कोभिडका कारण प्रभावित आपूर्ति श्रृङखलामा स्थिरता कायम गर्दै चीन

0
Shares

कोभिड–१९ ले प्रभावित पारेको आपूर्ति श्रृङखलामा चीनले स्थानीय सरकारसँग मिलेर स्थिरता कायम गर्ने भएको छ । कोभिडका कारण प्रभावित भएका कम्पनीहरु स्थानीय सरकारको सहकार्यमा सुचारु गर्ने चिनियाँ उप–प्रधानमन्त्री लिउ हिले बताएका छन् ।

बढ्दो कोभिड–१९ संक्रमणका कारण चीनको रसद श्रृङखलामा अवरोध भएको छ । यसैगरी विभिन्न बन्दरगाह, राजमार्ग तथा हजारौँको सङ्ख्यामा फ्याक्ट्रीहरु बन्द भएका छन् । चीनमा भएको लकडाउनको कारण विश्व आपूर्ति श्रृङखला नै अवरुद्ध भएको छ ।

यसै समस्यालाई मध्यनजर गरी यातायातलाई सहज बनाउन सम्बन्धित निकायले काम गरिरहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

एक पछि अर्को गर्दै कोभिड–१९ले प्रभाव पारेको क्षेत्रका समस्या समाधान गर्ने र महामारीबाट अति प्रभावित भएका उद्योग, कलकारखानाहरुलाई सरकारले सहयोग गर्ने उपप्रधानमन्त्री लिउले जानकारी दिएका छन् ।

यसै सन्दर्भमा चिनियाँ उद्योग, सूचना तथा प्रविधि मन्त्रालयले साङघाइमा रहेका सेमीकन्डक्टर, अटोमोबाइल तथा चिकित्सा क्षेत्रका ६ सय ६६ वटा कम्पनीहरुको सूचीकरण गरेको छ । मन्त्रालयले सूचीकरण गरिएका कम्पनीहरुसँग काम गर्ने बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।