हिमालयन डिष्टिलरीको पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि ४०.५६ रुपैयाँ प्रतिसेयर आम्दानी घटेको छ । गत आवको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९७.४० रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ५६.८४ रुपैयाँमा झरेको हो ।
गत आवको सोही अवधिको तुलनामा खुद नाफा २.१२ प्रतिशतका दरले सामान्य मात्र बढ्दा पुँजी ७५ प्रतिशतले बढेको छ । उच्च रुपमा पुँजी बढ्दा इपिएसमा दबाब परेको हो ।
कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक लगायत मदिरा उत्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाका कारण बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, चालु पुँजीको अभाव र ब्याजदरमा अत्यधिक वृद्धिले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ ।
असोज मसान्तसम्म सञ्चालन आम्दानी गत आवको प्रथम त्रैमासमा १ अर्ब २३ करोड १० लाख रुपैयाँ रहेकोमा १२.२९ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ३४ लाख ११ हजार रुपैयाँ अन्य आम्दानी गर्दा सञ्चालन नाफा ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५३.७३ रुपैयाँले घटेर २०१.६४ रुपैयाँमा झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया