्याक तिर लागेको बताएका छन् । तेल तथा ग्यास कम्पनीहरुमा लगानीकर्ताहरुबाट धेरै लाभांश बाढ्नु पर्ने दबावका कारण पनि यी कम्पनीहरु बाइव्याकमा गएको उनले बताएका छन् । यसरी कम्पनी सञ्चालन गर्ने रणनीति पहिलेको जस्तो नरहेको र समयसँगै परिवर्तन आएको उनले बताएका छन् । एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।