धितोपत्र बोर्डले शिवश्री हाइड्रोका प्रत्याभुतीकर्तासंग समस्याको विबरण माग्यो


नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोका प्रत्याभुर्तीकर्ता मर्चेण्ट बैंकहरुलाई बिस्तृतमा समस्याको जानकारी गराउन पत्राचार गरेको छ ।

सिबिआइएल क्यापिटल र मुक्तिनाथ क्यापिटलले शिवश्री हाइड्रोको शेयरमा प्रत्याभुत गरिएको रकम भुक्तानी गर्न नसकिने भन्दै हाइडरो र धितोपत्र बोर्डलाई पत्राचार गरेका थिए । कम्पनी तथा बोर्डलाई मर्चेण्ट बैंकरहरुले पत्र पठाएसँगै धितोपत्र बोर्डले समस्याका विषयमा चासो देखाएको हो ।

धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक रुपेश केसीका अनुसार मर्चेण्ट बैंकरहरुबाट आएको गुनासोका आधारमा बिस्तृत विबरण माग गरिएको हो । शेयर निष्काशन हुनुभन्दा साता पहिले नै विबरण पत्र सार्वजनिक भएकोमा त्यसबेला प्रत्याभुतकर्ताहरुले कुनै विषय उठान नगरी शेयर बिक्री नभए पछि विषय उठान भएकाले बोर्डले अनुसन्धान थालेको केसीले नोटबजारलाई बताए ।

सम्झौता अनुसार आयोजनको काम नभएको र प्राकृतिक विपत्तीका कारण आयोजनामा क्षति पुगेको अवस्थामा कम्पनीको बिक्री नभएको शेयर प्रत्याभुत गर्न नसकिने भन्दै दुई मर्चेण्ट बैंकरले कम्पनीलाई पठाएको पत्रको बोधार्थ धितोपत्र बोर्डमा बुझाएका थिए । मुक्तिनाथ क्यापिटल र सिबिआइएल क्यापिटलले अलग अलग रुपमा शिवश्री हाइड्रोलाई पत्रचार गर्दै सोको बोधार्थ धितोपत्र बोर्डमा बुझाएका थिए ।

कम्पनीले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । सो मध्ये निष्कासन तथा बिक्री खुला भएको अवधिमा २७.०१ प्रतिशत अर्थात ९ लाख ५ हजार १७० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएको थियो । स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री गरेको थियो ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत वढ्ने र प्रतिफल पाउने अवधि पर धकेलिने भएको थियो । जसका कारण प्रत्याभुतकर्ताहरु आफ्नो सुरक्षाका लागि कानुनी उपचारमा जाने तरखरमा जुटेका छन् ।

शिवश्री हाइड्रो पावर कम्पनीमा गत असार मासान्तमा बाढीका कारण पावर हाउस र आयोजनास्थल पुग्ने बाटोमा क्षती पुगेको थियो । गत असार मसान्तसमा बाढीका कारण योजनाको पावर हाउस र सडकमा क्षती पु¥याएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले उस अघि नै नोटबजारलाई बताएका थिए ।

कम्पनीले गत साउन १५ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने भन्ने शर्तमा प्रत्याभुतकर्ताहरुसँग बैशाख मसान्तमा शेयर प्रत्याभुती गर्ने सम्बन्धमा सम्झौता गरिएको थियो । तर आयोजनाका अध्यक्ष पौडेलका अनुसार आयोवजनाबाट विद्युत उत्पादन हुन अझै कम्तीमा पनि ६ महिना समय लाग्छ ।

अर्कातिर जलविद्युत कम्पनीहरुको शेयरमा बढ्दो विकर्षणले यसका प्रवद्र्धक तथा सञ्चालकहरु जसरी भए पनि पुर्व योजना अनुसार शेयर बिक्री गराउने ध्याउन्नमा छन् । दोस्रो बजारमा नै अधिकांस जलविद्युत कम्पनीहरुको शेयरमूल्य एक सय रुपैंयाभन्दा तल झरेको अवस्थामा अबका दिनमा जलविद्युत कम्पनीहरुलाई शेयर बिक्री गर्न समस्या पर्ने देखिन्छ ।