
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले वार्षिक रूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका जनाएको छ ।
एशोसियशनले आज पत्रकार सम्मेलन गरी वार्षिक २ करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो । पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले चोरी पैठारीबाट करोडौं जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए ।
“देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रित रूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन्”, उनले भने ।
एशोसियशनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ५ करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट २ करोड ५९ लाख ८७ हजार १६३ जोर आयात भएको थियो ।
यस्तै २ करोड २५ लाख १२ हजार ८३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ । एक तिहाइ महिला सहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा १ हजार ५ सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।
आर्थिक वर्ष २०७८।७९ मा नेपालबाट १ अर्ब ८८ लाख ३४ हजार ११७ बराबरको जुत्ता चप्पल निर्यात भएको थियो । एशोसियशनका उपाध्यक्ष सुरज बञ्जाडेले ३० अर्ब व्यवसायीको लगानी र ४ अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भन्सार नाकामा गस्ती बढाउनका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुख लगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरीपैठारी नियन्त्रणमा लाग्नुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एशोसियशनले आग्रह समेत गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया