प्रतिनिधि सभामा ठूला पार्टीका महिला नेत्री सहित २३१ ले गरे मनोनयनपत्र दर्ता

0
Shares

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा हालसम्म २३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।

निर्वाचन आयोगले उपलब्ध गराएकाे अाइतबार बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ अनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहेका छिन् ।

त्यस्तै नेकपा (एमाले) का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहेकी छिन् ।

नेकपा (माओवादी केन्द्र) बाट काठमाडौं–२ बाट ओनसरी घर्ती, काठमाडौं–९ बाट कल्पना धमला, काठमाडौं–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिएकी छिन् ।

प्रतिनिधि सभातर्फ कुल २ हजार ४७४ मध्ये २ हजार २४२ पुरुष र महिला २३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा ३ हजार ३९३ मध्ये पुरूष ३ हजार ९९, महिला २९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ ।मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणालीमा आइतबार साँझ ९ बजेसम्म प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर कुल २ हजार ४७४ मध्ये २ हजार २४२ पुरुष र महिला २३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा ३ हजार ३९३ मध्ये पुरूष ३ हजार ९९, महिला २९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।

दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आज असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवार विरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ । हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारहरूका हकमा आयोगले सहजीकरण गरेको थियो ।

सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोग अन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई सहजीकरण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।