इन्धन आयातको परिमाण २४% सम्मले वृद्धि हुँदा भुक्तानी डेढ खर्बले बढ्यो

0
Shares

गत आर्थिक वर्षमा इन्धन आयातको परिमाण भन्दा पनि भूक्तानी रकमको वृद्धि डरलाग्दो देखिएको छ । अघिल्लो आवको तुलनामा डिजेल, पेट्रोल र ग्यासको आयातमा २४ प्रतिशतसम्मले वृद्धि हुँदा भुक्तानी रकम भने ८० देखि १२० प्रतिशतसम्मले बढेको हो ।

नेपालमा उपभोग हुने सम्पुर्ण इन्धन आयात गर्नुपर्छ । नेपालको अन्तराष्ट्रिय ब्यापारमा आयातको सबैभन्दा ठूलो हिस्सा पनि इन्धनको नै छ । गत आर्थिक वर्षमा नेपालको कुल आयात रकमको १५.९ प्रतिशत हिस्सा डिजेल, पेट्रोल र ग्यासको रहेको छ । गत आवको कुल १९ खर्ब २० अर्ब रुपैयाँ बरावरको बस्तु आयात भएको छ ।

अघिल्लो आवको तुलनामा इन्धन आयातको परिणाम सामान्य बढेको छ । भूक्तानी रकममा आएको वृद्धि १ खर्ब ४४ अर्ब ६१ करोड रुपैयाँले बढेको छ । अघिल्लो आवमा कोरोना महामारीका कारण इन्धनको खपतमा केही कमी अएको आयल निगमका एक अधिकारीले जानकारी दिए । “रुस र यृुक्रेनको युद्धका कारण इन्धनको मूल्यमा आएको अस्वभाविक वृद्धिका कारण भुक्तानी रकममा उल्लेख्य बढेको हो,” उनले भने,“पेट्रोलको आयात र खपत नै अन्यको तुलनामा बढेको छ, पेट्रोलियम गाडीहरुको आयात बढेको हुनाले पनि गत आवमा पेट्रोलको खपत बढेको हो ।”

गाडी तथा इन्धनको आयातका लागि दिनुपर्ने ठुलो भुक्तानीका कारण देशको बाह्य आर्थिक स्थीतीमा दवाव परेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउदा पनि बाह्य स्थीतीलाई सन्तुलनमा राख्न केन्द्रित छ । सरकारले पनि पेट्रोलियम पदार्थको खपत घटाउन आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि त्यसबाट पछि हटेको छ । पछिल्लो समयमा बाह्य वित्तीय स्थीतिमा परेको दवाबका कारण सरकारले विद्युतीय सवारीको प्रयोग बढाउने नीति समेत अबलम्बन गरेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा नेपालमा पेट्रोलको आयात एक लाख ४७ हजार ७८ किलो लिटरले बढेको छ । तर, पेट्रोल आयात बापत भुक्तानी भएको रकम ३८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । अघिल्लो आवको तुलनामा यो वृद्धि १२०.०३ प्रतिशतले बढेको हो । सो अवधिमा पेट्रोल आयातको परिमाण भने २४.८७ प्रतिशले मात्र बढेको छ ।

आवमा कुल ७१ अर्ब ३८ करोड रुपैयाँ बरावरको ७ लाख ३८ हजार ५ सय ३६ किलो लिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवमा ३२ अर्ब ४४ करोड रुपैयाँ बरावरको ५ लाख ९१ हजार ४ सय ५८ किलो लिटर पेट्रोल आयात भएको थियो ।

त्यसैगरी डिजेलको आयात परिमाण २.४ प्रतिशतले मात्र बढेको छ । तर, आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा डिजेल बापतको भुक्तानी रकमको आकार ७६ अर्ब २८ करोड अर्थात ८२.९६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा ९१ अर्ब ९४ करोड रुपैयाँ बरावरको १७ लाख १३ हजार ७ सय ४५ किलो लिटर डिजेल आयात भएको थियो । तर, गत आवमा १६८ अर्ब २३ करोड रुपैयाँ बरावरको ७ लाख ३८ हजार ५ सय ३६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी गत आवमा ६५ अर्ब ५५ करोड रुपैयाँ बरावरको ५३ करोड ५८ लाख ६५ हजार ४ सय १५ केजी ग्यस आयात भएको छ । अघिल्लो आवको तुलनामा यो आयात परिमाण १२.२५ प्रतिशतले धेरै हो भने भुक्तानी रकमका आधारमा ८१.३२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ३६ अर्ब १५ करोड रुपैयाँ बरावरको ४७ करोड ७४ लाख २२ हजार २ सय ९५ केजी ग्यास आयात भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।