विकासोन्मुख राष्ट्रहरुको मुद्रा अवमूल्यन भइरहँदा खाद्यान्न एवं उर्जा संकट बढ्दै

0
Shares

अमेरिकी डलर निरन्तर मजबुत भैरहँदा विकसित तथा विकासोन्मुख देशका मुद्राहरु ऐतिहासिक रुपमा कमजोर भएका छन् । मुद्रा कमजोर हुँदा विकसित र विकासोन्मुख देशमा खाद्यान्न तथा उर्जा संकटको जोखिम समेत बढेको वर्ल्ड बैंकको दाबी छ ।

सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा इन्धनको मूल्य आकाशिन पुगेको थियो । यस समयमा विकासोन्मुख राष्ट्रहरुमा इन्धनको मूल्य गत वर्षको तुलनामा ६० प्रतिशतले वृद्धि भएको वर्ल्ड बैंकले प्रकाशन गरेको कमोडिटी मार्केट आउटलुकमा उल्लेख छ । यसैगरी युरोपको ब्रेड बास्केट मानिने युक्रेनमा रुसले हमला गरेपछि गहुँको मूल्य गत वर्षको तुलनामा ९० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी सन् २०२२ को तेस्रो त्रैमाससम्म आइपुग्दा दक्षिण एशियामा खाद्यान्नको मूल्य २० प्रतिशतले बढेको छ । यसैगरी ल्याटिन अमेरिका, क्यारेबियन, मिडल इस्ट, उत्तर अफ्रिका, सब–सहारन अफ्रिका, पूर्वी युरोप र सेन्ट्रल एशियामा खाद्यान्नको मूल्यमा १२–१५ प्रतिशतको वृद्धि भएको छ । विश्वका अन्य देशहरुको तुलनामा दक्षिण एशियाली राष्ट्रहरुमा खाद्यान्नको मूल्यवृद्धि उच्च रहेको वर्ल्ड बैंकको अध्ययनले देखाएको छ ।

यसै सन्दर्भमा वर्ल्ड बैंकका उपाध्यक्ष पावलो सावेर्डा भन्छन्, “खाद्यान्न तथा इन्धनको मूल्य उच्च विन्दुमा पुगेर कम हुँदै गएपनि गत पाँच वर्षको तुलनामा मूल्यवृद्धि उच्च नै रहेको छ । यसै बीच विश्वव्यापी रुपमा डलर बलियो हुँदा र स्वदेशी मुद्रा कमजोर हुँदा त्यसले खाद्यान्न आपूर्तिमा चुनौती थपेको छ ।” खाद्य संकट र अभाव हुन नदिन आपूर्ति सम्बन्धी नीतिहरु निर्माण गर्नुपर्ने र खाद्य वितरणलाई चुस्त बनाइ मानिसहरुको आम्दानी वृद्धिमा ध्यान दिनुपर्ने उनको तर्क रहेको छ । सन् २०२२ मा ६० प्रतिशतले वृद्धि भएको इन्धनको मूल्य सन् २०२३ मा ११ प्रतिशतले कम हुने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।