लाभांश घोषणा गर्ने वाणिज्य बैंकको संख्या ११ पुग्यो, कुन-कुन बैंक छन् बाँकी ?

0
Shares

शुक्रबार प्रभु बैंकले लाभांश घोषणा गरेसँगै गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकको संख्या ११ पुगेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू, एभरेष्ट, स्ट्याण्डर्ड चार्टड, ग्लोबल आइएमई, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), नेपाल इन्भेष्टमेन्ट, सानिमा, सिटिजन्स, प्रभु र मेगा बैंक नेपाल लिमिटेडको लाभांश प्रस्ताव भएको हो ।

अझै नबिल बैंक, एनआईसी एशिया, हिमालयन बैंक, कृषि विकास, नेपाल बैंक, प्राइम, एनएमबि, सिद्धार्थ, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, नेपाल एसबिआई, सेञ्चुरी, सिभिल र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छैनन् ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूले दिएको छ । बिओकेले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश दिएको छ ।

यस्तै एभरेष्ट बैंकले पनि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७।६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश दिएको छ । बाँकी वाणिज्य बैंकहरुको लाभांश २० प्रतिशतभन्दा कम छ ।

गत आवबाट स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत प्रस्ताव गरेको छ । कुमारी बैंकले १२.५० प्रतिशत नगद, एनसीसी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११ प्रतिशत लाभांश वितरण गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत तथा एनसीसीले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस्तै सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेगा बैंकले लाभांश प्रस्ताव गरेकोमध्ये सबैभन्दा कम ७.८३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै, सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद, र प्रभु बैंकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत १.५० प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सिटिजन्स, कुमारी र एनसीसी बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका बैंकले लाभांश पारितपछि नगद लाभांश भने वितरण पनि गरिसकेका छन् । मर्जर प्रकृयामा रहेका ग्लोबल आइएमई र बिओकेले मंसिर २३ गते सभा डाकेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते सभा डाकेको छ ।

अझैपनि एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक र मेगा बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।